Skip links

कठिन छैन नेपाल समृद्ध राष्ट्र बन्न

समृद्ध’ शब्दलाई नेपाली बृहत् शब्दकोशले ‘धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतिशील वा उन्नत’ भनी परिभाषित गरेको छ । देशलाई समृद्ध राष्ट्र बनाउन चाहिने अधारभूत आवश्यकता हामीसँग नभएको होइन, मात्र त्यसलाई हामीले राम्रोसँग परिचालन गर्न नसकेका मात्र हौँ । नेपाललाई समृद्ध बनाउने क्षेत्रलाई राजनीतिक नेतृत्व र जिम्मेवार निकायका अधिकारीले चिन्नै सकेका छैनन् ।

समृद्ध राष्ट्र बन्नका लागि हामीसँग अपार शक्ति र सम्भावना नभएको होइन, राजनीतिक नेतृत्वको ध्यान यसतर्फ जान नसक्दा हामी बत्तीमुनिको अँध्यारोमा छौँ । पटक–पटक सरकार हाँक्ने हाम्रा नेताहरूले हाम्रो देश समृद्ध र विकसित होस् भन्ने चाहेकै छैनन् । यहाँका जनताले आफ्नै देशमा रहेर काम गरून् र आफ्नै देश बनाऊन् भन्ने नेतृत्वको सोच नै छैन ।

 

समृद्ध देश निर्माणको भिजन भएका नेतृत्वको अभावका कारण हाम्रो देशलाई समृद्ध बनाउन सक्ने अमूल्य सम्पत्ति नष्ट भइरहेको छ, जसको सदुपयोगबाट हामी आफ्नो राष्ट्रलाई सुखी, सम्पन्न र समृद्ध बनाउन सक्छौँ । कुनै पनि राष्ट्रलाई समृद्ध बनाउन मुख्यतः सम्बन्धित देशमा भएका सम्भावनालाई अवसरमा बदल्ने गरी काम गर्नुपर्छ । बालुवा नै बालुवा भएका अरब देश समृद्ध बन्न सक्छन् र ६० वर्षअघिसम्म विश्वमै सबैभन्दा बढी भोकमरीको सामना गरेको चीन विश्वको दोस्रो समृद्ध राष्ट्र बन्न सक्छ भने विकासका अपार सम्भावना बोकेको हाम्रो देश नेपाल किन समृद्ध बन्न सक्दैन ? के यस प्रश्नको जवाफ हाम्रो नेतृत्वले दिनुपर्दैन ? समृद्धिको अपार सम्भावना बोकेको हाम्रो देश पनि छिटै समृद्ध हुन सक्छ । तर, त्यसका लागि हाम्रो राजनीतिक नेतृत्वले निम्न काम गर्नुपर्छ :

कृषिक्षेत्रको आधुनिकीकरण :  नेपालमा ६० प्रतिशतभन्दा बढी मानिस कृषिक्षेत्रमा संलग्न भएकाले कृषिलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिने गरिन्छ । तर, प्रविधिको तीव्र विकासको आजको युगमा पनि हाम्रो कृषिक्षेत्र भने परम्परागत औजार, अदक्ष जनशक्ति र परम्परागत निर्वाहमुखी कृषिमै आधारित छ । जसले गर्दा कृषिक्षेत्रले देशको अर्थतन्त्रमा गतिलो योगदान दिन सकिरहेको छैन ।

नेपालमा जम्मा ३६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन रहेको तथ्यांक छ । यसमध्ये १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ, जसले गर्दा आज पनि हाम्रो अधिकांश कृषिक्षेत्र अकासे पानीमै निर्भर छ । देशमा नदीनालाको कमी छैन । तर, भएको स्रोतको अधिकतम उपयोग गरेर सिँचाइ सुविधा बनाउनेतर्फ राज्यको ध्यान गएको छैन । आधुनिक प्रविधिको प्रयोगबारे न किसान जागरुक छन्, न त सरकारले नै चासो दिएको छ ।

बालुवा नै बालुवा भएका अरब देश समृद्ध बन्न सक्छन्, ६० वर्षअघिसम्म विश्वमै सबैभन्दा बढी भोकमरीको सामना गरेको चीन विश्वको दोस्रो समृद्ध राष्ट्र बन्न सक्छ भने विकासका अपार सम्भावना बोकेको हाम्रो देश नेपाल किन समृद्ध बन्न सक्दैन ?

