
विवेकशील साझाको माग- अपराध संहिता संशोधन गरेरै भएपनि मिटरब्याजीलाई कारबाही गरौँ
काठमाडौं । विवेकशील साझा पार्टीले मिटरब्याजीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रूपमा देखिन थालेको उल्लेख गर्दै पार्टीले ‘विशेष कार्यान्वयन अभियान’ नै चलाएर पीडकहरूलाई कारबाहीको माग गरेको हो ।
पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ— मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रूपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरूलाई कानूनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरूमार्फत ‘विशेष कार्यान्वयन अभियान’ नै चलाएर मिटरब्याजीहरूलाई कानूनी दायरामा ल्याउनसमेत हामी सरकारसँग जोडदार माग गर्दछौँ ।
देशका नागरिकले राज्यलाई आफ्ना मागहरू सुनाउन सङ्घीय राजधानी काठमाडौंमै धाउनुपर्ने बाध्यात्मक अवस्थाले संघीयताको कार्यान्वयन फितलो भएको देखाएको पार्टीको ठहर छ । ‘गाँउ-गाँउमा सिंहदरवारलाई तुरुन्तै बलियो कानुन बनाएर स्थानीय तह तथा प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने अनि जवाफदेही बनाउनेतर्फ पनि सरकारले सोच्न आवश्यक छ,’ पार्टीले भनेको छ ।
पार्टीले मिटरब्याजीलाई कारबाही गर्ने गरि कानून बनाउने र मिटरब्याज पीडितहरूसँग वार्ता गर्ने सरकारको मंगलबारको निर्णय भने स्वागतयोग्य भनेको छ ।
१२ दिन लगातार बर्दिबासबाट हिँडेर आएका मिटरब्याज पीडितहरू अहिले काठमाडौंमा आन्दोलनरत छन् ।
Source: Nepalviews