Skip links

नेपालको भू-भाग भारतको संसद् भवन नक्सामा राखेकोप्रति विवेकशील साझाको आपत्ति

काठमाडौँ । विवेकशील साझा पार्टीले भारतले नयाँ संसद् भवनमा कपिलवस्तु, लुम्बिनी लगायतका नेपालका भू-भागलाई राखेर बनाएका आपत्ति जनाएको छ ।

बुधबार विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै ‘अखण्ड भारत’को नयाँ नक्साप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा अखण्ड नेपालका विशेष भू-भाग भारतीय नक्सामा राखिनु सार्वभौम नेपाल राष्ट्रमाथिकै ठाडो प्रहार भएको विवेकशील साझा पार्टीको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालका महत्त्वपूर्ण भूभाग लुम्बिनी र कपिलवस्तु समेटेर ‘अखण्ड भारत’को नक्सा संसद् भवनमा राख्ने भारतीय हेपाहा प्रवृत्तिको घोर भर्त्सना गर्दै तत्काल नक्सा सच्याउन विवेकशील साझा पार्टी भारत सरकारसँग आग्रह गर्दछ।’

यस्तै विवेकशील साझा पार्टीले नेपाली भूमिमा भारतले गरिआएका संरचना निर्माण कार्य तत्काल रोक्न दह्रो अडानसहित कूटनीतिक पहलकदमी लिन भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,’भारत अतिक्रमित नेपालको भूमि लिपुलेक–लिम्पियाधुरा-कालापानी र अतिक्रमित अन्य भू-भाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीको पूर्ववत् अडान पुनः स्मरण गराउँदछौं ।’

विवेकशील साझा पार्टीले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भारतको मिचाहा प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न र नेपाललाई दूरगामी असर पर्ने कुनै पनि सन्धि, सम्झौता नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ ।

Source: RatoPati

Leave a comment

This website uses cookies to improve your web experience.