
रास्वपाको हतारले सदनमा प्रतिपक्षी नै कोही छैन
काठमाडौँ– स्थापनाको छोटो अवधिमै टुटफुटको स्थितिबाट गुज्रिएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले अब भने पाटी बलियो हुने दाबी गरेकी छन्। पूर्व अध्यक्ष रविन्द्र मिश्र बाहिरिएपछि पार्टी नेतृत्वको जिम्मेवारी सम्हालेकी उनी केही दिनअघि सम्पन्न पार्टीको महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष बनेकी हुन्।
महाधिवेशनले बास्कोटाको नेतृत्वमा ९ सदस्यीय पदाधिकारी गठन गरेको छ। १७ सदस्यीय सचिवालय र ५१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिने गरी काम भएको छ।
संगठन निर्माण र नागरिकमा मुद्धा स्थापित गर्दै आगामी निर्वाचनमा सदनमा पुग्ने पार्टीको लक्ष्य रहेको अध्यक्ष बास्कोटाको भनाइ छ।
राष्ट्रिय राजनीतिमा अन्य वैकल्पिक शक्तिकाबीच विवेकशील साझाको आवश्यकता र औचित्य, पार्टीले अंगीकार गर्ने मूल एजेन्डा र वैचारिक कार्यगत एकता र ध्रुवीकरण र पार्टी र राजनीतिका चुनौतिबारे अध्यक्ष बास्कोटासँग देश सञ्चारको लागि ईश्वरी बरालले गरको कुराकानीको सम्पादित अंश।
कुन योग्यताले तपाईं पार्टी अध्यक्षमा सर्वसम्मत रुपमा दोहोरिनुभयो?
संकटको बेला जसले नेतृत्व लिएको हुन्छ त्यही नै मुख्य कुरा हो। हाम्रो पार्टीमा पूर्व अध्यक्ष रविन्द्र मिश्रले राजिनामा दिएपछि नेतृत्व गर्ने व्यक्तिको आवश्यकता पर्यो। पार्टी सकियो भन्ने स्थितीमा यसलाई पुनर्जीवन दिनुपर्छ भनेर पार्टीको नेतृत्व लिन म आएँ। पूर्व अध्यक्ष मिश्र पार्टीबाट बाहिरिएपछि मैले नेतृत्व लिएको ६ महिनाको अवधिमा दुई वटा मात्रै प्रतिवद्धता गरेको थिएँ। ‘एउटा बोली र व्यवहार उस्तै हुनुपर्छ, अर्को जुनै स्थितिमा भए पनि हामी निर्वाचनमा जान्छौँ।’
मेरो प्रतिवद्धताप्रति म आफैले आँट गरेँ। साथीहरुले पनि साथ दिएपछि पार्टीको निर्वाचन सफल भएको हो। सायद मलाई मूल्यांकन गर्ने कडी त्यही नै भयो होला। संकटमा पार्टी नै नरहने अवस्थामा पार्टी जोगाएको हिसाबले साथीहरुले मलाई फेरि पनि नेतृत्वमा रहेर काम गर्ने मौका दिनुभयो।
‘संकट’ शब्द राष्ट्रिय राजनीतिमा धेरै प्रयोग हुने शब्द हो, पार्टीमा पनि संकट आएको थियो भन्नुभयो, विवेकशील साझामा के संकट आइलागेको थियो र?
राजनीतिक दलमा संकट विचार र एजेन्डा नमिल्दा तथा संगठनमा रहेर काम गर्न सकिएन भने आउँछ। विवकेशील साझाको कुरा गर्नुपर्दा वि.स २०७४ पछि पार्टी फुट भयो, फुट भइसकेपछि विवेकशील साझामा आशा जगाएको थियो तर त्यो आशामा काम गर्न सकिएन। त्यसपछि काम गर्न खोज्दै गर्दा पनि विभिन्न कारणले गर्दा रोकियो। फेरि जुट भएर आएर हामी अगाडि बढ्छौँ भन्दा वैचारिक विमतिको कारणले पनि काम गर्न सकिएन। त्यो वैचारिक विमति यसरी लम्बिएर गयो कि सञ्चारमाध्यममा छरपस्ट भए। महाधिवेशनबाट विमति टुंग्याउनुपर्नेमा त्यसो हुन सकेन।
विमति बाहिर ल्याउँदाको उपज दुई बर्षदेखि पार्टी र राजनीतिमा केही पनि काम हुन सकेनन्। संगठन, आन्दोलन र कुनै पनि एजेन्डाहरुमा छलफल भएन। पार्टी एउटा तलाउ जस्तै बनेर काम नगर्ने स्थितिमा पुग्यो। जिम्मेवार नेताहरुलाई काम दिन सकिएन,केन्द्रीय सदस्यहरुको धेरै बैठक बस्न सकेन। यही संकटको बाबजुद नै हामी मुलुकको निर्वाचनमा होमिन पर्यो, नतिजा राम्रो आएन। नेताहरुले पार्टी छोड्ने स्थिति भयो।
विमति राख्ने नेताहरु बाहिरिएका छन्, अब चाहिँ पार्टीमा सहमति हुन्छ?
