Skip links

मिति २०७४ साउन ११ गते सम्पन्न सम्झौता पत्रको आधारमा तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीको बिचमा एकीकरण भएर विवेकशील साझा पार्टी निर्माण भएको थियो। पार्टी एकीकरणको अत्यन्त छोटो समयमा हामीले राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ। एकीकरणको सम्झौता पत्र तथा प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा हामीले हाम्रो सांगठनिक संरचनालाई निर्वाचन प्रयोजनको लागी ‘निर्वाचन क्षेत्रगत’ तदर्थ रूप दिएर समतल बनाएका थियौँ। निर्वाचन सम्पन्न भएपछि मात्र तहगत संरचनामा सङ्क्रमण गर्ने निर्णय गरेका थियौँ। निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा तहगत संरचनामा जानको लागी निम्नानुसार सांगठनिक संरचनाको परिकल्पना गरिएको छ।

केही महिना अगाडि केन्द्रीय समितिले निर्णय गरेर लागु गरेको तहगत साङ्गठनिक संरचनाको खाकामा त्यति धेरै समस्याहरू नदेखिएको भएता पनि सङ्गठन बिस्तारको क्रममा केही व्यवहारिक समस्याहरू र गुनासाहरू आएका थिए। हामीले सिक्ने व्यवहारबाट नै हो। त्यस कारण सङ्गठन निर्माण र बिस्तारको दौरानमा देशभरिबाट नेता तथा सदस्य साथीहरूले पठाएका महत्त्वपूर्ण सुझावहरूलाई ध्यानमा राखेर पूर्व प्रेषित सङ्गठनको खाकामा सामान्य संशोधन गरी यो निर्देशिका जारी गरिएको छ। सङ्गठन विस्तारका लागि सम्बन्धित सबैले यही निर्देशिकालाई आधार मान्न अनुरोध गरिन्छ। यस निर्देशिकाभन्दा बाहिरका समूह/सङ्गठनलाई मान्यता दिइने छैन।

१. केन्द्रीय तह

१.१.  पछिल्लो पटक को पार्टी केन्द्रीय समिति विस्तार पश्चात् विवेकशील साझा पार्टी को अध्यक्ष र संयोजक सहित १३० सदस्यीय केन्द्रीय समिति रहेकोमा २०७८ मङ्सिर १८ गते सिटिजन् डिस्कसन फोरम र नेपाल जनता दरबार पार्टीबिच एकीकरण भई ४५ जना केन्द्रीय सदस्य थप गरिएको थियो। यस बिचमा केहि केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले विविध कारणले राजीनामा दिएको दल परित्याग गरेको तथा कारबाहीमा परेको हुँदा हाल १६० सदस्यीय केन्द्रीय समिति रहेको छ।

१.२ हाल रहेको केन्द्रीय समितिकै सदस्यहरूको नेतृत्वमा पार्टीको केन्द्रीय तहमा १८ वटा विभागहरू सक्रिय रहेका छन्। विभागहरूको क्षेत्राधिकार तोकेर दिइएको जिम्मेवारी अन्तर्गत सङ्गठन विभागले पनि आफ्ना गतिविधिहरू गरिरहेको छ।

२. प्रादेशिक तह

२.१ विवेकशील साझा पार्टीको विचार, नीति, मूल्य मान्यता तथा व्यक्तिको पृष्ठभूमि, उपलब्धि, सामाजिक र राजनीतिक परिचय तथा नेतृत्व क्षमतालाई मानक बनाएर प्रदेशका संयोजकहरू नियुक्त गरिएको छ। प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा रिक्त हुन पुगेका प्रदेश संयोजक चयनको प्रक्रिया अगाडी बढाइएको र यसलाई केन्द्रीय कार्यसम्पादन समितिले केहि दिनमा नै टुङ्गो लगाउनेछ ।

२.२ प्रदेश संयोजक तथा सङ्गठन विभागको समन्वयमा सम्भव भएसम्मका जिल्लाहरूमा जिल्ला संयोजकहरू नियुक्त गर्ने। यसरी जिल्ला संयोजक घोषणा गर्दा सम्बन्धित जिल्लामा रहेका सक्रिय सदस्य तथा नेताहरूको बिचमा सामान्य भेला आयोजना गर्ने। र, उक्त भेलामा छलफल गराएर मात्र सम्बन्धित जिल्लामै जिल्ला संयोजक घोषणा कार्यक्रम गर्ने ।