युवा जनशक्तिमा कृषि पेसाप्रति विश्वास नै छैन । जसले गर्दा उनीहरू लाखौँ खर्चेर खाडीमा पसिना बगाउन जान्छन्, राज्य पनि तिनलाई लखेट्न पाउँदा रमाउँछ, तिनैले पठाएको रेमिट्यान्सको बलमा राज्य चलाउँछ, तर यहीँको खेतबारीमा युवा रमाउन सक्ने वातावरण सिर्जना गर्नेतर्फ चासो दिँदैन । यसले गर्दा हाम्रा हजारौँ हेक्टर कृषियोग्य भूमि बाँझै छन् । कुनै वेला निर्यात गरिने कृषिजन्य उत्पादनको आयात आकासिँदो छ ।

यस्तो निराशाजनक स्थितिमा पनि कृषिक्षेत्रमा राज्यको लगानी बढाएर आधुनिकीकरण ल्याइयो, उन्नत बिउबिजन र प्रविधि किसानको खेतबारीसम्म पुर्‍याइयो, समयमै मलखादको व्यवस्थापन गरियो, बालीनालीको बिमाको भरपर्दो व्यवस्था मिलाइयो र युवाले यहीँको माटोमा पसिना पोख्ने वातावरण निर्माण गरियो भने देशलाई कृषिक्षेत्रबाटै समृद्धिको बाटोमा डो¥याउन सकिन्छ । यसका लागि स्वदेशमै आधुनिक कृषिऔजार र रासायनिक मलको उत्पादन जरुरी छ । कृषिविज्ञ तथा प्राविधिकको सहयोगमा खेतमै गएर माटो तथा बालीको निरीक्षण र परीक्षण गर्ने व्यवस्था, किसानलाई तालिम, मौसमी बालीको बिमा तथा कृषि उपजको उचित बजार प्रवद्र्धन गर्न सकेमा कृषिक्षेत्रले नयाँ पुस्तालाई आकर्षित गरी देशमा समृद्धि ल्याउन मद्दत गर्न सक्छ ।

गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा :  विकसित राष्ट्रलाई हेर्दा तिनले आफ्नो शिक्षा क्षेत्रलाई सबैभन्दा प्रभावकारी बनाएको देखिन्छ । तिनले आफ्ना नागरिकलाई प्राविधिक तथा जीवनोपयोगी शिक्षा दिने व्यवस्था मिलाएका छन् । उनीहरूले मुलुकमा पढ्दै कमाउने योजना ल्याएर बेरोजगारी समस्या समाधान गरी देशको अर्थतन्त्रलाई बलियो बनाएका छन् । जुन देशको शिक्षा उत्कृष्ट छ, त्यहाँका नागरिक बेरोजगार छैनन् ।

बेरोजगार नहुनु भनेको अर्थतन्त्र सुदृढ हुनु हो । नागरिकलाई गुणस्तरीय शिक्षा दिनु राज्यको दायित्व हो । अमेरिका, जापान, चीन, बेलायत, फ्रान्सलगायत अधिकांश विकसित देशको साक्षरता दर शतप्रतिशत छ । नेपालको साक्षर जनसंख्या ८० प्रतिशत पुगेको दाबी गरिएको भए पनि जीवनोपयोगी शिक्षाको अभावमा हाम्रा शिक्षित जनशक्ति बेरोजगार बनिरहेका छन् र उनीहरू ‘खाडीमा भेटौँला’ भन्दै शैक्षिक संस्थाबाट बिदा भइरहेका छन् ।

पानीको सदुपयोग र निर्यात : नेपाल जलस्रोतका दृष्टिले विश्वकै अग्रणी राष्ट्र हो । यहाँका नदीनालाबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । तर, हामीले अझै पनि आन्तरिक माग नै पूरा गर्न सकेका छैनौँ । हजारौँ मेगावाट बिजुली निर्यात गरेर अर्बौं डलर कमाउन सकिने सम्भावना भएको हाम्रो देशले उल्टै छिमेकी भारतबाट बिजुली आयात गरेर देशमा लोडसेडिङ हटाएको छ ।

नेपालले आफ्नो क्षमताअनुुसारको जलविद्युत् उत्पादन गर्न सक्यो भने बिजुली बेचेरै देशलाई समृद्ध बनाउन कसैले रोक्न सक्दैन । देशमा विद्युत् खपत बढाएर ग्यासलगायत महँगा इन्धनको आयात घटाउन सकिन्छ । यसबाट बिदेसिने रकम देशभित्रै रोक्नुका साथै विदेशी मुद्रा आर्जनमा ठूलो टेवा पुग्न सक्छ । अहलेको अवस्थामा पेट्रोलियम पदार्थको विकल्प विश्वले नै खोजिरहेको छ । जलविद्युत् नै यसको सबैभन्दा ठूलो विकल्प हो । त्यसैले, हामी बिजुली उत्पादन बढाएर देशलाई समृद्ध बनाउन सक्छौँ ।

