Skip links

‘अखण्ड भारत’को नक्सा सच्याउन भारतलाई विवेकशील साझाकाे आग्रह

काठमाडाैं– भारतले आफ्नो नयाँ संसद भवनमा राखेकाे ‘अखण्ड भारत’को नयाँ नक्सा प्रति विवेकशील साझा पार्टीले भर्त्सना गरेकाे छ।

भारतले हालै नेपालकाे कपिलवस्तु, लुम्बिनी जस्ता ऐतिहासिक भूभागलाई समेटेर ‘अखण्ड भारत’को नक्सा उसकाे संसदमा राखेकाे छ।

बुधबार अध्यक्ष समिक्षा बास्कोटाद्धारा एक विज्ञप्ति जारी गर्दै तत्काल नक्शा सच्याउन भारत सरकारसँग आग्रह गरेकाे छ।

‘नेपालका महत्वपूर्ण भूभाग लुम्बिनी र कपिलवस्तु समेटेर ‘अखण्ड भारत’को नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रबृत्तिको घोर भर्त्सना गर्दै तत्काल नक्शा सच्याउन विवेकशील साझा पार्टी भारत सरकारसँग आग्रह गर्दछ।’ विज्ञप्तिमा भनिएकाे छ।

त्यस्तै विवेकशील साझाले नेपाली भूमिमा भारतले गरेका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नलाई दह्रो अडानसहित कूटनीतिक पहलकदमी लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेकाे छ।

पार्टीले नेपाललाई दूरगामी असर पर्ने कुनै पनि सन्धी, सम्झोैता नगर्न प्रधानमन्त्री दाहाललाई आग्रह समेत गरेकाे छ।

प्रेस विज्ञप्ति:

अखण्ड नेपालको भूभाग भारतको संसद भवनको नक्सामा राखिनु नेपाली सार्वभौम सत्ता माथिनै प्रहार: विवेकशील साझा

छिमेकी राष्ट्र भारतले हालै आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भूभागलाई समेत राखेर बनाईएको ‘अखण्ड भारत’को नयाँ नक्सा प्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा अखण्ड नेपालका विशेष भूभाग भारतीय नक्सामा राखिनु सार्वभौम नेपाल राष्ट्रमाथिकै ठाडो प्रहार भएको विवेकशील साझा पार्टीको ठहर छ।

नेपालका महत्वपूर्ण भूभाग लुम्बिनी र कपिलवस्तु समेटेर ‘अखण्ड भारत’को नक्सा संसद भवनमा राख्ने भारतीय हेपाहा प्रबृत्तिको घोर भर्त्सना गर्दै तत्काल नक्शा सच्याउन विवेकशील साझा पार्टी भारत सरकारसंग आग्रह गर्दछ।

नेपाली भूमिमा भारतले गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नलाई दह्रो अडानसहित कूटनीतिक पहलकदमी लिन भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विवेकशील साझा पार्टी विशेष आग्रह गर्दछ।

भारत अतिक्रमित नेपालको भुमी लिपुलेक–लिम्पियाधुरा -कालापानी र अतिक्रमित अन्य भुभाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीको पूर्ववत अडान पुन: स्मरण गराउँदछौ ।

पार्टी, अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति विरुद्ध दह्रोसंग प्रतिवाद गर्न र नेपाललाई दूरगामी असर पर्ने कुनै पनि सन्धी, सम्झोैता नगर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्दछ।

समिक्षा बास्कोटा
अध्यक्ष
विवेकशील साझा पार्टी
१७ जेठ २०८०

Source: NepaliHeadline

Leave a comment

This website uses cookies to improve your web experience.