अब स्वाभिमान र संवृद्धिमुखी ध्रुवीकरण


फेरि पुराना पार्टीले छरेका भ्रममा पुरानै शैलीको ध्रुवीकरणमा फस्ने हो भने यो देश अझै धेरै वर्ष दुःख पाउन अभिशप्त हुनेछ

नेपाली समाज भ्रमपीडित समाज हो । हामीले बारम्बार आफैंलाई भ्रमको जालोमा हालेका छौं । संघर्ष गरेर आफैंलाई जालोबाटो मुक्त गरेका छौं र फेरि अर्को जालोमा हालेका छौं । हामी भ्रममा बाँच्न अभ्यस्त छौं । २०७५ सालले नेपालीहरूलाई ‘स्थिर सरकार नभएका कारण विकास भएन, स्थिर सरकारले संवृद्धि दिन सक्छ, राष्ट्रिय स्वाभिमान उँचो गर्न सक्छ’ भन्ने अर्को एउटा भ्रमबाट मुक्ति दिएको छ । बल्ल धेरै नेपालीले संवृद्धि र राष्ट्रिय स्वाभिमानका लागि स्थिर सरकार मात्र पर्याप्त होइन रहेछ इमानदार, सक्षम र देशभक्त नेतृत्व पनि आवश्यक रहेछ भन्ने बुझ्न थालेका छन् । सम्भवतः त्यही बुझाइले हुनुपर्छ नेपाली राजनीतिले फेरि एकपटक ध्रुवीकरणको संकेत देखाउन थालेको छ । तर अबको राजनीतिक ध्रुवीकरण दूरगामी र रूपान्तरणकारी प्रकृतिको हुन सकेन भने हामी फेरि अर्को भ्रमको यात्रामा सवार हुनेछौं ।

वैचारिक ध्रुवीकरणको शृंखला

बारम्बारको राजनीतिक ध्रुवीकरण अपरिष्कृत लोकतन्त्रको परिचायक हो । सुसंस्कृत लोकतन्त्र स्थिर हुन्छ र तिनको राजनीति पनि तुलनात्मकरूपमा स्थिर हुन्छ । दुर्भाग्य भन्नुपर्छ, पहिलोपटक लोकतन्त्र स्थापना भएको झन्डै ७० वर्ष हुन लाग्दा पनि नेपालमा न त्यो संस्थागत भयो न बेलाबखतको नरम तानाशाही शासनबाट कैयन् अन्य देशमा जस्तो संवृद्धि प्राप्त भयो ।

२००७ सालमा प्राप्त लोकतन्त्रलाई ०१५ सालमा संस्थागत गर्ने प्रयास गरियो । त्यतिबेलाको राजनीतिक ध्रुवीकरण पूर्णरूपमा नेपाली कांग्रेसको पक्षमा थियो, जसले दुईतिहाइ मतले निर्वाचनमा विजय हासिल गरेको थियो । तर एकातिर निरंकुशताबीच हुर्केका परम्परागत राजकीय शक्तिको सोच बोकेका राजा महेन्द्र थिए भने अर्कोतिर आधुनिक लोकतन्त्रको आगो बोकेका प्रधानमन्त्री बीपी कोइराला, जसलाई राजा महेन्द्रले पचाउनै सकेका थिएनन् । परिणामस्वरूप सत्ता कब्जा गरेर एकतन्त्रीय पञ्चायती व्यवस्था लाद्न उनले २०१७ को प्रहार गरे । त्यतिबेलासम्म कम्युनिस्टहरू झन्डै–झन्डै नाममा मात्र सीमित थिए । तर २०१७ सालपछि राजनीति मूलतः तीन खेमामा ध्रुवीकृत भयो । नेपाली कांग्रेस, कम्युनिस्ट र पञ्चायत ।

