विदेशमा सद्भाव समूह

सदस्यताका लागि यो लिन्कमा क्लिक गर्नुहोस्: goo.gl/kAcWmp र आर्थिक सहयोगका लागि यो लिन्कमा क्लिक गर्नुहोस्: goo.gl/Nt93XR

(तपाईं विदेशमा हुनुहुन्छ, हामीप्रति सद्भाव राख्नु हुन्छ, हाम्रो सदस्यता लिन चहानु हुन्छ, सद्भाव समूहमा संलग्न हुन चहानु हुन्छ या हामीलाई आर्थिक या अन्य समर्थन गर्न चहानु हुन्छ भने कृपया यो निर्देशिका एक पटक अवश्य पढ्नुहोला, जसले तपाईंले गर्न चाहेको सहयोगका लागि स्पष्टता प्रदान गर्नेछ।)

संसारको जुनसुकै कुनामा बसेपनि नेपाली ‘नेपाली’ नै हुन्, जसको मन, मस्तिष्क, भाव-भङ्गी, रूप, रङ्ग सदा नेपाली रहन्छ। आफू हाल रहेको देशको विकास र सम्वृद्धी देख्दा र नेपालको विकृति हेर्दा हरेक नेपालीको मनमा पीडा हुनु स्वाभाविक हो।

हामी त्यो पीडाबोधलाई सदाका लागि अन्त्य गर्न प्रतिबद्ध छौँ। संसारको जुनसुकै कुनामा बसेको भए पनि हरेक नेपालीले नेपालको स्थिरता, विकास र समतामूलक समाजका लागि योगदान पुर्‍याउन, सम्भव भएसम्म नेपाल फर्किन र नेपालका बारे गर्व गर्न सकुन् भन्ने हाम्रो दृढ चाहना छ।

तर विदेशमा बस्ने नेपालीहरूले तत् तत् देशको कानुनी दायराभित्र बसेरमात्र हामीप्रति सद्भाव राख्ने, समर्थन र सहयोग गर्न सक्ने हुनाले, त्यो सीमिततालाई मध्यनजर गर्दै हामीले यो संक्षिप्त निर्देशिका तयार पारेका छौँ। यो निर्देशिका तयार पार्दा हामीले विगतमा पूर्व विवेकशील र पूर्व साझाका विदेशस्थित समूहहरूमा देखिएका केही प्राविधिक र कानुनी कमीकमजोरीहरूलाई सच्य्याउने र ती सद्भाव समूहबाट प्राप्त कयौँ सुझावहरूलाई समेट्ने प्रयास गरेका छौँ, जसले दीर्घकालसम्मका लागि ‘विवेकशील साझा सद्भाव समूह’हरूलाई दिगो र कानूनसम्मत बाटोमा अघि बढ्न मद्दत पुर्‍याउने छ।

हरेक देशका विवेकशील साझा सद्भाव समूहहरूले यसै निर्देशिकाभित्र रहेर काम गर्दा र गतिविधिहरू सञ्चालन गर्दा सबै देशको कार्यशैलीमा एकरूपता रहने र त्यसबाट हाम्रै जीवनकालमा नेपाललाई रूपान्तरण गर्ने विवेकशील साझा पार्टीको लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौँ।

() विदेशमा बस्ने नेपालीले गर्ने सहयोगको दायरा

१। विदेशमा बस्ने नेपालीहरूको मताधिकारका लागि निरन्तर लागिरहने र त्यसका लागि सरकारका सम्बन्धित निकायलाई आवश्यक सहयोग पनि प्रदान गर्ने। ती कार्यमा नेपालमा विवेकशील साझा पार्टीले पनि पूर्ण सक्रियता जनाउने। नेपालमा रहेका आफ्नो परिवार, नातागोता र साथीभाइलाई विवेकशील साझाको सङ्गठन विस्तार, निर्वाचन तथा अन्य हरेक अवसरमा हरसंभव सहयोग गर्न प्रेरित गर्ने।

