Skip links

विवेकशील साझा पार्टीको नियमावली, २०७८

विवेकशील साझा पार्टीको विधान २०७८ को ७०.१ बमोजिम यो नियमावली तयार गरि लागु गरिएको छ।

यो नियमावलीले यस अघि जारी गरिएको “साझा पार्टीको नियमावली–२०७४” लाई विस्थापित/खारेज गर्नेछ।

परिच्छेद १
१.      नाम र प्रारम्भ

(क)     यस नियमावलीको पुरा नाम ‘विवेकशील साझा पार्टीको नियमावली, २०७८ रहनेछ।

(ख)     यो नियमावली तुरुन्त लागु हुनेछ।

२.      परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा उल्लेखित विभिन्न शब्द, नाम, पद वा पदावलीको परिभाषा देहाय बमोजिम हुनेछ।

(क)     ‘पार्टी’ भन्नाले ‘विवेकशील साझा पार्टी’ भन्ने बुझिनेछ।

(ख)     ‘विधान’ भन्नाले ‘विवेकशील साझा पार्टी’ को विधान बुझिनेछ।

(ग)     ‘नियमावली’ भन्नाले ‘विवेकशील साझा पार्टीको नियमावली’ बुझिनेछ।

(घ)     ‘सदस्य’ भन्नाले विवेकशील साझा पार्टीको सदस्यलाई बुझाउनेछ।

(ङ)     ‘अध्यक्ष’ भन्नाले विवेकशील साझा पार्टीका तहगत समितिका अध्यक्षहरूलाई बुझाउनेछ।

(च)     ‘समिति’ भन्नाले विवेकशील साझा पार्टीका तहगत समितिहरूलाई बुझाउनेछ।

(छ)     ‘कार्यालय’ भन्नाले विवेकशील साझा पार्टीका तहगत कार्यालयलाई बुझाउनेछ।

(ज)     ‘पदाधिकारी’ भन्नाले विवेकशील साझा पार्टीको तहगत समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष आदिलाई बुझाउनेछ।

(झ)     ‘निकाय’ भन्नाले विवेकशील साझा पार्टीका विभिन्न तहगत समिति, विभाग वा पार्टी सम्बद्ध संरचनाहरूलाई बुझाउनेछ।

(ञ)     ‘आङ्गिक संगठन’ भन्नाले विवेकशील साझा पार्टी सम्बद्ध विभिन्न सामूहिक वा सामुदायिक सङ्गठनहरूलाई बुझाउनेछ।

(ट)      ‘संसदीय दल’ भन्नाले विवेकशील साझा पार्टीको केन्द्रीय प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रादेशिक सभाको संसदीय दललाई बुझाउनेछ।

(ठ)     ‘स्थानीय समिति वा सभा’ भन्नाले नेपाल सरकारले निर्दिष्ट गरेको स्थानीय तह मानिएको गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकामा क्रियाशील पार्टीका समिति वा सभा बुझ्नुपर्नेछ।

परिच्छेद २
३.      सदस्यता सम्बन्धी व्यवस्था
३.१.   सदस्यता

(क)     पार्टी सदस्यताको आवेदन फारम (विधानको अनुसूची ६ अनुसार) पार्टीको वेबसाइट https://member.bibeksheel.com मार्फत वा पार्टीको Apps वा सम्बन्धित पार्टी कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

(ख)     पार्टीमा एकै प्रकारको मात्र सदस्यता हुनेछ।

(ग)     पार्टीको राजनीतिक कार्यक्रम, विधान तथा अनुशासनको पालना गर्ने १८ वर्ष उमेर पुगेको जुनसुकै नेपाली नागरिकले तोकिए बमोजिमको वार्षिक सदस्यता शुल्क बुझाएर पार्टीको सदस्यता प्राप्त गर्न सक्नेछन्।

(घ)     कुनै व्यक्ति आफ्नो स्थायी बसोबास भएको वा अस्थायी बसोबास भएको स्थानीय तहमा सदस्य बन्न सक्नेछन्।

(ङ)     सदस्यले आफ्नो कार्यक्षेत्र वा भूगोल सदस्यता लिँदै निर्धारण गर्नुपर्नेछ। त्यसमा परिवर्तन गर्नुपरेमा सम्बन्धित दुवै समितिलाई जानकारी दिई आफ्नो अभिलेख अद्यावधिक गर्नुपर्ने छ।

(च)     निर्वाचन आयोगमा दर्ता भएका अन्य कुनै राजनीतिक दलको सदस्यता लिएको, पार्टीको मूल्यमान्यता विपरीत काम गरेको वा कुनै पनि संस्थाको सदस्य भएको, भ्रष्टाचार लगायत नैतिक पतन हुने फौजदारी मुद्दामा अदालतबाट दोषी ठहर भएको या नेपालको कानुनले राजनीतिक दलको सदस्य हुन वर्जित गरेको व्यक्तिले पार्टीको सदस्यता लिन पाउने छैन।

 ३.२.   नवीकरण

(क)     सदस्यले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्रमा सदस्यता नवीकरण गर्नुपर्नेछ।

(ख)     सो समयमा नवीकरण नगरेमा नवीकरण शुल्क प्रतिवर्ष दोब्बर लाग्नेछ।

(ग)     सदस्यले महाधिवेशन वा अधिवेशनको कार्यपालिका सार्वजनिक भइसकेपछि अनिवार्य रूपमा कार्यपालिका अनुसार सो बर्ससम्मको सदस्यता नवीकरण गरिसक्नुपर्नेछ।

(घ)     महाधिवेशन वा अधिवेशनमा अद्यावधिक नगरिएका सदस्यहरू स्वतः खारेज हुनेछन्। र त्यस्ता सदस्यहरूले आफ्नो सदस्यता कायम राख्न पुनः सदस्यता लिनुपर्नेछ।

