
नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्याउन विवेकशीलको माग
काठमाडौँ — विवेकशील साझा पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । सो पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै दलीय पूर्वाग्रहका कारण दोषीलाई उन्मुक्ति दिइए भयावह अवस्था सिर्जना हुन सक्ने बताएकी छिन् ।
‘ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष संसारका भ्रष्ट मुलुकहरूको अग्रसूचीमा नेपाल उक्लिरहेको तथ्यांकबीच नेपाल नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वमै लज्जास्पद रुपमा चित्रण भइरहेकोप्रति हाम्रो विशेष ध्यानाकर्षण भएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न उच्च पदस्थ कर्मचारी र राजनीतिक दलका उच्च तहका नेताहरूसम्मलाई छानबिनको दायरामा ल्याएर प्रशंसनीय काम गरिरहेकोप्रति सरकारलाई विशेष धन्यवाद,’ उनले विज्ञप्तिमार्फत भनेकी छिन्, ‘यो प्रकरणलाई सार्थक टुंगोमा पुर्याई दोषीलाई कारबाही गर्न कुनै प्रकारको दबाब, प्रभाव र राजनीतिक सौदाबाजीमा नपर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दै निरन्तर खबरदारी गरिरहने प्रण गर्दछ ।’
उनले नक्कली शरणार्थी प्रकरणमा उच्च नेता, कर्मचारी र उनीहरूका आफन्तसमेत प्रत्यक्ष जोडिएकाले नेपाली परम्परागत राजनीतिको कुरूप तस्बिरलाई नागरिकहरूले कसरी सहिरहेका छन् भन्ने टड्कारो सवाललाई नजरअन्दाज नगर्नसमेत आग्रह गरेकी छिन् ।
विवेकशील साझाले नक्कली शरणार्थी प्रकरणलाई सार्थक र परिणाममुखी निष्कर्षमा पुर्याई जनमानसमा सकारात्मक सन्देश दिएर भ्रष्टाचारका अन्य चर्चित काण्डहरू वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस, सत्तरी करोड, सीसीटीभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरणलगायतका भ्रष्टाचार काण्डलाई समेत गहिरो छानबिन गरी दोषीलाई कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न माग गरेको छ ।