Skip links

मिटरब्याज पीडितको आन्दोलनमा विवेकशील साझाको ऐक्यवद्धता

काठमाडौं। मिटरब्याज पीडितको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यवद्धता जनाएको छ। पार्टीका अध्यक्ष समिक्षा बास्कोटाद्वारा बुधवार जारी विज्ञप्तिमा मिटरब्याज पीडितका मागहरु तत्काल पुरा गर्न सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा आफ्ना माग सरकारलाई सुनाउन १२ दिनको पैदल यात्रा तय गरेर बर्दिवासबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु, ती पीडितहरुलाई खुल्लामञ्च प्रवेशमा लगाइएको रोक, मिटरब्याज पीडितहरुको सडक पेटीमा भएको वास र प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै गरेका मिटरब्याज पीडितलाई टंगालमै रोकिएका विषयहरु प्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ।

मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानूनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत “विशेष कार्यान्वयन अभियान” नै चलाएर मिटरब्याजीहरुलाई कानूनी दायरामा ल्याउन समेत विवेकशील साझाले सरकारसँग माग गरेको छ।

मिटरब्याज पीडितहरुका माग र समस्याको समाधानका लागि यसअघि नै गठित मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलद्वारा पेश गरिएको प्रतिवेदनमा दिइएको सुझावका अतिरिक्त यस्ता समस्याको दिर्घकालिन समस्याको लागि वित्तीय साक्षरता बढाउने राष्ट्रिय अभियान सञ्चालन गर्ने, मिटरब्याज जस्ता अनौपचारिक तथा गैर कानूनी वित्तीय कारोबार समाजमा प्रचलित लेनदेनको कार्य घटाउन वित्तीय संस्थाहरुलाई जवाफदेही बनाउने, नागरिकले ऋण लिनुपर्ने बाध्यताका घटनाहरु अध्ययन गरी हरेक घटना सुहाउँदो योजना बनाई स्थानीय सरकारद्वारा कार्यान्वयन गराउने नीतिगत व्यवस्था गर्न विवेकशील साझाले विज्ञप्ति मार्फत सरकारलाई सुझाव समेत दिएको छ।

मिटरब्याज पीडितहरुको आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाउँदै मिटर ब्याज पीडितहरुले राजधानीमा गर्ने प्रदर्शनमा सहभागिता जनाउन र राजधानी आएका मिटरब्याज पीडितहरुको खाना, पानी, वास जस्ता आधारभूत आवश्यकतामा गच्छे अनुसारको मद्दत गर्न पार्टी पंक्तिलाई विवेकशील साझाले आग्रह गरेको छ।

Source: Karnalipost

Leave a comment

This website uses cookies to improve your web experience.