 ३.३.   सदस्यता शुल्क र लेवी शुल्क

(क)     विवेकशील साझा पार्टीको सदस्यता तथा नवीकरण शुल्क अनुसूची १ अनुसार हुनेछ।

(ख)     प्रत्येक केन्द्रीय समिति सदस्यले मासिक रु. १५०० लेवी बुझाउनु पर्नेछ। अन्य तहगत संरचनाको हकमा तहगत कार्यकारी समितिको बैठकले निर्णय गरे बमोजिम हुनेछ।

 ३.४.   परिचय पत्र

(क)     पार्टीका सदस्यहरूलाई सदस्यता परिचय पत्र प्रदान गरिनेछ।

(ख)     सदस्यता परिचय पत्र अनुसूची २ बमोजिम हुनेछ।

(ग)     सबै तहगत समितिका पदाधिकारी तथा सदस्यको पदाधिकारी परिचय पत्र अनुसूची ३ बमोजिम हुनेछ।

परिच्छेद ३
४.      केन्द्रीय कार्यालय संचालन

(क)     पार्टीको केन्द्रीय कार्यालय विवेकशील साझा पार्टीको विधान २०७८ को अनुसूची १ मा उल्लेख गरे अनुसार रहनेछ।

(ख)     केन्द्रीय कार्यालय मातहत प्रशासन, मानव संसाधन, IT, वित्तीय लेखा, खरिद तथा आपूर्ति, चल अचल सम्पत्ति व्यवस्थापन, अभिलेखीकरण लगायतका शाखा हरू रहनेछन्।

(ग)     तहगत कार्यालयहरूको हकमा सम्बन्धित तहको कार्यकारी समितिले गरेको निर्णय अनुसार हुनेछ।

परिच्छेद ४
५.      केन्द्रीय विभागहरू
५.१.   अभियान विभाग

(क)     पार्टीको केन्द्रीय समितिको मातहत एक अभियान विभाग रहनेछ जसको नेतृत्व अभियान सञ्चालनमा दक्षता केन्द्रीय सदस्यले गर्नेछन्। विभागमा आवश्यकता अनुसार अन्य सदस्यहरू मनोनयन गर्न सकिनेछ। प्रदेश तहको अभियान विभाग प्रमुखहरू तथा आंगिक संगठनका सम्बन्धित विभागका प्रमुखहरू केन्द्रीय अभियान विभागको पदेन सदस्य हुनेछन्।

(ख)     अभियान विभाग केन्द्रीय, प्रादेशिक, जिल्ला  तथा स्थानीय तहमा गठन गरिनेछ। तहगत अभियान विभागको नेतृत्व सम्बन्धित तहगत समितिको सदस्यले गर्नेछ।

(ग)     विभागले केन्द्रीय समिति तथा अन्य तहगत समितिले तोके बमोजिमका विषयहरूमा केन्द्रीय रही विभिन्न राजनीतिक, सामाजिक, तथा अन्य समसामयिक अभियानहरूको संयोजन, परिचालन तथा नेतृत्व गर्नेछ।

(घ)     अभियान विभागले आफ्ना गतिविधिहरूलाई व्यवस्थित बनाउन आवश्यकता अनुसार समिति, उपसमिति तथा कार्यदलहरू गठन गर्न सक्नेछ। यी समिति, उपसमिति तथा कार्यदलहरू विभाग प्रति उत्तरदारी हुनेछन्।

(ङ)     विभागले तयार पारेका अभियानका विषय तथा आधारभूत योजनाहरू तहगत समितिबाट अनुमोदन गराउनु पर्नेछ।

(च)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.२.   उद्यमशीलता तथा रोजगार विभाग

(क)     पार्टीको केन्द्रीय समितिले उद्यमशीलता र रोजगारीलाई पार्टीले एउटा अभियानको रूपमा अंगिकार गरेकोले पार्टीभित्र र बाहिर उद्यमशीलताको माध्यमबाट रोजगारीलाई प्रवर्धन गर्न एक उद्यमशीलता तथा रोजगार विभागको गठन गरिनेछ। विभागको नेतृत्व केन्द्रीय समिति सदस्यले गर्नेछन् र अन्य सदस्यहरू आवश्यकता अनुसार मनोनयन गरिनेछन्।

(ख)     विवेकशील साझा पार्टीप्रति आकर्षित जनसमुदायलाई विभिन्न उद्यमशील तालिम मार्फत रोजगारीका अवसरहरू सिर्जना गर्न विभागले मद्दत गर्नेछ।

(ग)     राजनीतिलाई उद्यमशीलतासँग जोडेर जनमानसमा फैलिन मद्दत गर्ने प्रकारका रचनात्मक नीतिहरू तर्जुमा गर्ने, प्रशिक्षित गर्ने र कार्यान्वयन गर्ने काम यो विभागले गर्नेछ।

(घ)     उद्यमशीलता तथा रोजगार विभाग पार्टीको तीन वटै तहमा हुनेछ। तहगत विभागको गठन प्रक्रिया पार्टीको कार्यकारी समितिमार्फत हुनेछ।

(ङ)     उद्यमशीलता तथा रोजगार विभागले पार्टीका सबै तहमा नीति तथा प्रशिक्षण विभागको समन्वयमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न सक्नेछ।

(च)     विभागले आफूले दिएको तालिम, प्रशिक्षण तथा परिणामको अध्ययन, अनुसन्धान र तथ्याङ्क अद्यावधिक गर्नेछ।

(छ)     उद्यमशीलता तथा रोजगारी विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरू हुनेछन्।