२। विदेशमा हासिल सीप, ज्ञान र अनुभव लिएर सम्भव भएसम्म नेपाल फर्किने, फर्किएर सम्भव भएको खण्डमा २०७९ सालको आम निर्वाचनलाई लक्ष्य गरी विवेकशील साझा पार्टीमा राजनीतिकरूपमा नै सक्रिय हुने। आफू फर्किने अवस्था नभए, फर्किने अवस्था भएकाहरूलाई फर्किन प्रेरित गर्ने।

३। आफू बसेको देशका बढीभन्दा बढी नगर र सहरहरूमा ‘विवेकशील साझा सद्भाव समूह’ गठन गर्न सघाउने। त्यसरी गठन भएका सद्भाव समूहहरूले विवेकशील साझाको भावना र आदर्शसँग मिल्ने सुसंस्कृत राजनीति र उद्दयमशीलता लगायतका विषयहरूमा नेपालीहरूकै निवासमा स-सानै किन नहोस् अन्तर्क्रियाहरू सञ्चालन गर्ने र स्थानीय नेपालीहरूलाई सहयोग पुग्ने कार्यहरूमा संलग्न हुने।

४। नेपालको कानुन र आफ्नो पेसाको सीमाभित्र रहेर सक्दो बढी सङ्ख्यामा विवेकशील साझा पार्टीको सदस्यता लिने र सकेको आर्थिक सहयोग गर्ने।

५। नेपालमा विवेकशील साझाले परिकल्पना गरेको सुसंस्कृत राजनीति र आफ्नै जीवनकालमा यो देश रूपान्तरण गर्न लिएको प्रतिबद्धतालाई सहयोग पुग्ने प्रकृतिका आलेखहरू नेपालमा र सन्सारभरिबाट निस्कने अनलाइन र अन्य पत्रपत्रिकाहरूमा प्रकाशित गर्ने।

६। विदेशका विभिन्न क्षेत्रमा कार्यरत विज्ञ नेपालीहरूले विवेकशील साझा पार्टीलाई आवश्यक पर्दा पार्टीका विभागहरूमा रहेर या नरहेर विज्ञ सुझाव-सल्लाह र सहयोग उपलब्ध गराउने।

(ख) सद्भाव समूहको स्वरूप

१। जुनसुकै देशको जुनसुकै नगर या सहरमा भए पनि त्यहाँका कम्तीमा ५ जनासम्म नेपाली एकत्र भएको खण्डमा उनीहरूले ‘विवेकशील साझा सद्‌भाव समूह’ गठन गर्न सक्नेछन्। उदाहरणका लागि, तपाईँ दुबाईको अल सतुवामा बस्नुहुन्छ भने, तपाईँले ‘विवेकशील साझा सद्‌भाव समूह – अल सतुवा’ गठन गर्न सक्नुहुनेछ, जसमा १५ जनासम्म सदस्यहरू रहन सक्नेछन्। तिनै सदस्यहरूबाट एक जना संयोजक, एक जना उप-संयोजक चुनिने छन् भने आवश्यकता अनुसार अन्य पद पनि सृजना गर्न सकिनेछ। त्यस्तो समूहलाई सम्भव भएसम्म समावेशी बनाउन हामी हार्दिक आग्रह गर्दछौँ। त्यसरी संसारभरि हजारौँको सङ्ख्यामा जताततै ‘विवेकशील साझा सद्‌भाव समूह’को गठन होस् र हामीप्रति तपाईँहरूको समर्थन, सहयोग र सद्‌भाव प्राप्त होस् भन्ने हाम्रो चाहाना हो।