पार्टीमा सधैँभरी सहमति हुन्छ भनेर सोच्नु हुँदैन। तर हाम्रो लक्ष्य ठूलो छ भने त्यो लक्ष्यको लागि के के काम गर्ने भनेर न्युनतम कुराहरुमा भने स्पष्ट हुनुपर्छ। एउटा परिवारभित्रै फरक फरक विचार हुन्छ तर परिवारभित्र भएको फरक मतले हामी घर त भत्काउँदैनौ नि। अब गर्नुपर्ने त्यही हो हाम्रो विचार फरक हुन सक्छ तर हामीले लिएको लक्ष्य एउटा भएपछि त्यो लक्ष्य प्राप्तिको लागि गर्नुपर्ने न्यूनतम कामहरु गर्नुपर्छ। विचारको द्वन्द्व छ भने हामी घरभित्र बसेर त्यहीँ समाधान गर्छौँ। राजनीतिक दल विचारकै कारण सहमतिमा परिस्कृत भएर आउने हो, जुन हाम्रो महाधिवेशनले पनि देखाइदिएको छ।
महाधिवेशनले तपाईँको नेतृत्वमा ९ सदस्यीय पदाधिकारी चयन गरेको छ, छनोटको आधार के हो?
हिजोदेखि विवकेशील साझाको अभियानलाई यहाँसम्म ल्याउने व्यक्तित्वहरु को को हुनुहुन्छ त? को-कोले यसमा प्रमुख भूमिका खेल्नुभएको छ, यसलाई अझै एक स्टेप अगाडि लिएर जाँदा कसले राम्रो प्रस्तुति दिन सक्नुहुन्छ? हिजोदेखि प्रतिवद्ध भएका साथीहरु यस्तो बेलामा पनि निर्वाचनमा होमिएका छन् भनेर पार्टीमा गरेको योगदानको आधारमा नै यो एउटा नयाँ टिम बनेको छ।
जुन टिमले चाहीँ अब पाँच बर्ष काम गर्नेछ। म यो टिमप्रति एकदमै उत्साहित छु।
योगदान दिएका व्यक्ति भनेका पार्टीका पूर्व अध्यक्ष मिश्रको कारवाहीमा परेका नेता, पार्टी त्यागेर फेरि पार्टीमै फर्किएका नेता हुन् वा को हुन्?
एउटा घटनालाई मात्रै हेर्न हुँदैन। पार्टीमा वैचारिक विमति भयो, पार्टीबाट बाहिरिनुभयो तर अर्को दल मा त जानुभएन नि त। राजनीतिभित्रै रहनुभयो। कहीँ न कहीँ यो पार्टीको माया छ, उहाँहरु पनि राजनीतिकै वरिपरि हुनुहुन्छ भन्ने ढंगबाट बुझ्नुपर्छ। हिजोका दिनमा ती साथीहरुले सकरात्मक सन्देश पनि दिनुभएको थियो नकरात्मक कुरा मात्रै हेर्नु हुँदैन। दुवै मिलाएर जिम्मेवारी दिइएको हो।
राप्रपामा जानुभएका पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रलाई पनि फर्काउनुहुन्छ?
मिश्र आफ्नो योजनामा स्पष्ट हुनुहुन्छ। उहाँले एजेन्डा मिल्ने पार्टी भेटिसक्नुभएको छ। एजेन्डै मिल्ने पार्टी पाइसकेपछि उहाँ विवेकशील साझामा किन फर्किनुहोला ?
वैकल्पिक शक्तिको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पछिल्लो राजनीतिक गतिविधिलाई कसरी समीक्षा गर्नुहुन्छ?