(ज)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.३.   कानुनी मामिला विभाग

(क)     पार्टीको केन्द्रीय समितिले पार्टीको कानुनी व्यवस्था, विधानको व्याख्या/विश्लेषण तथा राज्य र पार्टीको प्रक्रियागत कानुनी समन्वयार्थ एक कानुनी मामिला विभागको गठन गरिनेछ।

(ख)     कानुनी विभागको गठन केन्द्रीय तथा प्रादेशिक तहमा मात्र हुनेछ।

(ग)     कानुन विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरू रहनेछन्।

(घ)     कानुन विभागले निर्वाचन आयोगसँग समन्वय गरेर पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामा विविध सहयोग गर्नेछ।

(ङ)     कानुन तथा न्यायसँग सम्बन्धित आन्तरिक पार्टी प्रशिक्षणको लागि नीति तथा प्रशिक्षण विभागसँग समन्वय गरेर प्रशिक्षणको व्यवस्था गर्नेछ।

(च)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.४.   कृषि तथा सहकारी विभाग

(क)     कृषि तथा सहकारी क्षेत्र मार्फत देशको आर्थिक सामाजिक रूपान्तरणको दिशामा पार्टीलाई अग्रसर गराउन केन्द्रीय समिति मातहत कृषि तथा सहकारी विभाग रहनेछ।

(ख)     कृषि तथा सहकारी विभाग केन्द्रीय, प्रादेशिक, जिल्ला, स्थानीय तथा र वडा तहमा रहनेछ।

(ग)     केन्द्रीय तहको विभागको नेतृत्व केन्द्रीय समिति सदस्यले गर्नेछ। अन्य तहगत विभागको नेतृत्व तहगत समिति सदस्यले गर्नेछन्। विभागका अन्य सदस्यहरू आवश्यकता अनुसार मनोनयन गर्न सकिनेछ।

(घ)     विभागको गतिविधिलाई व्यवस्थित बनाउन विभाग मातहत समिति, उपसमिति तथा कार्यदलहरू गठन गर्न सकिनेछ।

(ङ)     विभागले नीति तथा कार्यक्रम विभागको समन्वयमा दलको कृषि तथा सहकारी नीति तर्जुमा गर्नुका साथै अभियान विभागको समन्वयमा आवश्यक अभियानहरू समेत संचालन गर्न सक्नेछ।

(च)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.५.   केन्द्रीय कार्यालय व्यवस्थापन विभाग

(क)     पार्टीको केन्द्रीय समितिले विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयको प्रभावकारी व्यवस्थापन गर्नको लागि एक केन्द्रीय कार्यालय व्यवस्थापन विभाग गठन गरिनेछ।

(ख)     केन्द्रीय कार्यालय व्यवस्थापन विभाग केन्द्रीय तहमा मात्र गठन गरिनेछ। अन्य सम्बन्धित कार्यकारी तहहरूले स्वतन्त्र रूपमा आफ्नै तहगत कार्यालय व्यवस्थापन विभाग गठन गर्न सक्नेछन्। तर केन्द्रीय कार्यालय व्यवस्थापन विभागले बेलाबेलामा प्रादेशिक या अन्य कार्यालयहरू उचित ढङ्गबाट व्यवस्थापन भएको नभएको अनुगमन गर्न र उनीहरूलाई प्रशिक्षित गर्न सक्नेछ।

(ग)     केन्द्रीय कार्यालय व्यवस्थापन विभागमा एक जना कार्यालय व्यवस्थापक प्रमुख र अन्य सदस्यहरू रहनेछन्। तर विभागले आवश्यकता अनुसार विभिन्न विषयगत समितिहरू बनाएर कामको बाँडफाँड गर्न सक्नेछ। विभागको नेतृत्व केन्द्रीय समिति सदस्यले गर्नेछ।

(घ)     केन्द्रीय कार्यालय व्यवस्थापन विभागले विभिन्न प्रादेशिक कार्यालयहरूसँग प्राविधिक र प्रशासनिक समन्वय राख्नेछ। पार्टीका विभिन्न पार्टी सामग्रीहरू तथा लजिष्टिकहरूको वितरण गर्नेछ। केन्द्रीय समिति तथा कार्यालयले तोकेको बाहेक विभागले कुनै स्वतन्त्र राजनीतिक सम्बन्ध स्थापित गर्न पाउने छैन।

(ङ)     केन्द्रीय समितिले तोकेको कार्यविधि अन्तर्गत केन्द्रीय कार्यालय व्यवस्थापन विभागले कर्मचारी नियुक्ति र तलब सुविधा दिन सक्नेछ।

(च)     विभागले पार्टी कार्यालय संचालनको लागि प्रयुक्त जनशक्ति रकम तथा जिन्सी सामग्रीको अभिलेखन प्रणालीको व्यवस्थापन र अद्यावधिक गर्नेछ। र, पार्टीको केन्द्रीय निकायले चाहेको समयमा उपलब्ध गराउनेछ।

(छ)     कार्यालय व्यवस्थापनको लागि तालिम तथा अन्य प्रशिक्षण आवश्यक परेमा अन्य सम्बन्धित विभागहरूसँग समन्वय गरेर कार्य सम्पादन गर्नेछ।

(ज)     केन्द्रीय कार्यालयको लागि आवश्यक तथा भइपरी आउने विभिन्न नियमित कार्यहरू गर्नेछ।

(झ)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.६.   कोष सङ्कलन तथा व्यवस्थापन विभाग

(क)     पार्टीको केन्द्रीय समितिले पार्टीको नियमित आम्दानी बाहेक पार्टीलाई आवश्यक पर्ने रकम सङ्कलन गर्नको लागि पार्टीको एक कोष सङ्कलन विभाग गठन गरिनेछ।