२। नगर-नगर, सहर-सहरमा बनेका ‘विवेकशील साझा सद्‌भाव समूह’का संयोजक तथा सदस्यहरू आपसमा मिलेर क्षेत्रीय ‘विवेकशील साझा सद्‌भाव समूह’ गठन गर्न सक्नेछन्। उदाहरणका लागि, दुबाईको अल सतुवा, जुमेरा, अल बादा जस्ता विभिन्न ठाउँमा बनेका ‘विवेकशील साझा सद्‌भाव समूह’का संयोजक तथा सदस्यहरूले ‘विवेकशील साझा सद्‌भाव समूह – दुबाई गठन गर्न सक्नेछन्। ठिक त्यसै गरी युएईका सातैवटा राज्य दुबाई, अबुधाबी, शारजहाँ, अजमन, फुजेरा, रास अल-खैमा, उम अल-क्वेइममा पनि सद्भाव समूहहरू गठन हुन सक्नेछ। तत्पश्चात् ती विभिन्न सहर/प्रदेश/राज्यका संयोजक र सदस्यहरू मिलेर ‘विवेकशील साझा सद्भाव समूह – युएई’ निर्माण गर्न सक्नेछन्। क्षेत्रीय या राष्ट्रिय सद्भाव समूहको कूल सदस्य सङ्ख्या सहमतिमा तय गर्न सकिनेछ। विवेकशील साझा पार्टीको सदस्यता लिएका सबै नै हाम्रा शुभेच्छुक भए पनि सबैले सद्भाव समूहभित्र बसेरै काम गर्नु पर्छ भन्ने बाध्यता छैन। तर क्षेत्रीय या राष्ट्रिय स्तरका सद्भाव समूहमा बसेर काम गर्न चहाने शुभेच्छुकहरूले स्थानीय (नगर या सहर स्तरीय) सद्भाव समूहमा बसेर काम गरेकै हुनु पर्छ। माथिल्लो तहको सद्भाव समूहमा सामेल भएपछि त्योभन्दा तल्लो तहको समूहबाट स्वतः हट्नु पर्नेछ।

३। कतिवटासम्म नगर/सहरमा समूहहरू निर्माण भएपछि त्यसलाई क्षेत्रीय स्वरूप दिने र कतिवटासम्म क्षेत्रीय समूह निर्माण भएपछि त्यसलाई राष्ट्रिय स्वरूप दिने भन्ने कुरा नेपालीहरूको बसोबासको प्रकृति र सङ्ख्या विचार गरेर बन्दै गरेका सद्भाव समूहका नगर/सहर/क्षेत्रीय सदस्य र संयोजकहरूले आपसी छलफलको आधारमा तय गर्न सक्नेछन्।

४। बुँदा नम्बर १, २ र ३ मा उल्लेख गरिएजसरी समूहहरू निर्माण नगर्ने र सुरुमा सम्पर्कमा आएका र विवेकशील साझा पार्टीप्रति रुचि र लगाव भएका १०-२० जनाको समूहबाट सिधै त्यस देशको राष्ट्रिय समूह निर्माण गर्ने हो भने त्यसबाट विभिन्न नगर/सहरमा ठुलो सङ्ख्यामा बसोबास गर्ने नेपालीहरू समेटिने सम्भावना न्यून रहन्छ र राष्ट्रियस्तरका सद्भाव समूहहरू समेत केही दर्जन या केही सय सदस्यहरूमा सीमित हुनजान्छ। तसर्थ सद्भाव समूहहरूलाई नगर/सहरकै तहबाट उठाउँदै जाँदा बढीभन्दा बढी नेपाली त्यसमा निरन्तररूपले सरिक र सक्रिय हुन पाउने छन् जसको प्रत्यक्ष असर नेपालमा पर्नेछ।

५। हरेक सद्भाव समूहको कार्यकाल गठन भएको मितिले २ वर्षको हुनेछ। सद्भाव समूहका संयोजक दुई कार्यकालभन्दा बढी उक्त पदमा रहन सक्दैनन्।

६। हाल विवेकशील साझा सद्भाव समूहहरूको अस्तित्व नभएका ठाउँहरूमा, त्यस्ता समूहहरू गठन गर्न सक्रिय हुन हामी तपाईँलाई आग्रह गर्न चहान्छौं। जुन-जुन देशमा कुनै न कुनै रूपमा त्यस्ता समूहहरू अस्तित्वमा छन्, हालका लागि ती सबै समूहलाई ‘तदर्थ (ad hoc)’ समूह मानेर माथि उल्लिखित संरचना निर्माणका लागि सहयोगी भूमिका निर्वाह गर्न पनि हामी यसै निर्देशिकामार्फत आह्वान गर्दछौँ, ताकि नयाँ बन्ने संरचना व्यापक, दिगो र प्रभावकारी होस्।

