Skip links

विवेकशील साझा पार्टी संक्षिप्त चिनारी

पार्टीको नामः विवेकशील साझा पार्टी
पार्टीको झण्डा: नीलो पृष्ठभूमिमा सेतो रङ्गको तराजु चिन्ह सहितको आयातकार झण्डा
चुनाव चिन्हः तराजु
पार्टीको दर्शन/विचार/वाद: कल्याणकारी लोकतन्त्र (Welfare Democracy)
पार्टीको लक्ष्यः सुसंस्कृत राजनीतिक, समतामूलक संवृद्धि

पार्टीको मार्गदर्शक सिद्धान्त:

१)  सहभागितामूलक लोकतन्त्र
२)  समन्वयात्मक बजार अर्थतन्त्र
३)  कल्याणकारी राज्य
४)  सामाजिक न्याय

पार्टीको मूल्य र मान्यता:

पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity), उत्कृष्टता (Meritocracy) अर्थात् STIM.

यो पार्टीको आवश्यकता किन पर्‍यो?

विश्वमा हामीभन्दा अत्यन्त गरिब र साधन स्रोतले विपन्न मुलुकहरूले द्रुतगतिमा प्रगति गर्दा साधन र स्रोतले सम्पन्न हामी विश्वकै अति गरिब मुलुकका रूपमा रहिरहेका छौँ। सरकार सधैँ अस्थिर भइरह्यो। सरकार चलाउनेहरू असक्षम र भ्रष्ट भइरहे। दशकौँसम्म राजनीति गरेका दल र तिनका सबैजसो नेताले स्थिर, सुसंस्कृत र विकासमुखी राजनीतिको भरपर्दो सङ्केत देखाउन सकेनन्। व्यक्ति बन्ने तर देश नबन्ने राजनीति विद्यमान रह्यो। अहिलेको राजनीतिको विकल्पका रूपमा विवेकशील साझा पार्टी परिणाममुखी, कल्याणकारी लोकतन्त्र स्थापित गरि एकै पुस्तामा नेपाललाई रूपान्तरण गर्ने दृढ अठोटका साथ विसं २०७४ मा विधिवत् स्थापना भएको हो।

यो पार्टी अरूभन्दा कसरी फरक छ?

यो पार्टी नेपालको धर्तीमा जन्मेर, हुर्केर नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखी नेपालीको मनको बोली बोल्ने पार्टी हो। नेपालको गौरवमय इतिहास, जैविक विविधतायुक्त भूगोल, सनातनदेखि चली आएको धर्म, रीतिथिति, हजारौँ वर्ष पुरानो संस्कृति, बहु जाती, बहुभाषिक समाज र दक्षिण एसियाको विशिष्ट भूराजनीतिलाई राम्ररी बुझेको यो पार्टीले परम्परागत वादप्रतिको जड सूत्रीय लगावभन्दा समकालीन नेपाली समाजका आवश्यकता र नयाँ पुस्ताको आकाङ्क्षा प्रतिबिम्बित हुने मार्गदर्शक सिद्धान्त अवलम्बन गरेको छ। विधिको शासनलाई मूल मन्त्र मानेको यो पार्टी अहिंसात्मक राजनीति, भ्रष्टाचारमुक्त र समावेशी शासन व्यवस्था, समतामूलक र न्यायपूर्ण समाज स्थापना गर्न प्रतिबद्ध छ।

यो पार्टीका सदस्यहरू लोकतान्त्रिक सर्वोच्चतामा मन, वचन र कर्मले विश्वास गर्दछन् र राजनीति भनेको सेवा हो, पेसा होइन भन्नेमा अटल छन्। यो पार्टीले इमानदार, उत्कृष्ट, क्षमतावान् र देशलाई माया गर्ने व्यक्तिहरूलाई राजनीतिमा सहभागी हुन र नेतृत्व गर्न प्रेरित गर्दछ। स्वदेश र विदेशमा रहेका सक्षम, अनुभवी र ऊर्जाशील व्यक्तिहरूलाई उनीहरूको चाख र क्षमताअनुसार पार्टी या राज्यको जिम्मेवारीका लागि अवसर दिनेछ। चुनिएका प्रतिनिधिहरूलाई फिर्ता बोलाउन पाउने (राइट-टु-रिकल) तथा कोही उम्मेदवार उपयुक्त छैनन् (राइट टु रिजेक्ट) जस्ता मतदाताका अधिकारहरू सुनिश्चित गर्नेछ। पार्टीका हरेक सदस्यले आफ्नै विद्यमान सम्पत्तिबाट या कुनै न कुनै व्यवसाय, इलम, वा उद्योगधन्दा गरि जीविका चलाउने छन्। पार्टीको पैसा वा राज्य कोषको दोहन गरी कार्यकर्ताको भरण पोषण गर्ने अहिलेको प्रवृत्ति अन्त्य गरिनेछ।