(ख)     कोष सङ्कलन विभागको गठन केन्द्रीय तहमा मात्र गरिनेछ। प्रादेशिक तथा स्थानीय तहमा भने विधानमा उल्लेख भए बमोजिम तहगत आर्थिक विभागले रकम सङ्कलनको काम गर्नेछन्।

(ग)     कोष सङ्कलनको क्षेत्राधिकार पार्टीको आर्थिक कार्यविधिले निर्धारण गरे बमोजिम हुनेछ। पार्टीको आर्थिक कार्यविधिभन्दा बाहिर अन्य समस्या आएमा केन्द्रीय समितिले निर्धारण गरे बमोजिम ‘बाधा अड्काउ फुकाऊ’ बमोजिम गरिनेछ।

(घ)     कोष सङ्कलन विभागले कोष सङ्कलनार्थ विभिन्न रचनात्मक कार्यक्रम तर्जुमा गर्न, कार्यान्वयन गर्न तथा सुझाव दिन सक्नेछ।

(ङ)     कोष सङ्कलनको लागि विभागले विभिन्न आर्थिक क्षेत्र निर्धारण गरेर क्षेत्रगत कोष सङ्कलन समितिहरू बनाउन सक्नेछ। र, उक्त समितिहरू विभागप्रति उत्तरदायी हुनेछन्।

(च)     कोष सङ्कलन विभागको प्रमुख केन्द्रीय कोषाध्यक्ष रहनेछ र आवश्यकता अनुसार अन्य सदस्यहरू मनोनयन गरिनेछ।

(छ)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.७.   तथ्याङ्क तथा अनुसन्धान विभाग

(क)     पार्टीको केन्द्रीय समितिले पार्टीको विचार, राजनीति, संगठन, आर्थिक, सांस्कृतिक आदि नीति निर्माणको लागि चाहिने तथ्याङ्क तथा अन्य आवश्यक अनुसन्धानात्मक सामग्री उत्पादन गर्नको लागि एक तथ्याङ्क तथा अनुसन्धान विभाग गठन गरिनेछ।

(ख)     तथ्याङ्क तथा अनुसन्धान विभागको गठन हाललाई केन्द्रीय तहमा मात्र रहनेछ। तर आवश्यक परेमा विभागको सिफारिस अनुसार अन्य तहमा पनि तथ्याङ्क तथा अनुसन्धान विभाग गठन गर्न सकिनेछ।

(ग)     तथ्याङ्क तथा अनुसन्धान विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरू रहनेछन्। विभागको नेतृत्व केन्द्रीय समिति सदस्यले गर्नेछ र अन्य सदस्यहरू आवश्यकता अनुसार मनोनयन गरिनेछन्।

(घ)     तथ्याङ्क तथा अनुसन्धान विभागले आवश्यकता अनुसार विभिन्न विषयगत अनुसन्धानको लागि अलग अलग समिति, उपसमिति तथा कार्यदलहरू बनाएर तथ्याङ्क तथा अनुसन्धानलाई थप व्यवस्थित गर्न सक्नेछ। यस्ता समिति, उपसमिति तथा कार्यदलहरू अस्थायी र तथ्याङ्क तथा अनुसन्धान विभागप्रति उत्तरदायी रहनेछन्।

(ङ)     पार्टीलाई आवश्यक परेको कुनै पनि तथ्याङ्क तथा खोजमूलक अनुसन्धानात्मक सामग्री तयार गर्नको लागि केन्द्रीय कार्यालय वा केन्द्रीय समितिले विशेष निर्देशन गर्न सक्नेछ। अत्यावश्यकीय स्थितिमा विभागले आवश्यक पर्ने बजेटको लागि केन्द्रीय कार्यालयसँग माग गर्न सक्नेछ।

(च)     विभागले तयार पारेका सबै तथ्याङ्क तथा अनुसन्धानहरू पार्टीका आधिकारिक तथा अनिवार्य धारणाहरू मानिने छैनन्। पार्टीको आधिकारिक निकायको विशेष आग्रहमा तयार पारिएका सामग्री बाहेक अन्य सामग्रीहरू सन्दर्भ सामग्री मानिने छन्।

(छ)     तथ्याङ्क तथा अनुसन्धान विभागले आवश्यक ठानेमा आफ्नो खास अनुसन्धानको परिधिभित्र रहेर पार्टी बाहिरका विज्ञहरूलाई समेत अस्थायी रूपमा अनुसन्धान कार्यमा सामेल गर्न सक्नेछ। तर कुनै पनि सार्वजनिक महत्त्वको अनुसन्धानात्मक विषयमा कुनै उच्च व्यक्तित्व, अन्य पार्टीको सदस्य वा विवादास्पद व्यक्तिको हकमा अनुसन्धानमा सामेल गर्नु अगाडि अनिवार्य रूपमा केन्द्रीय कार्यालयको स्वीकृति लिनु पर्नेछ।

(ज)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.८.   नीति तथा कार्यक्रम विभाग

(क)     पार्टीको केन्द्रीय समितिको मातहतमा एक नीति तथा कार्यक्रम विभाग रहनेछ। यस विभागले केन्द्रीय समितिले तोके बमोजिमका विषयहरूमा केन्द्रित रही पार्टीका नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्नेछ।

(ख)     नीति तथा कार्यक्रम विभागको संरचना केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहसम्म रहनेछ।

(ग)     नीति तथा कार्यक्रम विभागले पार्टीको विधान र मूल सांगठानिक तथा राजनीतिक दस्ताबेजको आधारमा पार्टीका नीतिहरू तयार गरी अनुमोदनको लागि तहगत समितिमा प्रस्तुत गर्नेछ। साथै तल्लो तहका समिति तथा नीति तथा कार्यक्रम विभागलाई सम्बन्धित तहलाई आवश्यक नीति तथा कार्यक्रमको व्यवस्था गर्न आग्रह गर्नेछ।