(ग) प्राविधिक गाँठो र समाधान

जुन देशमा बसिन्छ त्यो देशको कानुनको पालना गर्नु सबैको दायित्व हो। तसर्थ राजनीतिक प्रकृतिको भएको हुनाले विवेकशील साझा सद्भाव समूह कुनै पनि देशमा दर्ता भएर औपचारिकरूपमा अस्तित्वमा आउन सक्दैन। तर हामीले गरेको अध्ययन, सरसल्लाह र पाएको कानुनी परामर्शलाई मध्यनजर गर्दा तल उल्लिखित बाटो अवलम्बन गरेको खण्डमा त्यसबाट कानुनी जटीलता सृजना नहुने, गलत बाटो हिँड्नु नपर्ने र हाम्रो सामूहिक उद्देश्य हासिल गर्न सहयोग पुग्ने हामीले महसुस गरेका छौँ।

१। नेपाली नागरिक संसारको जुनसुकै ठाउँमा बसे पनि कानुनको दायराभित्र बसेर व्यक्तिगतरूपमा उसलाई आफ्नो देशको कुनै पार्टीप्रति सद्भाव राख्न र सहयोग गर्न अफ्टेरो पर्दैन। तसर्थ, जो-जो शुभेच्छुकहरू सद्भाव समूह गठन गर्न चहानु हुन्छ, उहाँहरूलाई हामी विवेकशील साझा पार्टीको सदस्यता लिन आग्रह गर्दछौँ। सदस्यता शुल्क पठाउने र आर्थिक सहयोग गर्ने विभिन्न उपायहरू हामीले यसै वेबसाइटमा उल्लेख गरेका छौँ। सदस्यता शुल्क यो निर्देशिकाको अन्त्यमा उल्लेख गरिएको छ। सद्भाव समूहहरू राजनीतिक प्रकृतिको हुने भएकोले स्थानीयरूपमा दर्ता गर्न र तिनको नाममा ब्यांकमा खाता खोल्न नमिल्ने हुँदा सदस्यहरूले सिधै नेपालमैं सहयोग गर्ने व्यवस्था मिलाइएको हो। (कतिपय साथीहरूले सद्भाव समूहको संयोजक या सो समूहले तोकेको व्यक्तिको नाममा खाता खोलेर पैसा जम्मा गर्न र आर्थिक कारोबार गर्न पनि सुझाएका थिए। तर हरेक व्यक्तिगत खाता सम्बन्धित देशको करको दायराभित्र पर्ने र त्यसो गर्दा लेखा परीक्षण र कानुनी जटीलता सृजना हुने हुनाले त्यसो गर्न सम्भव देखिँदैन।)

२। विदेशबाट लिइएको सदस्यताको विवरण पार्टीको मुख्यालयले तत् तत् देशका तदर्थ सम्पर्क व्यक्ति या संयोजकहरूलाई उपलब्ध गराउने छ। त्यसो गर्दा संयोजकहरूलाई ती देशमा भएका सदस्यहरूका बारेमा जानकारी हुने, सदस्यहरूको अभिलेख राख्न र त्यसलाई अध्यावधिक गर्न सहज हुने, सदस्यहरू सबैलाई एकै ठाउँमा जोडेर अन्य ठाउँमा पनि सङ्गठन विस्तार गर्दै लैजान प्रेरित गर्ने, सूचना आदानप्रदान गर्न र गतिविधि सञ्चालन गर्न सघाउ पुर्‍याउने र उनीहरूका बीचमा सम्पर्क र साझेदारी बढाउन मद्दत गर्नेछ।

४। माथि उल्लिखित बाटो अवलम्बन गर्दा कुनै पनि सद्भाव समूहले आफैँ आर्थिक कारोबार गर्नु पर्ने छैन। बेलाबखत हुने भेटघाट, बैठक र कार्यक्रममा हुने स-साना खर्चमा आइपर्ने अर्थिक सहभागितामा भने कुनै कानुनी अड्चन नपर्ने हाम्रो बुझाई छ।