यो पार्टीले के गर्दैन?

यो पार्टीका कुनै पनि सदस्य वा इकाईले बन्द, हडताल, चक्काजाम, हिंसात्मक तथा विध्वंसात्मक आन्दोलन गर्दैन। यो पार्टीका सदस्यले कुनै पनि दलका नेता वा कार्यकर्ताको चरित्र हत्या वा उनीहरूलाई व्यक्तिगत गालीगलौज गर्दैन। यो पार्टीले कर्मचारी, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, पत्रकार जस्ता पेसाकर्मीहरूको दलीय राजनीतिक भातृ संगठन खोल्दैन। यसले राजनीतिलाई कुनै पनि बहानामा राज्य दोहनको माध्यम बनाउँदैन। सामाजिक जनजीवनलाई अनावश्यक रूपमा पार्टी करण गर्दैन। जबरजस्ती चन्दा असुली गर्ने र सर्वसाधारण नागरिकलाई धाक, धम्की, लोभ, डर देखाएर पार्टीका गतिविधि संचालन गर्दैन। सुरक्षा निकायमाथि कुनै पनि प्रकारको आक्रमण वा ती निकायको मनोबल गिराउने काम गर्दैन।

यो पार्टीले नयाँ कुरा के गर्छ?

  1. भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लागु गर्नेछ। २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बहाल रहेका सबैको सम्पत्ति जाँचबुझ गरि अवैध सम्पत्ति सरकारीकरण गरी दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नेछ।
  2. न्यायालय लगायत राज्यका विभिन्न अङ्ग तथा निकायमा भइरहेको राजनीतिक भागबन्डाको प्रचलन खारेज गर्नेछ। योग्यता, क्षमता र इमानदारीको कसीमा समावेशी तवरले पदाधिकारीको नियुक्ति गर्नेछ।
  3. राष्ट्रसेवक निजामती कर्मचारीहरूले देशलाई सङ्कट परेका बखत देखाएको अतुलनीय योगदान र कर्तव्यपरायणताको कदर गर्दै निजामती प्रशासनलाई राजनीतिक दलको छायाबाट मुक्त गर्नेछ। निजामती प्रशासन र अन्य सार्वजनिक निकायमा दलै पिच्छेका ट्रेड युनियन खारेज गर्नेछ।
  4. मुलुकको सार्वभौमिकता र स्वाधीनताको प्रतीकको रूपमा रहेको नेपाली सेनालाई अनावश्यक हस्तक्षेप गर्ने, सेनाको मनोबल गिराउने कार्यमा रोक लगाउँदै नेपाली सेनाले सदियौँदेखि गर्दै आएको बलिदान र सेवाको उचित कदर गर्नेछ। अवकाशप्राप्त सैनिकहरूको अनुभव दक्षता र कार्यकुशलतालाई राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा उपयोग गर्नेछ।
  5. नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा भइरहेको ठाडो राजनीतिक हस्तक्षेपबाट ती निकायलाई मुक्त गर्नेछ र योग्यता, अनुभव र कार्यक्षमताका आधारमा सरुवा, बढुवा वा नियुक्ति हुने पद्धति कायम गर्नेछ। सेवा निवृत्त प्रहरीको दक्षता र क्षमताका आधारमा राष्ट्रनिर्माणका विभिन्न कार्यमा संलग्न गराउनेछ।
  6. दुई ठुला छिमेकी भारत र चीनसँग सम-निकटताको सम्बन्ध राखी ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण’ विदेश नीति अवलम्बन गर्दै उनीहरूको तीव्र आर्थिक विकासबाट अधिकतम लाभ लिन प्रयास गर्नेछ। सोही नीति अन्य देशहरूका हकमा पनि अख्तियार गरिनेछ।
  7. नेपाल भारतको खुला सीमालाई व्यवस्थित गर्नेछ। देशका विभिन्न भागमा भइरहेको नेपाली भूमिको अतिक्रमण हटाउन कदम चाल्नेछ।