(घ)     विभागले आवश्यकता अनुसार विषयगत समिति, उपसमिति तथा कार्यदल निर्माण गरी आफ्नो कार्यलाई थप व्यवस्थित गर्न सक्नेछ। यस्ता विषयगत समिति, उपसमिति तथा कार्यदलहरू विभागप्रति उत्तरदायी हुनेछन्।

(ङ)     कतिपय नीतिगत स्पष्टताको लागि विभागले पार्टी बाहिरका विषय विज्ञहरूलाई समेत विभागका विषयगत समिति, उपसमिति वा कार्यदलहरूमा समावेश गरेर वा नगरेर नीति तथा कार्यक्रम तर्जुमा कार्यमा सहभागी बनाउन सक्नेछ।

(च)     पार्टीको आवश्यकता अनुसार प्रशिक्षण विभागसँगको समन्वयमा दलको नीति तथा कार्यक्रमको विषयमा पार्टी पंक्तीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ।

(छ)     तहगत विभागले आफ्नो नियमित रिपोर्टिङ पार्टी तहगत अध्यक्ष तथा तहगत समितिलाई गराउनु पर्नेछ।

 ५.९.   प्रशिक्षण विभाग

(क)     पार्टीको केन्द्रीय समितिको मातहत एक प्रशिक्षण विभाग रहनेछ। यस विभागले केन्द्रीय समितिले तोके बमोजिमका विषयमा केन्द्रित रही पार्टी प्रशिक्षणको व्यवस्था गर्नेछ।

(ख)     प्रशिक्षण विभागको संरचना केन्द्रीय, प्रादेशिक तथा जिल्ला तहसम्म रहनेछ। तहगत प्रशिक्षण विभागको नेतृत्व तहगत समितिको सदस्यले गर्नेछ।

(ग)     केन्द्रीय तहको प्रशिक्षण विभागको नेतृत्व केन्द्रीय सदस्यले गर्नेछन् र विभागमा आवश्यकता अनुसार थप सदस्य मनोनित गर्न सकिनेछ। प्रदेश तहका प्रशिक्षण विभागका प्रमुख केन्द्रीय प्रशिक्षण विभागका पदेन सदस्य रहनेछन्।

(घ)     प्रशिक्षण विभागले पार्टीको राजनीतिक दस्ताबेजको आधारमा पार्टीका प्रशिक्षण सामाग्रीहरू निर्धारण, प्रकाशन र वितरण गर्नुका साथै देश भरीका तहगत प्रशिक्षण विभागको समन्वयमा प्रशिक्षणको व्यवस्था गर्नेछ।

(ङ)     प्रशिक्षण विभागले आवश्यकता अनुसार अन्य विभागहरूसँग समन्वय गरेर वा नगरेर केन्द्रीय कार्यालयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्न सक्नेछ।

(च)     आवश्यकता अनुसार प्रशिक्षण विभागको नियमावली, कार्यविधि तथा नेतृत्वको हेरफेर तहगत समितिले गर्न सक्नेछ।

 ५.१०.  वातावरण तथा सम्पदा विभाग

(क)     वातावरण तथा सम्पदा संरक्षण-संवर्धन तथा दिगो विकास लक्षलाई हासिल गर्ने दिशामा पार्टीको गतिविधि संचालनको लागि केन्द्रीय समिति मातहत वातावरण तथा सम्पदा विभाग रहनेछ।

(ख)     विभागको गठन प्रादेशिक, जिल्ला, स्थानीय तह तथा वडासम्म गर्न सकिनेछ। केन्द्रीय तहमा विभागको नेतृत्व केन्द्रीय समिति सदस्यले गर्नेछ भने अन्य तहगत समितिको नेतृत्व तहगत समिति सदस्यले गर्नेछन्। विभागमा आवश्यकता अनुसार अन्य सदस्यहरू थप्न सकिनेछ।

(ग)     केन्द्रीय वातावरण तथा सम्पदा विभागमा प्रदेश तहका वातावरण तथा सम्पदा विभाग प्रमुखहरू पदेन सदस्यको रूपमा रहनेछन्।

(घ)     विभागले नीति विभागसँगको समन्वयमा दलको वातावरण तथा सम्पदा नीति तर्जुमा गर्नेछ। साथै आवश्यकता अनुसार अभियान विभागको समन्वयमा अभियान संचालन गर्न सक्नेछ।

(ङ)     अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनका विरुद्ध आवश्यक कदम चाल्न दलले लिनु पर्ने नीतिको तर्जुमा तथा गर्नु पर्ने गतिविधिहरूको नेतृत्व विभागले गर्नेछ।

(च)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.११.  विदेश मामिला विभाग

(क)     अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक नियोगसँग सम्पर्क तथा विदेश मामिला सम्बन्धी कार्य गर्न केन्द्रीय तहमा मात्र विदेश विभागको गठन गरिनेछ।

(ख)     विदेश मामिला विभागको नेतृत्व पार्टीको केन्द्रीय समिति सदस्यले गर्नेछन्।

(ग)     अन्य सदस्यहरूको हकमा विदेश मामिला विभागले पार्टीभित्र रहेका विदेश विज्ञ नेताहरू तथा अन्य विज्ञ पार्टी सदस्यहरूलाई विभागमा राख्न सक्नेछ। आवश्यक परेमा विदेश मामिला विभागले अन्य विभागहरूसँग समन्वय गरेर कार्य गर्न सक्नेछ।

