एकिकरण सम्झौता पत्र

रूपान्तरणकारी सुसंस्कृत वैकल्पिक राजनीतिप्रति जागरुक नागरिक, बौद्धिक समुदाय र दुवै पार्टीका शुभचिन्तकहरुको चाहानाको सम्मान गर्दै विवेकशील नेपाली दल र साझा पार्टीको बीचमा केही समयदेखि पार्टी एकताको लागी प्रयास हुँदै आएको थियो। उक्त प्रयासको लागी सहयोग गर्नु हुने नागरिक समाजका व्यक्तित्वहरु र प्रबुद्ध समुहको गहन भूमिकालाई धन्यवाद दिंदै,

राजनीतिक पद्धतिको निर्माण, राजनीतिक/आर्थिक/साँगठनिक एवं प्रशासनिक पारदर्शिता, क्षमताको आधारमा योग्य र इमान्दार व्यक्ति उपयुक्त ठाँउमा पुग्ने वातावरणको सिर्जना र संवैधानिक लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा आधारित राजनीतिद्वारा मुलुकको आर्थिक/सामाजिक रूपान्तरण गर्न,

नेपाली राजनीतिमा आवश्यक निष्ठा, पद्धति, उत्कृष्टता, पारदर्शिता, समानुभूति जस्ता मूल्य-मान्यतामा आधारित भएर जन सहभागितामुलक राजनीतिक संस्कारद्वारा नेपाली नागरिकका अपेक्षालाई यथासीघ्र सम्बोधन गर्न विवेकशील नेपाली दल र साझा पार्टी बीच एकीकरण गर्न सहमत भई यो ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छौं।

) केन्द्रीय समितिका सम्बन्धमा

१.    विवेकशील नेपाली दल र साझा पार्टी दुबैवाट सत्र/सत्र जना गरी चौंतिस जनाको केन्द्रीय समिति गठन गरिनेछ।

२.    प्रत्येक प्रदेशवाट कम्तिमा एक/एक जना प्रदेश संयोजकको भूमिकामा रहने गरी सात जना सदस्य केन्द्रीय समितिमा सामेल गरिनेछ। सो बारेमा अन्य निर्णय केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरी संयोजन समितिले गर्नेछ।

३.    केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरी संयोजन समितिले निर्णय गरे बमोजिम बढीमा दश जना ब्यक्तिहरूलाई केन्द्रीय समितिमा समावेशितालाई ध्यानमा राखी सम्मिलित गर्न सकिनेछ।

४.    माथि १, २ र ३ बुंदामा उल्लेख गरे बमोजिम पहिलो महाधिवेशन सम्मका लागि एकाउन्न जनामा नबढ्ने गरी यथाशक्य समावेशी केन्द्रीय समिति गठन गरिनेछ। नयाँ केन्द्रीय समितिको नामावली अनुशूची- १ बमोजिम रहेको छ।

) संयोजन समिति र नेतृत्वसम्बन्धमा

५.   विवेकशील र साझावाट चार/चार जनाको प्रतिनिधित्व रहेको एक संयोजन समिति गठन गरिनेछ। संयोजन समितिको नामावली अनुसूची- २ बमोजिम रहेको छ।

६.   केन्द्रीय समितिको सहमति वा अनुमोदनमा पार्टी र राजनैतिक गतिविधिको लागि आवश्यक पर्ने कार्यकारी, प्रशासनिक तथा राजनैतिक अधिकार संयोजन समितिले प्रयोग गर्नेछ।

७.   संयोजन समितिमा दुइ जना सहसंयोजक – श्री उज्वल बहादुर थापा र श्री रबिन्द्र मिश्र हुनेछन्।

८.    सहसंयोजकहरुको भूमिका संयोजन समितिले निर्धारण गरेबमोजिम हुनेछ।

९.    पार्टीको बैठकको अध्यक्षता श्री रविन्द्र मिश्रले गर्नेछन्।

(नोट: यो सम्झौता सार्वजनिक भए लगत्तै ‘सहसंयोजक’ शब्दको प्रयोगले ‘संयोजक’को पद चाहिँ खालि राखे‍को हो कि भन्ने भ्रम परेको देखियो। तसर्थ, पार्टीको केन्द्रीय समितिको बैठकले दुबै ‘सहसंयोजक’ लाई ‘संयोजक’ नै भन्ने निर्णय गरेको थियो।)