२.३ प्रदेशमा रहेका बहुमत जिल्लाहरूमा जिल्ला संयोजकहरूको नियुक्ति भएपछि मात्र जिल्ला संयोजकहरू पदेन सदस्य रहने गरी र एक जना प्रदेश कार्यालय प्रमुख सहित प्रादेशिक समिति निर्माण गर्ने। र, समितिको सहमतिमा बाँकी विधान बमोजिमको सङ्ख्यामा प्रदेश सदस्यहरू नियुक्त गर्दै जाने।

३. स्थानीय तह

३.१ सात वा त्यसभन्दा बढी पार्टी सदस्यहरू भएको टोलमा स्वतः स्फूर्त रूपमा र समानान्तर हैसियतमा ‘टोल समिति’ निर्माण गर्न सक्ने प्रावधानलाई निरन्तरता दिने।

३.२ कुनै पनि वडामा कुल मतदाता सङ्ख्याको न्यूनतम एक प्रतिशत पार्टी सदस्य सङ्ख्या पुगेपछि वडा सदस्यहरूको आपसी सहमतिमा वडा संयोजक चुन्ने अथवा एक प्रतिशत नपुगेको अवस्थामा न्यूनतम १७ जना वा त्यो भन्दा बढी सदस्यहरू भएको अवस्थामा आपसी सहमतिमा वडा संयोजक चुन्ने।

३.३ मतदाताको न्यूनतम एक प्रतिशत सदस्य नपुर्‍याईकन  चुनिएको वडा संयोजकले बढीमा ३ महिनाभित्र एक प्रतिशत सदस्य सङ्ख्या पनि पुर्‍याउनु पर्नेछ र पुन ‘भोट अफ कन्फिडेन्स’ लिनु पर्नेछ। अथवा अवस्थाअनुसार वडा संयोजकको लागि अत्यन्तै योग्य उम्मेदवार भेटिएको अवस्थामा माथिका दुवै तरिकाको लागि न्यूनतम मापदण्ड पुरा नभएता पनि वडाभन्दा माथिल्लो निकाय (गाउँपालिका, नगरपालिका, जिल्ला वा प्रदेश)ले वडा संयोजक नियुक्त गर्न सक्नेछ। तर यसरी नियुक्त भएको वडा संयोजकले बढीमा ३ महिनाभित्र एक प्रतिशत सदस्य सङ्ख्या पुर्‍याएर ‘भोट अफ कन्फिडेन्स’ लिनु पर्नेछ।

३.४ यसरी गठन भएका वडा कमिटीमा कुल मतदाता सङ्ख्याको न्यूनतम दुई प्रतिशत पार्टी सदस्य सङ्ख्या पुगेपछि उक्त वडाले वडा कार्यालय खोल्न र सञ्चालनका निम्ति विधान बमोजिम कोष सञ्चालन गर्न सक्नेछ। र, वडाभन्दा माथिल्लो निकाय (गाउँपालिका, महा–उप–नगरपालिका र प्रदेश) को नियम बमोजिम कार्यालय सञ्चालन गर्न सम्बन्धित समितिहरूमा प्रतिनिधित्व गर्न पाउनेछ।

३.५ कुनै पनि वडामा संयोजक चुनिएपछि टोल समितिका संयोजकहरू पदेन सदस्य रहने गरी वडा संयोजन समिति निर्माण गर्न सकिनेछ।

३.६ प्रदेश संयोजक, जिल्ला संयोजक र वडा संयोजकको समन्वयमा रहेर न्यूनतम ४० प्रतिशत वडाहरूमा संयोजन समितिहरू निर्माण भएपछि महा–उप–नगर–गाउँपालिका समिति निर्माण गर्न सकिनेछ।

३.७ कुनै पनि वडा संयोजन समिति निर्माण नभइसकेको तर अत्यन्तै योग्य उम्मेदवार भेटिएको खण्डमा प्रदेश, जिल्ला तथा उक्त महा–उप–नगर–गाउँपालिकाभित्र सक्रिय रहेका नेता तथा सदस्यहरूसँग छलफल गरेर संयोजक चुन्न सकिनेछ। यसरी चुनिएका संयोजकले बढीमा ३ महिनाभित्र आफ्नो मातहतका न्यूनतम ४० प्रतिशत बडाहरूमा संयोजक नियुक्त गरिसक्नु पर्नेछ। र, माथिल्लो निकायबाट ‘भोट अफ कन्फिडेन्स’ लिनु पर्नेछ।

३.८ माथिको सर्तअनुसार निर्माण भएका वडा समिति संयोजकहरू पदेन तथा एक जना महा–उप–नगर–गाउँपालिका कार्यालय प्रमुख सहित महा–उप–नगर–गाउँपालिका समिति निर्माण गर्न सक्नेछ। र, समितिको सहमतिमा बाँकी विधान बमोजिमको सङ्ख्यामा महा–उप–नगर–गाउँपालिका समिति सदस्यहरू नियुक्त गर्दै जाने।