एकैचोटी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको होइन। १० बर्ष विवेकशील साझाको जुन लिगेसी थियो नागरिकहरुले मत क्रान्ति २०७४ सालमा नै गरेका हुन्। यद्यपि त्यो मत क्रान्तिले हामीलाई राष्ट्रिय पार्टी बनाउन सकेन तर बागमती प्रदेशमा तीन जना सांसद बनाइदियो र पाँचौ राजनीतिक दल बनाइदियो। तर नागरिकले एउटा गतिलो फोरम खोजेको बेला विवेकशील साझाले आफ्नै कारणले त्यो फोरम गुमाएको थियो। रास्वपा उदाएको बेला नागरिकहरुले पुराना दलहरुसँगको आक्रोश मत क्रान्त्रिमार्फत रास्वपाले पाएको हो। भोलिको दिनमा रास्वापाले सोही मत पाउँछ भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन। नागरिकले एउटा नयाँ वैकल्पिक शक्तिले बोली र व्यवहारमा एउटै गरोस् भनेर खोजेका हुन्। आज आएको मत भोलि दोब्बर हुनसक्छ। तर भोलिका दिनमा रास्वपाले यही मत ल्याउँछ भन्ने छैन। नागरिकहरुले भोट दिने तरिका पनि बदलिरहेका छन्। यो आवश्यकतामा हामीले काम गर्न सक्यौँ भने मत हामीतिर आउँछ। हामी बलियो शक्ति भएर उदाउँछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको बिषयमा बोल्ने बेला भएको छैन। राजनीतिक प्रस्टता र संगठन निर्माणबारे के गर्नुहुन्छ, हेर्दै जाउँ। सदनमा प्रतिपक्षी भएर बस्न जनताले पठाएका थिए तर सरकारमा जान रास्वपाले हतार गरेको हो। रास्वपाको हतारका कारण अहिले सदनमा बलियो प्रतिपक्षी कोही पनि छैन।
पार्टीको महाधिवेशनमा बोलाइएका अतिथिका कारण पनि विवेकशील साझाको आलोचना भएको छ, प्रमुख दलका प्राय दोस्रो तहका नेता बोलाइयो, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई बोलाइएन, तपाईहरुको पार्टीको पूर्व अध्यक्षले प्रवेश गरेका कारण राप्रपालाई महाधिवेशनमा नबोलाएको हो?
यसलाई एकदम फराकिलो ढंगले हेर्दा खेरि हामीले एकदमै छोटो समयमा महाधिवेशन गरेका थियौँ। केही गल्ती कमी कमजोरीहरु भए होलान् भनेर स्वीकार्नुपर्छ। कुनै पार्टीलाई निषेध गर्ने तहको हाम्रो सोचाइ होइन। तर त्यहाँ नेर वक्ताहरु कस्तो बोलाउँदै जाने अहिले यो एजेन्डामा को को बोलाउँदा राम्रो हुन्छ भन्ने हिसाबले बोलाइयो कहीँ कतै कमजोरी भएका छन् भने भोलिको दिनमा हामी त्यसलाई सुधारेर अघि बढ्छौँ।
सचिवालय र केन्द्रीय समितिले कहिले पूर्णता पाउँछ?
यही दिनमा सक्छौँ भनेर दिन तोकिएको छैन। ५१ सदस्यीय केन्द्रीय समिति र १७ सदस्यीय सचिवालय गठन हुँदैछ। यथासक्य छिटो पूर्णता दिन्छौँ। अरु कामहरु पनि गर्नुपर्ने छ।
प्रदेश र जिल्ला अधिवेशन कहिले गर्ने तयारी छ?
हाम्रो मुख्य काम भनेको महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो त्यो पुरा भयो, अब प्रदेश र जिल्ला अधिवेशन गर्नुपर्ने छ। मोटामोटी रुपमा भन्नुपर्दा सातै प्रदेश र जिल्लाको अधिवेशन सक्ने योजना छ।
केन्द्रीय कमिटीको बैठक बसिसकेपछि धेरै कार्यक्रम र योजनाहरु सार्वजनिक हुन्छन्। एक बर्षभित्रमा यो सबै टुंग्याउनुपर्छ भन्ने छ।
भिडियो हेर्नुहोस्:
अब त विवेकशील साझा मात्रै वैकल्पिक शक्ति हो भन्न मिल्छ र?
अन्य वैकल्पिक शक्तिको हकमा कुरा गर्नुपर्दा केही नयाँ दलहरु उदाएका छन्, तर वैकल्पिक भनेको के हो भनेर हामीले बुझ्नुपर्छ, जुन व्यवहार दलहरुले देखाइरहनुभएको छ सत्ताप्रतिको माया, मोह तथा राजनीतिमा म नभए केही पनि हुँदैन भन्ने सोचबाट मुक्त भइयो भने वैकल्पिक दल हुन्छ। अब वैकल्पिक दलको व्याख्याको पनि जरुरी छ।
वैकल्पिक दल भनेको सत्तामा पुग्ने मात्रै होइन हामी जस्तो सडकमा नै बसेर पनि मुद्धाहरु स्थापित गर्न सकिन्छ। आन्दोलनका प्रक्रियाहरु हामीले स्थापित गरेको हो। टायर बालेर नै आन्दोलन गर्नुपर्छ भन्ने मान्यताको अन्त्य गर्यौँ। संसदमा मात्रै पुग्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्कन पर्यो। पद मात्रै पनि सबै थोक होइन।
सदनमा पुग्नु मात्रै राजनीति होइन भन्दै गर्दा तपाईहरु सदनमा पुग्न नसकेर आएको तर्कको रुपमा बुझ्न मिल्छ?