  8. सरकारका पदाधिकारी र नेपालका राजनीतिक दलका नेताहरूको विदेशी दूत, नियोग, नेता र कूटनीतिक कर्मचारीसँगको सम्पर्क कूटनीतिक कार्यविधि अनुसार हुनु पर्ने बाध्यकारी व्यवस्था गर्नेछ। विवेकशील साझा पार्टीले आफ्ना नेताहरूका लागि त्यस्तो कार्यविधि बनाएर लागू गरिसकेको छ।
  9. देशका विभिन्न भागमा हाल भइरहेको जबरजस्ती या विभिन्न प्रलोभनमार्फत धर्म परिवर्तन गर्न बन्देज लगाउने छ र त्यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थालाई कानुनको कठघरामा उभ्याउनेछ। धर्म, संस्कृति र सम्पदा संरक्षण तथा प्रवर्धनमा विशेष ध्यान दिनेछ।
  10. मुलुकको नीति, ऐन, कानुन निर्माणमा विदेशी सहयोग र प्रभावलाई निषेध गर्नेछ। विदेशी गैरसरकारी संस्थाहरूको गतिविधिमा कडा निगरानी राख्नेछ।
  11. शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यको प्रमुख दायित्वको रूपमा अंगिकार गरि ती क्षेत्रमा व्याप्त विकृति र व्यापारीकरणलाई हटाउनेछ, र उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्नेछ।
  12. कलेज तथा विश्वविद्यालयमा राजनीतिक दलका विद्यार्थी संगठन खारेज गर्नेछ।
  13. धन र बलको आडमा चुनाव लड्ने घातक प्रवृत्तिले लोकतान्त्रिक संस्कारलाई कमजोर पार्दै भ्रष्टाचारलाई बढवा दिएको सन्दर्भमा निर्वाचन आचार संहितालाई परिमार्जन गर्दै कडाइका साथ लागु गर्नेछ। विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नेछ।
  14. विकासका नाममा लापरबाही तवरले रमणीय डाँडाकाँडा भत्काउने, पानीका मुहान सुकाउने, नदीनाला दूषित बनाउने, वन जङ्गल ध्वस्त पार्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने अहिलेको प्रवृत्तिमा रोक लगाउनेछ। दिगो, सन्तुलित र वातावरणमैत्री विकासको स्वदेशी मोडल तयार गरी लागू गर्नेछ।
  15. नेपाली युवाहरूको श्रम निर्यात गर्ने र विदेशी वस्तु र सेवाको आयात गर्ने अहिलेको अवस्थालाई उल्ट्याउने उद्देश्यले अर्थतन्त्रलाई उद्वेलित र चलायमान पार्दै रोजगारी सृजना गर्ने आर्थिक विकासको नयाँ युग प्रारम्भ गर्नेछ।
  16. ‘एक नेपाली, एक पर्यटक’को महत्त्वाकाङ्क्षी दीर्घकालीन योजना प्रवर्धन गर्दै वार्षिक रूपमा ३ करोड विदेशी पर्यटक भित्र्याउन सक्ने गरी पर्यटन पूर्वाधार र सेवा सुविधाको व्यवस्था गर्न कदम चाल्नेछ।
  17. खाद्यान्न उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन र आधुनिक कृषि प्रणालीका माध्यमबाट रोजगारी बढाउन कदमहरू चाल्नेछ।
  18. पूर्वाधारको लगानीलाई चुनौती भन्दा अर्थतन्त्रलाई चलायमान बनाउने र रोजगारी सिर्जना गर्ने अवसरका रूपमा लिनेछ। आन्तरिक प्राविधिक क्षमताको विकास गरि सम्भव भए सम्मका ठुला पूर्वाधार आयोजना समेत नेपालको आफ्नै पुँजी र जनशक्तिबाट निर्माण गर्नेछ।
  19. समावेशी समाज निर्माणका लागि दीर्घकालीन रूपमा समान अवसरको नीतिमा जोड दिनेछ। पछाडि परेको जाती र क्षेत्रलाई निश्चित अवधिका लागि आरक्षणको व्यवस्था गर्दा आर्थिक अवस्थालाई पनि आधार मानिने छ।