(घ)     विदेश मामिला विभाग कुनै पनि अन्तर्राष्ट्रिय विवेकशील साझा सद्भाव समूहसँग सांगठनिक गतिविधिमा संलग्न हुने छैन। तर उक्त सद्भाव समूहहरूसँग आवश्यक नीतिगत सल्लाह सुझावहरू लिन भने स्वतन्त्र छ।

(ङ)     केन्द्रीय समितिले आवश्यकता अनुसार यस विभागको नियमावली, कार्यविधि तथा नेतृत्व हेरफेर गर्न सक्नेछ।

(च)     विदेश मामिला सम्बन्धी कुनै विषयमा पार्टी पंक्तिलाई प्रशिक्षण दिनु पर्ने भएमा प्रशिक्षण विभागसँग समन्वय गरेर प्रशिक्षणको व्यवस्था मिलाउन सक्नेछ।

(छ)     दलको कूटनीतिक निर्देशिकाको कार्यान्वयन गर्ने-गराउने कार्य यस विभागले गर्नेछ।

(ज)     विदेश मामिला विभागले पार्टी अध्यक्ष, पदाधिकारी समिति तथा केन्द्रीय समितिमा नियमित रिपोर्टिङ गर्नेछ।

 ५.१२.  संगठन विभाग

(क)     पार्टीको तीन वटै तहमा रहेका कार्यकारी तथा संयोजनकारी सांगठानिक समितिहरूको कार्यलाई व्यवस्थित गर्नको लागि केन्द्रीय समितिको मातहतमा एक संगठन विभाग रहनेछ। विभागले दलको विधान र विभागको नियमावली तथा कार्यविधि अनुसार आवश्यक सांगठानिक गतिविधिहरू गर्नेछ।

(ख)     प्रत्येक तहगत संगठन विभागहरू सम्बन्धित कार्यकारी समिति प्रति उत्तरदायी रहनेछन्।

(ग)     संगठन विभागको नियमित रिपोर्टिङ पार्टीको तहगत अध्यक्ष, सचिवालय, तहगत समिति तथा माथिल्लो तहको संगठन विभाग प्रमुखमा गरिनेछ।

(घ)     संगठन विभागले आवश्यकता अनुसार अन्य विभागहरूसँग समन्वय गरेर संगठनको विकास, विस्तार तथा नीतिगत सुझाव र सल्लाह गर्न सक्नेछ।

(ङ)     विभागले संगठन तथा सदस्यता विस्तारका लागि आवश्यकता अनुसार विषयगत समिति, उपसमिति तथा कार्यदल निर्माण गरी आफ्नो कार्यलाई थप व्यवस्थित गर्न सक्नेछ। यस्ता विषयगत समिति, उपसमिति तथा कार्यदलहरू विभागप्रति उत्तरदायी हुनेछन्।

 ५.१३.  संसदीय मामिला विभाग

(क)     पार्टीको मूल्यमान्यता तथा राजनीतिक अवधारणा अनुरूप संसदीय नीति तथा संसदीय गतिविधिमा चाहिने आवश्यक कार्य गर्नको लागि पार्टीको केन्द्रीय समिति मातहत एक संसदीय मामिला विभाग रहनेछ।

(ख)     संसदीय मामिला विभागले केन्द्रीय, प्रादेशिक तथा स्थानीय निकायको संसदीय दलहरूसँग समन्वय गरी तत्कालीन संसदीय कार्यहरू सम्पन्न गर्नेछ।

(ग)     राज्यको तीन वटै तहमा निर्वाचन प्रयोजनको लागि निर्वाचनमा पार्टीको विजयको लागि आवश्यक अध्ययन, तयारी र रणनीति तर्जुमा गर्नेछ।

(घ)     पार्टीको संसदीय दलको विधान र नियमावलीको तर्जुमा गरी कार्यान्वयनको लागि केन्द्रीय समितिमा प्रस्तुत गर्नेछ।

(ङ)     संसदीय मामिला विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरू रहनेछन्। विभागको नेतृत्व केन्द्रीय समिति सदस्यले गर्नेछ भने अन्य सदस्यहरू आवश्यकता अनुसार मनोनयन गरिनेछ।

(च)     पार्टीको संसदीय कार्यविधिको अधीनमा रहेर संसदीय दलको समेत परामर्श लिई संसदीय मामिलामा आवश्यक वक्तव्य जारी गर्न सक्नेछ।

(छ)     संसदीय मामिलाको लागि चाहिने पार्टी स्पष्टताको लागि आवश्यक प्रशिक्षणको लागि सम्बन्धित विभागहरूसँग सम्पर्क र समन्वय गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।

(ज)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.१४.  सदस्यता व्यवस्थापन विभाग

(क)     पार्टी भित्र रहेका सदस्यहरूको अद्यावधिक विवरण राख्नुका साथै कार्यसम्पादन अभिलेखीकरण गर्नको लागि तीन वटै तह केन्द्रीय, प्रादेशिक तथा स्थानीयमा सदस्यता व्यवस्थापन विभाग गठन गरिनेछ।

(ख)     यस विभागको नेतृत्व डेटाबेस तथा अभिलेखीकरणमा दक्षता राख्ने केन्द्रीय समितिका सदस्यले गर्नेछ।

(ग)     यस विभागले प्रत्येक ३ महिनामा सदस्यहरूको अद्यावधिक विवरण प्रकाशन गर्नेछ।

 ५.१५.  सामाजिक न्याय तथा समावेशिता विभाग

(क)     पार्टीको केन्द्रीय समितिले नेपालको संविधानको मर्म तथा पार्टीको मूल्य-मान्यता बमोजिम उच्च प्राथमिकतामा रहेको सामाजिक न्याय तथा समावेशिताको कार्यान्वयनको लागि एक सामाजिक न्याय तथा समावेशिता विभाग गठन गरिनेछ।