२०३६ सालमा आइपुग्दा देश ‘सुधारिएको पञ्चायती व्यवस्था’ र ‘बहुदलीय व्यवस्था’ को पक्षमा ध्रुवीकृत भयो । चार लाखभन्दा थोरै बढी अन्तरले जित ‘सुधारिएको पञ्चायती व्यवस्था’ को भयो, जुन तात्विक रूपमा कहिल्यै सुधारिएन । २०४६ सालसम्म आइपुग्दा कम्युनिस्टहरूको शक्ति २०१५ सालको भन्दा धेरै व्यापक भइसकेको थियो । त्यतिबेलासम्म विद्यमान कांग्रेस, कम्युनिस्ट र पञ्चायतको त्रिकोणात्मक ध्रुवीकरणले २०४६ सालको जनआन्दोलनअगाडि लोकतन्त्र पुनस्र्थापना गर्ने उद्देश्यले द्विकोणात्मक स्वरूप लियो । पञ्चायतविरुद्ध कांग्रेस र संयुक्त वाममोर्चा एक ठाउँमा आए जसलाई राजाले थेग्न सकेनन् । या, त्यसैबेला परिरहेको बाहिरी दबाबसामु झुक्नुभन्दा आफ्नै देशका शक्तिहरूसँग झुक्नु उपयुक्त सम्झिए ।

२०५२ सालमा सुरु भएको माओवादी सशस्त्र संघर्षले नेपाली राजनीतिमा अर्को ध्रुवीकरणको बीउ रोप्यो । ‘आतंककारी समूह’ बाट माओवादीहरू केही वर्षभित्रमा कांग्रेस र तत्कालीन नेकपा एमालेपछि तेस्रो राजनीतिक ध्रुवका रूपमा स्थापित भइसकेका थिए । तर २०६१ सालमा राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि राजनीतिक ध्रुवीकरण फेरि बदलियो । कांग्रेस, एमाले र माओवादी लोकतन्त्रका लागि एक ठाउँमा देखिए । त्यो भीमकाय शक्ति रोक्ने क्षमता राजा ज्ञानेन्द्रमा थिएन ।

उनले समर्पण गरे र आन्दोलनरत दलहरूको मागअनुसार २०६२ सालमा संसद् पुनः स्थापना गरिदिए । तर त्यसको एक वर्षपछि २०६३ सालमा सुरु भएको ‘मधेस आन्दोलन’ ले नेपाली राजनीतिमा नयाँ ध्रुवलाई जन्म दियो । त्यो यति शक्तिशाली देखियो कि संघीयताजस्तो दूरगामी महत्वको विषयलाई मधेस आन्दोलनले राजनीतिको केन्द्रमै स्थापित गरिदियो ।

त्यसपछिको ठूलो राजनीतिक ध्रुवीकरण गत आमनिर्वाचनको मुखैमा देशका दुई प्रमुख कम्युनिस्ट शक्तिहरू एमाले र माओवादीबीचको एकताले सिर्जना गर्‍यो । त्यही एकताको परिणाम हो अहिलेको दुईतिहाइ समर्थन प्राप्त कम्युनिस्ट सरकार, जसलाई ७० वर्षभन्दा अघि जुद्ध शमशेरको पालायताकै सबैभन्दा शक्तिशाली सरकार भनिएको छ ।

गत ७० वर्षको यो छोटो शृंखला प्रस्तुत गर्नुको एउटा कारण छ । आजसम्म जति पनि प्रमुख राजनीतिक ध्रुवीकरण भए ती सबैको मूल आधार वैचारिक थियो । भन्नेहरूले विचारको अन्तर्यमा ‘राष्ट्रहित’ थियो र त्यो नै प्रेरणाको प्रमुख कारक थियो भन्लान् । तर एक या अर्को रूपको फितलो परिणामका कारण हरेक ध्रुवीकरणपछि तीनका नेतृत्वकर्तालाई राष्ट्रहित नै उनीहरूको प्रेरणाको मूल स्रोत थियो भन्ने तर्क पुष्टि गर्न कठिन भएको देखिन्छ