पर्यटन प्रवद्र्धन :  सम्भावना नभएको ठाउँमा पनि मधेस प्रदेशको सर्लाहीमा बागमती नगरपालिकाले ‘भरत ताल’ निर्माण गरी त्यस स्थानलाई पर्यटकीय क्षेत्र घोषणा गर्दा त्यहाँ रोजगारी सिर्जना त गर्‍यो नै, साथमा ताल निर्माण गर्दा त्यहाँको बालुवा र गिट्टी बेचेर अर्बौंको आम्दानीसमेत गरिरहेको छ । यो त एउटा उदाहरण मात्र हो । यस्ता सम्भावना भएका ठाउँ नेपालमा कति छन् कति ! पर्यटन क्षेत्रको विकासले एकातिर बेरोजगारी समस्या हल हुन्छ भने अर्कातिर विदेशी मुद्रा आर्जन हुन्छ ।

भौगोलिक दृष्टिले सानो भए पनि प्रकृतिले नेपालमा अपूर्व छटा खन्याएको छ । यहाँ विवधतामय भूबनोट, हावापानी, वेशभूषा, रीतिरिवाज, धर्म, संस्कृति, खानपिन आदिले गर्दा हाम्रो देश पर्यटकको रोजाइमा पर्ने गरेको छ । आठ हजार मिटरमाथिका विश्वका १४ हिमालमध्ये आठवटा नेपालमै रहेकाले पनि विदेशी पर्यटक नेपाल आउन लालायित हुने गरेका छन् । यहाँका तालतलैया र नदीमा नौकाविहार तथा र्‍याफ्टिङको राम्रो व्यवस्थापनले पनि रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसैले, पर्यटन क्षेत्र देशको समृद्धिको मेरुदण्ड बन्न सक्छ ।

स्वरोजगारी तथा उद्योगधन्दाको विकास :  ४०–५० वर्षअघिसम्म छिमेकी मुलुक चीन एक गरिब राष्ट्र थियो । जहाँ हरेक वर्ष भोकमरीकै कारण हजारौँ मानिस मर्थे, तर आज त्यही चीन विश्वकै धनी राष्ट्र बन्ने दौडमा दोस्रो स्थानमा छ । त्यहाँका बालबालिकालाई जीवनोपयोगी शिक्षा दिइन्छ । सानै उमेरदेखि विद्यार्थीलाई उद्यमशील बनाउने शिक्षा दिइन्छ । सानाठूला हजारौँ उद्योग स्थापनाका कारण त्यहाँका मानिसले रोजगारी पाएका छन् ।

यसले देशको अर्थतन्त्रलाई बलियो बनाएको छ । तर, कुनै दिन अरूलाई सहयोग गर्ने नेपाल आज आफैँ अरूको सहारामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन बाध्य छ । यसको मुख्य कारण देशमा औद्योगिकीकरण हुन नसक्नु नै हो । हामीले आफूले नयाँ–नयाँ उद्योग स्थापना त गर्न सकेनौँ नै, मित्रराष्ट्रहरूले सहयोगस्वरूप बनाइदिएका उद्योगधन्दासमेत मास्यौँ ।

भ्रष्टाचार नियन्त्रण : कुनै पनि देश विकासको बाधक त्यहाँको भ्रष्टाचार हो । जुन देशमा भ्रष्टाचारले सीमा नाघ्छ त्यो देश विनाशतर्फ लम्किन्छ । नेपालमा पनि भ्रष्टाचारले सीमा नाघेको अवस्था छ । ‘वाइड बडी’ खरिददेखि लिएर कोरोना जस्तो महामारीमा पनि ओम्नीलगायत विभिन्न काण्डैकाण्डले यो देशलाई थिल्थिलो पार्दै आएका छन् । भ्रष्टाचार रोक्ने संस्था अख्तियारका आयुक्तदेखि प्रहरीका माथिल्लो तहसम्मका अधिकारी भ्रष्टाचारमा मुछिएका छन् ।

राजनीतिक नेतृत्वकै संरक्षणमा भ्रष्टाचार हुनु हाम्रो विडम्बना हो । देशका रक्षक नै भक्षक भएपछि जनता कसरी बाँच्लान् ? देश कसरी समृद्धिको पथमा लम्किएला ? ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२१ मा सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स’का अनुसार सबैभन्दा कम भ्रष्टाचार गर्ने १८० देशमध्ये नेपाल ११७औँ स्थानमा छ । यसले पनि हाम्रो देशको भ्रष्टाचारको जर्जर अवस्थाको प्रस्ट संकेत गरेको छ ।

हाम्रो देश नबन्नुको प्रमुख कारणमध्ये भ्रष्टाचार पनि एक हो । स्थानीय तहदेखि केन्द्रसम्म प्रायः सबै सरकारी कार्यालय (केही अपवादबाहेक) तथा देशका नेताहरू (केही अपवादबाहेक) प्रायः सबै भ्रष्टाचारमा लिप्त छन् । जसले गर्दा देशको समृद्धिमा बाधा पुगिरहेको छ ।

Source: Nayapatrikadaily

Leave a comment

This website uses cookies to improve your web experience.