(ख)     सामाजिक न्याय तथा समावेशिता विभाग पार्टीका तीन वटै तहहरूमा गठन गर्न सकिनेछ।

(ग)     सामाजिक न्याय तथा समावेशिता विभागमा एक जना प्रमुख र बाँकी आवश्यकता अनुसार सदस्यहरू रहनेछन्। विभागको नेतृत्व केन्द्रीय समिति सदस्यले गर्नेछ।

(घ)     नेपालको संविधानले परिकल्पना गरेको समावेशी ढाँचालाई पार्टीभित्र, सरकारी निकाय तथा अन्य सरोकारवाला निकायहरूमा प्रभावकारी कार्यान्वयनको पक्षमा जनमत सिर्जना गर्ने खालका कार्यक्रमहरूको आयोजना गर्न सक्नेछ।

(ङ)     सामाजिक न्याय तथा अन्य समावेशी निकायहरूसँग अन्तर संवाद र सरोकार राख्दै समान धारणाहरू राख्ने निकायहरूसँग संयुक्त कार्यक्रमहरूको पहल गर्नेछ।

(च)     केन्द्रीय, प्रादेशिक तथा स्थानीय निकायहरूमा सामाजिक न्याय र समावेशिताको अवस्थाबारे विभिन्न विषयगत विशेषज्ञहरूसँग सुझाव, सल्लाह र अन्तरक्रियाहरू गर्न सक्नेछ। विशेष अवस्थामा सामाजिक न्याय तथा समावेशिताको मुद्दामा कुनै अभियान चलाउन आवश्यक देखिएमा केन्द्रीय अभियान विभागको समन्वयमा अभियान चलाउनेछ।

(छ)     सहभागितामूलक लोकतन्त्रमा सामाजिक न्याय र समावेशिताको अन्तर सम्बन्धलाई स्थापित गर्न आवश्यक पर्ने प्रकाशन, अनुसन्धान र प्रशिक्षणको आवश्यकता परेमा सम्बन्धित विभागहरूको समन्वयमा कार्यक्रमहरू आयोजना गर्नेछ।

(ज)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.१६.  सूचना तथा सञ्चार विभाग

(क)     पार्टीको सूचना तथा सञ्चारलाई व्यवस्थित गर्नको लागि केन्द्रीय तथा प्रादेशिक तहमा ‘सूचना तथा सञ्चार विभाग’ गठन गरिनेछ।

(ख)     सूचना तथा सञ्चार विभागको नेतृत्व केन्द्रीय तहमा केन्द्रीय सदस्यले तथा प्रादेशिक तहमा प्रादेशिक सदस्यले गर्नेछन्।

(ग)     प्रादेशिक ‘सूचना तथा सञ्चार विभाग’का नेतृत्वहरू तथा पार्टी प्रवक्ताहरू केन्द्रीय सूचना तथा संचार विभागको पदेन रूपमा ‘सूचना तथा सञ्चार विभाग’का सदस्यहरू हुनेछन्। साथै आवश्यकता अनुसार अन्य सदस्यहरू थप्न सकिनेछ।

(घ)     पार्टीको सूचना तथा सञ्चार नीति तथा नियमावलीको अधीनमा रही पार्टीका सामाजिक सञ्जालहरू, वेबसाइट तथा अन्य सूचना तथा संचारका माध्यमहरूको सञ्चालनको कार्य सूचना तथा सञ्चार विभागको हुनेछ।

(ङ)     विभिन्न सञ्चार माध्यमहरू (टेलिभिजन/रेडियो/पत्रपत्रिका/अनलाइन)मा सम्पर्क गरी पार्टीका नीति तथा कार्यक्रमहरूलाई व्यापक प्रचार/प्रसार गर्ने, प्रकाशित लेख/रचनाहरूलाई वेबसाइट/सामाजिक सञ्जालहरू मार्फत थप प्रचार गर्ने तथा पार्टीको ब्राण्डिङमा सहयोग गर्नेछ।

(च)     पार्टीका सबै प्रेस विज्ञप्तिहरूको यसै विभाग मार्फत सम्प्रेषित हुनेछन्।

(छ)     सूचनाको हक सम्बन्धी अधिकारको अधीनस्थ रही कुनै पनि सरोकारवाला निकायले पार्टीको सूचना उपलब्ध गराउन माग गरेमा केन्द्रीय कार्यालयसँग समन्वय गरी आवश्यक सूचना उपलब्ध गराउनेछ। यस प्रयोजनको लागि विभाग अन्तर्गत एक जना सुचना अधिकारी तोकिनेछ।

(ज)     तहगत समितिले आवश्यकता अनुसार तहगत विभागको नियमावली, कार्यविधि तथा नेतृत्व हेरफेर गर्न सक्नेछ।

(झ)     तहगत विभागले आफ्नो नियमित रिपोर्टिङ पार्टी तहगत अध्यक्ष तथा तहगत समितिलाई गराउनु पर्नेछ।

 ५.१७. LGBTIQ (इन्द्रेणी) विभाग

(क)     लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक, आर्थिक तथा सामाजिक अधिकारको संघर्षलाई दलले नेतृत्व गर्नको लागि केन्द्रीय समिति मातहत LGBTIQ (Lesbian, Gay, Bisexual, Transgender, Intersex, or Questioning) विभाग रहनेछ। यस विभागलाई इन्द्रेणी विभागको नामले पनि चिनिनेछ।

(ख)     विभागको नेतृत्व लैगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्यले गर्नेछ। विभागमा आवस्यकता अनुसार अन्य सदस्यहरू मनोनयन गर्न सकिनेछ।