राजनीति गर्ने सवै व्यक्तिहरु सदनमा पुगेका हुँदैनन्। कसैले संगठन बनाइरहेको हुन्छ। राजनीतिक दलका लाखौँ सदस्य हुन्छन् के ती सबै सदस्य सदनमा पुगेका हुन्छन्? सदनमा सीमित व्यक्ति पुग्छन् अन्यले राजनीति गर्न छोड्दैनन्। हामीले व्यवस्था सुधार गर्न खोजेको हो। व्यवस्था सुधार सदन बाहिर बसेर पनि गर्न सकिन्छ। भ्रष्टाचार विरोधी अभियान र सुशासनका मुद्धा हाम्रा मुख्य मुद्धा हुन् यी सदन बाहिरै बसेर पनि उठाउन सकिन्छ। राजनीतिमा राज्य सत्ता र पार्टी सत्ता हुन्छ।
सडकबाटै एजेन्डा स्थापित गराउने कि सदनमा पनि पुग्ने योजना छ?
सत्तामा पुगेर नीतिगत सुधार गर्ने लक्ष्य छ। आगामी निर्वाचन (२०८४) मा सदन पुग्ने हाम्रो लक्ष्य हो। सोही लक्ष्य भेट्याउन प्रतिवद्ध भएर काम गछौैँ। नागरिकको मत र मन जितेर हामी सत्तामा पनि पुग्छौँ। किनभने सत्तामा नपुगी धेरै कुराहरुमा सुधार ल्याउन सक्दैनौँ। शिक्षा,स्वास्थ्य, दिगो अर्थतन्त्र र आत्मनिर्भरको हाम्रो लक्ष्य छ यो उद्देश्य पुरा गर्न पनि हामी सत्तामा जानुपर्ने हुन्छ। नागरिकको मुद्दा बोल्दिने पार्टी कुनै छैन, अब हामी बन्छौँ। २०८४ को चुनावलाई लक्षित गरेर काम गर्नेछौँ। ठूला कुरा गरेर सीमित क्षेत्रको मात्रै मुद्धा बोल्दिने दलहरु छन्। नागरिकको अभिभावकत्व राज्यले लिनुपर्छ तर लिएको छैन। विवेकशील साझाले त्यो अभिभावकत्व लिनेछ।
विवकेशील साझा स्थापनाको छोटो अवधिमै धेरै टुटफुट भएको छ। पार्टी अध्यक्ष बन्नुभयो अझै त्यो शिलशिला जारी राख्नुहुन्छ कि रोक्नुहुन्छ?
अब पनि हामी सुध्रिएनौँ भने राजनीति नगरे हुन्छ। यो मेरो र अन्य साथीहरुको हकमा हो। एउटा राजनीतिक दलले २०/३० बर्षमा भोग्ने जटिलता हामीले सबै छोटो अवधिमा नै भोग्यौँ। हामी टुट्दा अन्य दल र व्यक्तिलाई फाइदा हुने रहेछ भन्ने पार्टीका सवै साथीहरुलाई थाहा छ। हामी एक जुट हुनुको विकल्प छैन। हामीले हामीलाई नै सुधार गर्नुपर्छ, विचार परिस्कृत बनाउनु पर्छ। यो टिम महाधिवेशनबाट चुनिएको टिम हो, तसर्थ फेरि सपना देखाएर एक अर्कामा लड्यौँ भने हामीले राजनीति नगरेपनि हुन्छ।
एजेन्डा मिल्नेसँग कार्यगत एकताको तयारी के छ?
पार्टीमा निष्क्रिय भएका,राजिनामा दिएका रिसाएका सबै साथीहरुलाई पार्टीमै फर्काउने प्रयास गर्छौँ। हाम्रै एजेन्डा बोकेर बाहिर बसेर राजनीति गरिरहेका दल र व्यक्ति सँग कार्यगत एकता र ध्रुवीकरणमा जान सकिन्छ। ९ सय भन्दा धेरै स्वतन्त्र उम्मेदवारहरु (गत निर्वाचनका) जो राजनीतिमा आउन चाहनुहुन्छ उपयुक्त स्थान भेट्नुभएको छैन। मूलधारको वैकल्पिक राजनीतिक शक्ति निर्माणमा हामी होमिन्छौँ।
Source: Deshsanchar