ध्रुवीकरणको बदलिँदो रूप

अन्तर्राष्ट्रिय रूपमै राजनीतिक ध्रुवीकरणको चरित्र बदलिन थालेको छ । अब ध्रुवीकरणका लागि परम्परागत राजनीतिक विचार या दर्शनभन्दा पनि शासकीय चरित्र प्रधान हुन थालेको छ । हालैका वर्षहरूमा छिमेकमा भुटान, भारत, पाकिस्तान, अलिपर मलेसिया अथवा युरोपका कैयन् देशहरूमा नयाँ नेता र नयाँ पार्टीका पक्षमा भएका ध्रुवीकरण राजनीतिक विचारका आधारमा भन्दा पनि सुशासन अथवा अन्य शासकीय मुद्दाहरूका आधारमा भएका छन् ।

भर्खरै पूर्वी युरोपेली देश युक्रेनमा राजनीतिक अनुभव, दर्शन, आर्थिक र वैदेशिक मामिलाको बुझाइ सबैमा अत्यधिक काँचो ठानिएका एकजना लोकप्रिय हास्य कलाकार दुईतिहाइ बहुमतले राष्ट्रपति निर्वाचित भए । प्रशस्त स्रोतसाधनले सम्पन्न भए पनि भ्रष्टाचार, कुशासन, अति राष्ट्रवाद र युद्धबाट आजित भएका युक्रेनीहरूले राजनीतिमा नयाँ अनुहारलाई साथ दिए । परिणाम के हुन्छ, थाहा छैन । तर ती हास्य कलाकारबाट अपेक्षा महान् राजनीतिक विचारको होइन, शान्ति र सुशासनको छ ।

भावी ध्रुवीकरणका कारकहरू

नेपालको ७० वर्षको लम्बे इतिहासले के देखायो भने वैचारिक ध्रुवीकरणले न त नेपालको स्वाभिमान उचा गर्न सक्यो न विकास र संवृद्धि नै दिन सक्यो । अब त राष्ट्रिय अस्मितामै प्रश्न उठेको महसुस गर्न थालिएको छ । पछिल्लो १० वर्ष र अझ खासगरी पछिल्लो एक वर्षको नेपाली राजनीतिबाट आजित भएपछि नेपालमा अब नितान्त नयाँ ध्रुवीकरणको संकेत देखिएको छ । त्यो ध्रुवीकरण मूलतः पाँचवटा कारणले निर्माण हुँदै छ।

चरम निराशा : पूर्ण बहुमत वा दुईतिहाइको समर्थन नै भए पनि पुराना पार्टीहरूले भ्रष्टाचार घटाउन, सुशासन दिन, आमजनताका पिरमर्कालाई सम्बोधन गर्न र देशलाई संवृद्धितर्फ अग्रसर गराउन नसक्ने रहेछन् भन्ने अनुभूति तीव्ररूपमा बढेको देखिन्छ । वर्तमानका अधिकांश नेताहरू आफैं पनि महाभ्रष्ट छन् र तिनीहरू सत्ताका लागि सदा झैं विदेशीको गोटी बन्न फेरि पछि हट्दैनन् भन्ने धारणा उत्तिकै प्रबल छ । पत्रपत्रिका हरेक दिन काण्डैकाण्डको फेहरिस्तले भरिएका हुन्छन् । म यो स्तम्भ लेख्न बसेको दिन युवा पत्रकार नरेन्द्र रौलेले यस्तो ट्वीट गरे : ‘ठ्याक्कै आजको दिन १३ वर्षअघि जनआन्दोलनमा सहभागी हुँदा गोली लागेको थियो । जनआन्दोलनकै बलमा देशमा राजनीतिक व्यवस्था फेरियो ।

शक्ति केन्द्रमा पात्रहरू फेरिए । तर बेरोजगार, भ्रष्टाचार, युवा पलायन, गरिबी जस्ता समस्या उस्तै छन् ।’ रौलेको ट्वीट उनको मात्र आवाज होइन । त्यसले आम नेपालीको अनुभूतिलाई अभिव्यक्त गर्छ । केवल लामो समयको आबद्धता, त्योसँग जोडिएका अन्य विविध बाध्यता र कतिपय स्थितिमा लाभका कारण मात्र मानिसले पुरानो घर छोड्न सकेका छैनन् ।