(ग)     विभागले लैंगिक अल्पसंख्यकहरूको समस्या पहिचान गर्दै समाधानको लागि नीति तथा कार्यक्रम विभागको समन्वयमा नीति तर्जुमा गर्ने तथा आवश्यकता अनुसार अभियान विभागको समन्वयमा अभियान संचालन गर्न सक्नेछ।

(घ)     विभागको नियमावली, कार्यविधि तथा नेतृत्व आवश्यकता अनुसार तहगत समितिले हेरफेर गर्न सक्नेछ।

 ५.१८.  अन्य विभागहरू

(क)     पार्टीले आवश्यकता अनुसार अध्यक्षको प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समितिले विभगहरुको गठन, पुर्नगठन वा खारेजी गर्न सक्नेछ।

(ख)     सो विभागको काम, कर्तव्य र अधिकार कार्य सम्पादन समितिले तोके बमोजिम हुनेछ।

(ग)     विभागहरूले आवश्यकता अनुसार कार्यविधि बनाइ लागु गर्न सक्नेछन्।

परिच्छेद ५
६.      कार्यदल

(क)     पार्टीको कुनै पनि तहगत कार्यकारी समितिले विशेष प्रयोजनको लागि आवश्यकता अनुसार कार्यदल गठन गर्न सक्नेछ।

(ख)     कार्यदलको समयावधि, काम, कर्तव्य र अधिकार सम्बन्धित समितिले सम्बन्धित कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुन्छ।

(ग)     कार्यदलले आफ्नो काम सम्पन्न गरि प्रतिवेदन सम्बन्धित समितिलाई पेस गरे पश्चात् स्वतः विघटन हुनेछ।

परिच्छेद ६
७.     फरक मत

बैठकमा कसैले लिखित असहमति दर्ज गर्ने स्थिति सृजना भएको खण्डमा बैठकको निर्णयलाई बैठक समापन हुनु अगावै लिपिबद्ध गर्नु पर्नेछ र असहमति दर्ज गर्ने व्यक्तिले त्यति नै बेला आफ्नो असहमति माइन्यूट बुकमा लेख्नु पर्नेछ। बैठकबाट निस्किएपछि असहमति दर्ज हुन सक्दैन। सोही कुरा अनलाइन बैठकका हकमा पनि लागू हुनेछ।

परिच्छेद ७
८.      औपचारिक कार्यक्रम संचालन

(क)     पार्टीले आयोजना गर्ने औपचारिक कार्यक्रमहरूमा पार्टीको झन्डा सहित अनिवार्य रूपमा राष्ट्रिय झन्डा को प्रयोग गरिनेछ।

(ख)     पार्टीका औपचारिक कार्यक्रमहरू संचालन गर्दा राष्ट्रिय गानबाट सुरु गरिनेछ।

(ग)     पार्टीका औपचारिक कार्यक्रमहरूमा माला, खादा र आसन ग्रहण गरिनेछैन।

परिच्छेद ८
९.      महाधिवेशन

महाधिवेशनमा हुने सदस्यहरूको सहभागिता, महाधिवेशनको कार्य प्रक्रिया, कार्य तालिका र निर्वाचन प्रणाली सम्बन्धी व्यवस्था सम्बन्धित नीति, निर्देशिका र कार्यविधिमा उल्लेख भएअनुसार हुनेछ।

परिच्छेद ९
१०.    कार्यभार हस्तान्तरण

सबै तहका समितिले आ-आफ्नो तहको अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति गठन भएको ३० दिन भित्र निवर्तमान समितिले नव निर्वाचित समितिलाई आफ्नो जिम्मा रहेका पार्टीका सबै चल अचल सम्पत्ति र अभिलेख हस्तान्तरण गर्नुपर्नेछ।

परिच्छेद १०
११.    नियमावलीको व्याख्या, संशोधन तथा अनुसूचीमा थपघट

(क)     यो नियमावलीको कार्यान्वयनमा कुनै समस्या आएमा यसको अन्तिम व्याख्या केन्द्रीय समितिले गर्नेछ।

(ख)     केन्द्रीय समितिले आवश्यकता अनुसार यो नियमावली, संशोधन, थपघट, निलम्बन, वा खारेज तथा यस नियमावलीको अनुसूची हेरफेर गर्न सक्नेछ।

 अनुसूची १
सदस्यता तथा नवीकरण शुल्क

क्र. सं.

देश सदस्यता तथा नवीकरण शुल्क
१. नेपाल भित्र रहेका नेपालीहरू
२. युरोलाई राष्ट्रिय मुद्रा मान्ने युरोपेली देशहरूमा रहेका नेपालीहरू प्रति वर्ष ६० युरो
३. संयुक्त अधिराज्यमा रहेका नेपालीहरू प्रति वर्ष ५० पाउन्ड
४. मेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड तथा सिङ्गापुर (सम्बन्धित देशको मुद्रामा) रहेका नेपालीहरू प्रति वर्ष ६० डलर
५. जापान, दक्षिण कोरिया, ब्रुनाईमा रहेका नेपालीहरू प्रति वर्ष नेरु ६,०००
६. कतार, युएई, साउदी अरेबिया लगायतका खाडी राष्ट्रहरूमा रहेका नेपालीहरू प्रति वर्ष नेरु १,०००
७. मलेसियामा रहेका नेपालीहरू प्रति वर्ष नेरु १,०००
८. भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा रहेका नेपालीहरू प्रति वर्ष नेरु ५००
९. अन्य देशहरूमा रहेका नेपालीहरू केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार
अनुसूची २
सदस्यता परिचय पत्र

अनुसूची ३
पदाधिकारी परिचय पत्र

This website uses cookies to improve your web experience.