Skip links

विवेकशील साझाको ‘मिशन’ आम निर्वाचन २०८४, पार्टी सुदृढीकरणको अभियान चलाउने

काठमाडौं । समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले आम निर्वाचन २०८४ को तयारी थालेको छ । वैकल्पिक राजनीतिको मूलधारमा आफूलाई प्रस्तुत गर्न अहिल्यैदेखि आम निर्वाचन २०८४ लाई पहिलो प्राथमिकतामा राखिएको साझाले जनाएको छ ।

वर्तमान राजनीतिक व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकको अवस्था बदल्ने विकास, सुशासन र सार्वजनिक सेवामा केन्द्रित लोक कल्याणकारी राज्यको वकालत गर्दै साझाले उपनिर्वाचनमा खर्च हुने ऊर्जा, समय र श्रोत-साधनलाई आन्तरिकरूपमा सञ्चित गर्दै आम निर्वाचन २०८४ मा लगाउने केन्द्रीय सदस्य सूर्यदीप रेग्मी ‘दीपक’ ले जानकारी दिए ।

यसका लागि यसबीचको समयमा प्रशिक्षणसँगै सङ्गठन विस्तारमा लाग्ने उनको भनाइ छ । कार्ययोजनामा सङ्गठन, प्रशिक्षण, नेता उत्पादन र मुद्दाकेन्द्रित अभियान सञ्चालन गरी ०८४ सालको निर्वाचनमा हुने तीनै तहको निर्वाचनको चरणबद्ध तयारी गरेर अघि बढ्ने लक्ष्य साझाले राखेको छ ।

गत स्थानीय तह सदस्य निर्वाचनमा हार बेहोरेको निहुँ गर्दै अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरे । अहिले उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष छन् । यसपछि नयाँ नेतृत्व पाएको साझाले आफूलाई सुदृढीकरण तथा रूपान्तरणको बाटोमा लगाएको साझा नेताहरूले बताउने गरेका छन् ।

Source: Nepalviews

Leave a comment

This website uses cookies to improve your web experience.