) पार्टीकोनाम, चुनाव चिन्ह लोगोको सम्बन्धमा

१०.   एकिकृत पार्टीको नाम ‘विवेकशिल साझा पार्टी’ (Bibeksheel Sajha Party) हुनेछ।

११.   विधानका प्रावधानहरुमा संशोधन वा परिवर्तन गर्नुपर्ने स्थिति आएमा संक्रमणकाल अवधिको लागी केन्द्रीय समितिले र महाधिवेशनपछि आवधिक महाधिवेशनले गर्नेछ।

१२.    हाल साझा पार्टीले प्रयोग गरेको तराजुलाई विवेकशील साझा पार्टीको लोगो र चुनाव चिन्हको रूपमा अपनाईनेछ।

) साँगठनिक संरचना

१३.   परम्परागत राजनीतिमा देखिएको सांगठनिक विकृतिहरुलाई निराकरण गर्न आम जनसमुदायमा आधारित उपयुक्त साँगठनिक संरचना निर्माण गरिनेछ। पार्टीभित्र लोकतन्त्र र उत्तरदायित्वको सिद्धान्तमा विश्वास गर्दै निर्वाचन लगायतका सवालमा ‘हाम्रा’ नभएर ‘राम्रा’ मान्छेलाई स्थान दिनका लागि पार्टी सदस्यहरुको प्रत्यक्ष सहभागितामा आधारित ‘प्राईमरी’ निर्वाचनको अवधारणालाई अंगिकार गरिनेछ। यस विषयमा विस्तृत नीतिगत निर्णय संयोजन समितिद्वारा गरिनेछ। विवेकशील साझा पार्टीको साँगठनिक संरचना आवश्यकता अनुसार परिमार्जन गर्दै लगिनेछ र पहिलो महाधिवेशनले तय गरे बमोजिम हुनेछ।

१४.   संयोजन समितिले यस सम्झौतापत्र र केन्द्रीय समितिले तोकेबमोजिमको अधिकार प्रयोग गर्नेछ। केन्द्रीय समितिले मूलत: नीतिगत सवालमा बिधायकी वा तोकिएको अन्य कार्यकारी अधिकार प्रयोग गर्नेछ।

१५.   पार्टीको महत्वपूर्ण अंगको रूपमा रहने एक स्वायत्त अनुशासन आयोगले पार्टी नेतृत्व र सदस्य उपर अनुशासनको आवश्यक कारवाही गर्ने सम्बन्धमा न्यायिक अधिकार प्रयोग गर्नेछ। हाललाई नामाकरण गरिएको यस अनुशासन आयोगको उपयुक्त नाम संयोजन समितिले हेरफेर गर्न सक्नेछl

१६.   पहिलो महाधिवेशन नहुन्जेल सम्मका लागि पार्टीको साँगठनिक संरचना अनुसूची-३ बमोजिम हुनेछ।

१७.   अनुसूची-३ मा उल्लेखित ढाँचामा केन्द्रीय समितिले अनुमोदन गर्ने गरी संयोजन समितिले आवश्यकता अनुसार परिमार्जन गर्न सक्नेछ।

१८.   संयोजन समितिले प्रबुद्ध नागरिक समुह (Eminent Persons Group) स्थापना गर्न सक्नेछ। संयोजन समितिले मागेको विषयमा मात्रै सो समुहले आवश्यक सल्लाह र सुझाव दिनेछ।

१९.   प्रदेश समिति लगायत अन्य संरचनाहरुको तर्जुमा केन्द्रीय समितिले निर्णय गरे बमोजिम हुनेछ।

) पार्टी सदस्यताको सम्बन्धमा

२०.   हाल विवेकशील एंव साझाका सदस्यहरूलाई के कसरी विवेकशील साझा पार्टीको सदस्यता दिने भन्ने सम्बन्धमा संयोजन समितिले निर्णय गरे बमोजिम हुनेछ।

२१.   नयाँ सदस्यका सम्बन्धमा दुवै पार्टीद्धारा निर्मित कार्यदलले व्यवस्था गरेको नयाँ विधान बमोजिम हुनेछ।

२२.   सदस्यको प्रकार र श्रेणी एउटै हुनेछ। सदस्यको परीक्षणकाल र प्रक्रियाका बारेमा नयाँ विधानले व्यवस्था गरे बमोजिम हुनेछ।