४. विशेष व्यवस्था

४.१ प्रदेश, जिल्ला, स्थानीय आदि कुनै पनि तहमा संयोजक नभएको स्थानमा केन्द्रीय सङ्गठन विभागको समन्वय र सहयोगमा कुनै पनि तहमा सङ्गठन निर्माणको प्रयोजनको लागि ‘सङ्गठन बिस्तार समिति’ र त्यही समितिकै एक जना सदस्यलाई संयोजन गर्ने सम्पर्क व्यक्ति तोक्न सकिनेछ। तहगत समिति निर्माणसँगै सम्पर्क व्यक्तिको प्रयोजन स्वतः निष्क्रिय हुनेछ।

४.२ प्रदेश संयोजक, जिल्ला वा स्थानीय निकायको संयोजक भएको स्थानको हकमा भने कुनै अमुक ठाउँमा सम्पर्क व्यक्ति तोक्नु परेमा सम्बन्धित निकायको समितिको सहमति अनिवार्य हुनु पर्नेछ।

५. कार्यान्वयनको रणनीति

५.१. माथिको लक्ष्य यथाशक्य चाँडो पुरा गर्ने गरी सम्पूर्ण शुभेच्छुक, समर्थक, सदस्य तथा नेताहरूलाई आक्रामक रूपमा सदस्यता निर्माण अभियानमा केन्द्रित गर्ने।

५.२. सदस्यता वितरणका लागि आधिकारिक सामाजिक सञ्जाल तथा सम्भव भएसम्मका बहु-विधिहरूको प्रयोग गर्ने।

५.३. अधिकांश स्थानमा पार्टीका तहगत संरचनाहरू बनी नसकेकोले पार्टी सदस्यता शुल्कको लागी त्यस्ता स्थानहरूमा पार्टी वेबसाइटको सदस्यता-सहयोग खण्डमा उल्लेखित लगायत अन्य वैकल्पिक विधिहरूको प्रयोग गर्ने।

५.४. पार्टीका आधिकारिक खाताहरू रहेको स्थानका कार्यालयहरूले सम्भव भएसम्म सदस्यता शुल्क तथा पार्टीको लागि थप आर्थिक सहयोग लिएर नजिकको बैङ्कमा दाखिला गर्ने।

५.५. अनलाइन सदस्यता लिने शुभेच्छुकहरूले सदस्यता शुल्क र थप आर्थिक सहयोगका लागि पार्टी वेबसाइटको सदस्यता-सहयोग खण्डमा उल्लेखित विधि अपनाउन सक्ने।

५.६. सदस्यता विस्तार योजना कार्यान्वयनको प्रशासनिक, आर्थिक, वेबसाइट तथा सामाजिक सञ्जालको व्यवस्थापन तथा नेतृत्व (सङ्गठन विस्तार विभागसँगको समन्वयमा) पार्टी मुख्यालयको प्रमुख दिपक उप्रेती  तथा सदस्य व्यवस्थापन विभाग प्रमुख लक्ष्मी घिमिरेले गर्ने।

५.७. प्रादेशिक नेतृत्व निर्धारण भएका प्रदेश तथा जिल्लाहरूमा सदस्यता विस्तारको जिम्मेवारी विकेन्द्रित गर्दै लैजाने।

७. यथाशक्य कम समयमा नेपालभित्र न्यूनतम एक लाख सदस्य सङ्ख्याको लक्ष्य निर्धारण गरेर काम गर्ने।

८. एक लाख सदस्य सङ्ख्या पुगिसकेपछि “विवेकशील साझा पार्टी- अब देशको नेतृत्व” भन्ने पूर्व निर्धारित नाराका साथ राष्ट्रव्यापी तरङ्ग सृजना हुने गरी राष्ट्रिय महाधिवेशन गर्ने।

९. महाधिवेशनले पारित गरेपछि पार्टीको पूर्ण विधान लागू गर्ने र महाधिवेशन नभएसम्मका लागि विवेकशील साझा पार्टीको विधान २०७८ को सङ्क्रमणकालका लागि निर्देशित गरेका व्यवस्थाको आधारमा पार्टी सञ्चालन गर्ने।

सङ्गठन बिस्तारमा सहभागी हुनको लागि सम्पर्क गर्नुहोस्:

कार्यालय: ०१-५५३६०६२ तथा ०१-५०१०६०९

This website uses cookies to improve your web experience.