परिवर्तनप्रतिको अविश्वास : देशको रूपान्तरणका लागि धर्म निरपेक्षता, संघीयता र गणतन्त्र अपरिहार्य छ भन्ने विश्वास दिलाएर परिवर्तनको नेतृत्व गरेको डेढ दशक हुन लागिसक्दा पनि पुराना दलहरूले आम जनजीवनमा र विकास मार्गमा कुनै तात्विक अन्तर ल्याउन नसक्दा मानिसमा परिवर्तनका मूल मुद्दामाथि नै अविश्वास बढ्न थालेको छ । धर्म निरपेक्षताको बढ्दो विरोध, संघीयताको कार्यान्वयनमा देखिएका बढ्दो जटिलता तथा जहाँ गए पनि पूर्वराजा ज्ञानेन्द्रको पछाडि बढ्दै गएको जमातलाई त्यसको प्रमाणका रूपमा देखाउन थालिएको छ । नजरअन्दाज गर्न नहुने अर्को पक्ष के हो भने, परिवर्तनका पछिल्ला मुद्दाहरूमा अविश्वास गर्नेहरूमा वर्तमान पार्टीहरूभित्रकै नेता तथा शुभेच्छुक पनि छन् ।

डिजिटल पुस्ता : नेपालमा १५ देखि ४० वर्षमुनिको उमेर समूहको जनसंख्या ४० प्रतिशत छ । अर्कोपटक चुनावमा मत हाल्ने किशोर–किशोरीहरू तथा तुलनात्मकरूपमा कम उमेरका युवा वर्तमानको दूषित राजनीतिबाट रंगिएका छैनन् । ‘डिजिटल पुस्ता’ भएकाले उनीहरू विदेशका गति र प्रगतिसँग परिचित छन् । हत्केलामा संसार हेर्ने उनीहरू अहिलेको नेपाली राजनीतिबाट बिरक्तिएका छन् र राजनीतिकै कारण आफूलाई पीडित महसुस गर्छन् । राजनीतिमा अत्यन्तै न्यून चासो राख्ने त्यो ठूलो जमातले थाहै नपाई राजनीतिलाई ध्रुवीकरणतर्फ डोर्‍याउन ठूलो भूमिका निर्वाह गरिरहेको छ ।

विदेशमा रहेका नेपाली : राजनीतिक ध्रुवीकरणको चौथो कारण, विदेशमा रहेका दसौं लाख नेपालीहरू हुनेछन् । उनीहरूले सुशासन र विकास कस्तो हुन्छ भन्ने आफैंले अनुभूत गरेका छन् । नेपाल पनि ‘यस्तै’ भइदिए हुन्थ्यो भन्ने आकांक्षा पालेका छन् । नेपाल अलिकति मात्र ठीक दिशामा गइदिए नेपाल नै फर्कने थियौं भन्ने भावना बोकेका छन् । विदेशमा रहे पनि ती नेपाली र तिनमा आ िश्रत तिनका परिवारका सदस्यहरू नेपालको सामाजिक र राजनीतिक रूपान्तरणको सशक्त संवाहक बन्नेछन् ।

वैकल्पिक शक्तिको उदय : आम सर्वसाधारणमा बढ्दै गएको निराशा, परिवर्तनप्रतिको अविश्वास, डिजिटल पुस्ताको बदलिँदो सोच र विदेशमा रहेका नेपालीका आकांक्षाको साथमा सम्भाव्य राजनीतिक ध्रुवीकरणको अर्को प्रमुख कारण पछिल्ला एकाध वर्षमा उदाएका वैकल्पिक पार्टीहरू हुन् । गएको निर्वाचनमा ती चम्किला झिल्काका रूपमा देखिए । अबको निर्वाचनमा तिनले भर्भराउँदो ज्वालाको आकार लिने प्रबल सम्भावना छ । तर त्यसका लागि आफूलाई वैकल्पिक भन्ने पार्टीमध्ये कुनै न कुनैले बलियो मञ्च निर्माण गर्न सक्नुपर्छ । त्यस्तो मञ्च जसले राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अस्मितालाई प्रधान सम्झिएर यो देशको इमानदार, सक्षम र रूपान्तरणकारी नेतृत्व गर्न आफू योग्य भएको विश्वास स्थापित गर्न सकोस् ।