कल्याणकारी लोकतन्त्र भनेको के हो?

यो पार्टीले आत्मसात् गरेका मार्गदर्शक सिद्धान्त समन्वयात्मक बजार अर्थतन्त्र, सहभागितामूलक लोकतन्त्र, सामाजिक न्याय र कल्याणकारी राज्यलाई हामीले समष्टिगत रूपमा हाम्रो दर्शन/विचार/वाद अर्थात् ‘कल्याणकारी लोकतन्त्र’ भनेका छौँ। कल्याणकारी लोकतन्त्र समाजवादको विकृत र बेअर्थी अभ्यास, साम्यवादमुखी भय, पुँजी आर्जनमा अङ्कुशको डर, ताना शाही प्रवृत्तिको प्रवर्धनजस्ता सबै प्रदूषणबाट मुक्त छ। यो सय वर्षको आधुनिक विश्व अर्थ-राजनीतिको बृहत् अध्ययनपछि निकालिएको परिपक्व र व्यावहारिक निष्कर्ष हो। आजका सबभन्दा सफल र विकसित अर्थतन्त्रहरू सबैले दशकौँदेखि कल्याणकारी नीतिहरूलाई अभिन्न अङ्गका रूपमा स्विकार्दै आएका छन्। नेपालले पटक, पटक भोगिसकेको अहिलेको लोकतन्त्रको मोडलले राजनीतिकर्मी र उनीहरूका आसेपासेको जीवनस्तरमा ठुलो परिवर्तन ल्याए पनि आम नागरिकहरूको जीवनमा परिवर्तन आउन नसकेको तथ्य जगजाहेर नै छ। तसर्थ लोकतन्त्र शासकहरूको सुख सुविधाका लागि होइन कि सर्वसाधारणको सर्वोपरि हित र कल्याणका लागि समर्पित भएमा मात्र सुखी, खुसी, संवृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने विवेकशील साझा पार्टीको ठहर हो। यसका लागि ‘नेपाली मोडलको कल्याणकारी लोकतन्त्र’को अवधारणाबारेमा यो पार्टीले राष्ट्रिय स्तरमा व्यापक छलफल चलाइरहेको छ।

समन्वयात्मक बजार अर्थतन्त्र भनेको के हो?

समन्वयात्मक बजार अर्थतन्त्रले खुला बजार प्रणालीको सृजनशीलता, यसका कमजोरी र समाजका चासोबिच समन्वय कायम गरी अर्थतन्त्रलाई प्रभावकारी बनाउने कार्यलाई आत्मसात् गरेको हुन्छ। यो सिद्धान्तले उद्यमशीलता र उत्पादनशीलताका लागि खुला बजार प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै वैज्ञानिक नियमन पद्धतिमार्फत खुला बजार प्रणालीका कमीकमजोरीलाई निराकरण गर्दछ। आर्थिक गतिविधि तथा त्यसका नतिजालाई छिटो, छरितो प्रभावकारी, उत्पादनमुखी र व्यापक बनाउनका लागि राज्यको समन्वयकारी भूमिकामा विशेष जोड दिँदा अर्थतन्त्र बढी चलायमान हुन्छ र अहिलेको सिन्डिकेट, कार्टेलिंग, बिचौलिया र दलाली चरित्रलाई अन्त्य गर्दछ। यसको नमुनाका रूपमा स्विडेन, जर्मनी तथा जापानको अर्थतन्त्रलाई लिन सकिन्छ।

सहभागितामूलक लोकतन्त्र भनेको के हो?