५। राजनीतिक दलसम्बन्धी कानुनका कारण अन्य देशको नागरिकता लिइसकेका नेपालीहरू पार्टी या सद्भाव समूहका सदस्य हुन सक्दैनन् तर उनीहरू सल्लाहाकार समूहहरूमा आबद्ध हुन सक्छन्। उनीहरूको विज्ञता हेरेर परामर्शका लागि आवश्यक परेको बेलामा पार्टीको मुख्यालयले पनि अनुरोध गर्न सक्नेछ।

६। त्यसै गरी राजनीतिक दलसम्बन्धी कानुनकै कारण राजनीतिक दलले विदेशी संस्था या नागरिकबाट आर्थिक सहयोग पनि लिन पाउँदैन।

७। यो निर्देशिकाको उल्लङ्घन नहुने गरेर विभिन्न देशका सद्भाव समूहहरूले आफूहरूलाई काम गर्न सहज तुल्याउन आफ्नो तजबिजमा पार्टी मुख्यालयलाई जानकारी दिएर आवश्यक उपायहरू अवलम्बन गर्न सक्नेछन्।

८। विदेशमा त्यसरी निर्माण हुने सद्भाव समूहहरूलाई भातृ सङ्गठन भनिने छैन – ती नितान्त सद्भाव समूहकै रूपमा रहने छन्।

(घ) मतदान अधिकारको प्रश्न र समाधान

१। विदेशमा रहेका कयौँ नेपालीहरूले विवेकशील साझा पार्टी विदेशमा रहेका नेपालीहरूका लागि मतदान अधिकारको पक्षमा भएकोले पार्टी आफैँले त्यसको अभ्यास गर्नु पर्ने राय दिएका छन्। उनीहरूको रायप्रति विवेकशील साझा पुर्णरूपमा सकारात्मक छ किनभने हामी स्वयम् पनि त्यसैको पक्षमा छौँ। तर हामीले निर्वाचन, कानुन र प्रविधि विद्हरूसँग छलफल गर्दा अहिलेकै अवस्थामा कानुनी, व्यवस्थापकीय र प्राविधिक तीनै दृष्टिकोणबाट ई-मतदान लागू गर्न कठिन हुने देखिएको छ। पूर्ण र विश्वासिलो कानुनी र अन्य आधार नभई मतदान जस्तो संवेदनशील विषयमा अन्य कतिपय क्षेत्रमा झैँ ‘काम गर्दै जाने र त्रुटि पनि सच्याउँदै जाने’ बाटो अवलम्बन गर्नु उपयुक्त देखिएन। यद्दपी, हामीले यसै खण्डको १.३ नम्बर बुँदामा यो समस्याको समाधानको बाटो सुझाएका छौँ।

१.१ सन्सारभर प्रविधिको यति धेरै विकास हुँदा पनि औंलामा गन्न सकिने केही देशले मात्र ई-मतदानलाई अंगिकार गरेका छन् र अत्यधिक देशहरूले अझै ई-मतदानलाई अवलम्बन गर्न सकेका छैनन्। त्यसका केही स्पष्ट कारणहरू छन् जसलाई हामी नजरअन्दाज गर्न सक्दैनौँ। ई-मतदानमा हुनसक्ने तलमाथि, मतदानमा मतदाताको गोपनीयताको अधिकारलाई पूर्णरूपमा सुनिश्चित गर्नमा देखिएको चुनौती र ई-मतदानमा धाँधली भएको आरोप आएको खण्डमा त्यसलाई निरूपण गर्न भोट गरिएका विदेश (अथवा स्वदेश) मा रहेका कम्प्युटरहरूमा पहुँच हुन नसक्दा उत्पन्न हुने परिस्थितिहरूले गर्दा निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसक्ने अधिकांश विज्ञहरूको राय रहेको छ। त्यसबाहेक, ई-मतदानमा आएको विवाद हल गर्न नेपालमा कानुन नै बनेको छैन। नेपाल सरकारले सन् २०१६ मा विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिने घोषणा गरेपछि त्यसलाई कानूनीरूपमा सम्भव तुल्याउन नेपालको निर्वाचन आयोगले स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोगमा गहन अध्ययन र छलफल गरेको थियो। तर नेपालको हकमा सो अधिकार लागू गर्नमा यति धेरै जटिलता देखिए कि नेपालको सबैभन्दा स्रोत-साधन सम्पन्न, विज्ञहरूको राम्रो उपस्थिति रहेको र कयौँ पटक अत्यन्त प्रतिकूलताका माझ सफल ढङ्गबाट निर्वाचन सम्पन्न गरिसकेको निर्वाचन आयोगले पनि चहाँदा-चहाँदै ई-मतदान कार्यानवयन गर्न सकेको छैन।