हालसम्म भूराजनीति पनि नेपाली राजनीतिक ध्रुवीकरणको प्रमुख कारण बन्दै आएको छ । तर भूराजनीतिको असर त्यतिबेला बढी हुन्छ जतिबेला आन्तरिक शक्तिहरू स्वार्थी, सत्तालिप्त, भ्रष्ट र असक्षम हुन्छन् । व्यक्तिगत फाइदाका लागि गुटहरू जन्माउँछन् । सत्तामा पुग्नका लागि जातीय, क्षेत्रीय भावना भड्काउँछन् र निहित स्वार्थ पूरा गर्न लोकप्रियतावादी नारा लगाउँछन् । यदि जातीय, क्षेत्रीय र लोकप्रियतावादी नाराभन्दा माथि उठेको वैकल्पिक शक्तिका पक्षमा राजनीति ध्रुवीकृत भयो भने त्यसले परिपक्व ढंगबाट भूराजनीतिलाई सन्तुलनमा राख्ने अपेक्षा गर्न सकिन्छ । त्यस्तो भएन भने वर्तमानको अवस्थामा कुनै तात्विक अन्तर आउने छैन । सत्ता बदलिनेछ, चरित्र बदलिने छैन ।

अब स्वाभिमान र संवृद्धिमुखी ध्रुवीकरण

माथि चर्चा गरिएजस्तै २००७ सालयताका सबै ध्रुवीकरण वैचारिक आधारमा लोकतन्त्र र अधिकार लागि भएका थिए । तर लोकतन्त्र र अधिकारको लडाइँका क्रममा होस् या ध्रुवीकरणको लक्ष्य हासिल भइसकेपछिका वर्षहरूमा, पुराना पार्टीहरूका लागि राष्ट्रिय हित, स्वाभिमान र विकास सधैं गौण बने । व्यक्तिगत र पार्टीगत स्वार्थ हावी भए र देशले निरन्तर दुख पाइरह्यो । अबको ध्रुवीकरण जातीयता या क्षेत्रीयताको भावना भड्काएर, लोकप्रियतावादी नारा लगाएर या कोरा विचारका आधारमा होइन, राष्ट्रिय हितलाई सर्वोपरि राखेर स्वाभिमान र संवृद्धिका लागि हुनुपर्छ, जसमा व्यक्तिगत लाभ, स्वार्थ र सोचाइहरू गौण बनोस् ।

त्यसका लागि देशको हितलाई सर्वोपरि ठान्ने हरेका तप्का, राजनीति दल र विचारका नेपाली कुनै आग्रह–पूर्वाग्रह, प्रतिगामी र अग्रगामीका आरोप–प्रत्यारोपविना एकबद्ध हुनैपर्छ, जुन प्रवृत्ति पछिल्ला वर्षमा अन्य कैयन् देशमा देखिएका छन् । बारम्बार स्वार्थी र भ्रष्टहरूलाई साथ दिएर आफूलाई दुःखी र नेतालाई सुखी बनाउँदै आएका नेपालीले अब देशको दूरगामी हितका लागि निःस्वार्थरूपमा वैचारिक बन्धनहरू तोड्न हिच्किचाउनु हुँदैन । देशभन्दा विचार ठूलो हुन सक्दैन । फेरि पनि पुराना पार्टीले छरेका भ्रममा परेर पुरानै शैलीको ध्रुवीकरणमा फस्ने हो भने यो देश अझै धेरै वर्ष दुःख पाउन अभिशप्त छ भनेर बुझे हुन्छ ।

मिश्र साझा विवेकशील पार्टीका संयोजक हुन् ।

 

अन्नपूर्ण दैनिक
२०७६ वैशाख १५ गते

0

Leave a Reply

Your email address will not be published. Required fields are marked *
You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>