लोकतन्त्रको दिगो विकासका लागि लोकतान्त्रिक अभ्यास राजनीतिक, आर्थिक र सामाजिक रूपमा परिणाममुखी हुनु पर्दछ। यसका लागि आम नागरिकको भूमिका निर्वाचनका बेला प्रतिनिधि चयन गर्नेमा मात्र सीमित नभएर पार्टी वा राज्य सञ्चालनमा पनि अधिकतम रूपमा प्रयोग हुनुपर्छ। नागरिक नै सार्वभौम र सर्वशक्तिमान् हुन्, कुनै सरकार, पार्टी वा तिनका नेता होइनन् भन्ने मान्यताले मात्र परिणाममुखी लोकतन्त्रलाई संस्थागत गर्न सक्दछ। उम्मेदवार चयनमा अवलम्बन गरिने प्राथमिक निर्वाचन प्रणाली, फिर्ता बोलाउन सक्ने अधिकार, कुनै पनि उम्मेदवार उपयुक्त छैनन् भन्न पाउने अधिकारयुक्त राजनीतिक प्रणालीले नागरिकहरूलाई जिम्मेवार र सशक्त बनाउँछ। निर्वाचित जनप्रतिनिधि, सरकारमा रहने व्यक्ति तथा पार्टीका कार्यकर्ता प्रभावशाली हुने र नागरिक निरीह हुने अहिलेको अवस्थालाई सहभागितामूलक लोकतन्त्रको अभ्यासले परिवर्तन गर्ने र नागरिकहरूलाई वास्तवमै सार्वभौम भएको अनुभूति गराउने अपेक्षा गर्न सकिन्छ।

कल्याणकारी राज्य कस्तो हुन्छ?

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकालाई आवासको व्यवस्था तथा सार्वजनिक यातायातमा राज्यको प्रत्यक्ष भूमिका र दायित्व हुनै पर्छ। हाम्रो विगतको राज्य संरचना र सञ्चालन पद्धतिमा सबै नेपालीले समान र न्यायपूर्ण अवसर नपाएको सन्दर्भमा कल्याणकारी राज्यले सामाजिक न्यायका हकमा अहम् महत्त्व राख्छ। राज्यका नीति र कार्यक्रममा सामाजिक न्यायका आधारभूत मान्यता प्रतिविम्ब हुन सकेनन् भने समग्र राज्य संयन्त्र अभिजात वर्गको पृष्ठपोषकका रूपमा स्थापित हुन्छ र समाजमा आर्थिक, सामाजिक असमानता बढ्दै जान्छ। तसर्थ अवसरको अन्तिम बिन्दुमा आलंकरिक समावेशिता खोज्नु भन्दा आधारभूत अवसर नै समतामूलक रूपमा वितरण गरी पिछडिएका वर्ग, लिङ्ग, र जातीको दिगो, द्रुत र सम्मानजनक उत्थानमा यो पार्टी प्रतिबद्ध छ। अवसरको वितरणमा पिछडिएका जात र समुदायमा पनि तल्लो आर्थिक वर्ग र समूहलाई समावेशिताको पहिलो प्राथमिकतामा राखिने छ।

पार्टीको केन्द्रीय कार्यालय

केन्द्रीय कार्यालय
बखुण्डोल, ललितपुर, नेपाल
पोष्ट बक्स नं. ५८५३, काठमाडौँ
फोनः ०१ ५४३६०६२
ईमेल: [email protected]
फेसबुक: facebook.com/BSP.org
ट्विटर: @BibekshilSajha
युट्युव: youtube.com/channel/UC6hTe_K-pTwhTi9pN3ekihA
वेबसाइट: www.bsp.org.np

विवेकशील साझा पार्टीबारे संक्षिप्त रूपमा जानकारी दिने उद्देश्यले तयार गरिएको यस पेजमा लेखिएका विषयहरूमा तपाइको प्रतिक्रिया, सुझाव तथा सल्लाहको अपेक्षा गर्दछौँ। तपाईँहरूको सल्लाह र सुझाव अनुसार यसमा परिमार्जन गर्दै लगिनेछ।

प्रादेशिक कार्यालयहरू

छिट्टै अपडेट गर्नेछौँ।

This website uses cookies to improve your web experience.