) आगामी निर्वाचनका सम्बन्धमा

२३.   आगामी निर्वाचनको लक्ष्य, तयारी, कार्यविधि एवं उमेदवारीका सम्बन्धमा संयोजन समितिले निर्णय गरे बमोजिम हुनेछ।

२४.   निर्वाचनको लागि श्रोत संकलन तथा परिचालन कार्यविधि संयोजन समितिले निर्णय गरे बमोजिम हुनेछ।

) विधान घोषणापत्र सम्बन्धमा

२५.   सम्झौतामा हस्ताक्षर भए लगत्तै आवश्यक कार्यदल गठन गरी विधान र घोषणापत्र मस्यौदाको कार्य यथाशिघ्र सम्पन्न गरिनेछ।

२६.   विधान र घोषणापत्र मस्यौदा गर्दा विवेकशील र साझाका विद्यमान विधान, घोषणापत्र र यो सम्झौतालाई आधार बनाईनेछ।

२७. विधान र घोषणापत्रलाई विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि निर्वाचन आयोगमा नयाँ दलको रुपमा पार्टी एकीकरणको आवश्यक प्रक्रिया पूरा गरिनेछ।

) कार्य दलको संबन्धमा

२८.   आवश्यक पर्ने कार्यदलहरू संयोजन समितिले गठन गर्न सक्नेछ।

२९.   त्यस्ता कार्यदलहरूको काम, कर्तव्य र अधिकार संयोजन समितिले तोके बमोजिम हुनेछ।

) एकीकरणको संबन्धमा

३०.    संयोजन समितिले आवश्यक ठानेको उपयुक्त समयमा पार्टी एकताको सबै प्रक्रियागत ‘माइन्युट’ सहित विवेकशील साझा पार्टी नामको एकीकृत पार्टी निर्माण गरिएको जानकारी निर्वाचन आयोगमा दिइनेछ।

३१.   विवेकशील साझा पार्टी दर्ता भएपछि विवेकशील र साझा दुबै पार्टीको सम्पूर्ण धन, सम्पत्ति, जायजेथा एवं दायित्व विवेकशील साझा पार्टीमा हस्तान्तरण गरिनेछ।

३२.   विवेकशील साझा पार्टीको नाममा वैंकमा खाता खोली पार्टीको आर्थिक कार्यविधि अनुसार सम्पूर्ण आर्थिक कारोवार सोही खातावाट सञ्चालन गरिनेछ।

समृद्धि सहितको लोकतन्त्रको प्रतिफल हाम्रै जीवनकालमा सम्पूर्ण नागरिकले पाउने सुनिश्चितता सहित राष्ट्र निर्माण गर्ने प्रतिबद्धताका साथ आजका मितिमा विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गर्ने सम्बन्धमा हामी दुबै पक्ष सहमत भई यो सम्झौतामा हस्ताक्षर गरेका छौं।

 

साझा पार्टिको तर्फबाट

श्री रवीन्द्र मिश्र

विवेकशील नेपाली दलका तर्फवाट 

श्री उज्वल बहादुर थापा

 

साक्षीहरू

डा सुरेन्द्र भण्डारी

डा दिनेश अहिराज

मिति: २०७४/०४/११

अनुसूचीहरु

अनुसूची – १

विवेकशील साझा पार्टीका केन्द्रिय समितिका सदस्यहरुको नामावली।

रवीन्द्र मिश्र, उज्वल बहादुर थापा, अनुषा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य।

अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम प्रकाश अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन  श्रेष्ठ, दिनेश प्रसाई, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशी बिक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभिता परियार, र ज्ञानेन्द्र निरौला। (चारजना सदस्य पछि थप गरिने गरी)

अनुसूची – २

विवेकशील साझा पार्टीको संयोजन समितिका सदस्यहरुको नामावली।

१. रविन्द्र मिश्र                          २. उज्वल बहादुर थापा

३. अनुषा थापा                          ४. गोविन्द नारायण तिमिल्सिना

५. निरुपमा यादव                      ६. मुमाराम खनाल

७.  रमेश पौड्याल                      ८. सूर्यराज आचार्य

अनुसूची – ३

संयोजन समिति

केन्द्रीय समिति                         स्वायत्त अनुशासन आयोग

प्रादेशिक समिति

जिल्ला संयोजन समिति

गाउँपालिका/महा/उप/नगरपालिका समिति

वडा समिति

समुदायगत/टोल समिति