१.२ विगतमा विवेकशील नेपाली दलले केन्द्रीय समितिका सदस्यहरू थोरै सङ्ख्यामा रहेका सक्रिय सदस्यहरूबाट चुनेको र विदेशस्थित सक्रिय सदस्यहरूलाई ई-मतदानको व्यवस्था मिलाएको थियो। अब पार्टी एकीकरणपछि हामी राष्ट्रियस्तरको पार्टी निर्माणमा जुटेकोले केन्द्रीय समितिका सदस्यहरू पहिले जसरी निर्वाचित हुने छैनन्। उनीहरू पार्टीले निर्धारण गरेको देशभरिका कम्तीमा पनि ६० वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमार्फत चुनिने छन्। तसर्थ, पार्टीका नेपालभित्रका अन्य सदस्यले जस्तै विदेशमा बस्ने नेपालीहरूले पनि आफूले सदस्यता लिँदा उल्लेख गरेको स्थाई ठेगाना जुन निर्वाचन क्षेत्रमा पर्छ, सोही निर्वाचन क्षेत्रका प्रतिस्पर्धीहरूलाई भोट हाल्नु पर्नेछ। त्यसको अर्थ ई-मतदानको व्यवस्था कम्तीमा ६० वटा निर्वाचन क्षेत्रमा लागू गर्नु पर्ने हुन्छ। त्यस्ता निर्वाचन क्षेत्रमा सुदूर पश्चिम र कर्णालीका विकट क्षेत्र र तराईका पिछडीएका बस्तीहरू पनि पर्नेछन्। त्यस्ता बस्ती तथा देशभरिका अन्य निर्वाचन क्षेत्रमा ई-मतदानको व्यवस्थापन गर्न अत्यन्तै कठिन देखिन्छ।

१.३ समाधानको बाटो: तर हामी ई-मतदानको सम्भावनालाई नजिकबाट अध्ययन गरिरहने छौँ। ‍त्यसका लागि हामीले एउटा टोली निर्माण गरेका छौँ जसमा केन्द्रीय सदस्य तथा आफैँ आइटी प्रविधि कम्पनी सञ्चालन गर्ने अर्जुनसिँह ठकुरी, देशको निर्वाचन आयोगको सचिव भएर ई-मतदानका बारे धेरै अध्ययन गरेका तथा प्रविधिमैत्रीहरूको सङ्गठन नेपाल ईन्जिनियर्स असोसिएसनको चुनावको नेतृत्व गरिसेका अर्का केन्द्रीय सदस्य किशोर थापा तथा केन्द्रीय सदस्य र सङ्गठन विभागका प्रमुख मुमाराम खनाल रहेका छन्। सम्भव हुने बित्तिकै हामी ई-मतदानको व्यवस्था लागू गर्न प्रतिबद्ध र व्यग्र छौँ।

(ङ) राजनीतिक अधिकारको उपाय

१। विदेशमा रहेर पार्टीको सदस्यता लिएका नेपालीहरूले पार्टीका अन्य सदस्यले जत्तिकै अधिकार प्रयोग गर्न सक्नेछन्। विदेशमा सद्भाव समूहहरूलाई पार्टीको महाधिवेशन गर्ने र चुनावका लागि प्रतिनिधि छान्ने जस्ता राजनीतिक गतिविधि गर्न तत् तत् देशको कानुनले वर्जित गर्ने हुनाले उनीहरूले पार्टीको आन्तरिक चुनावमा भोट हाल्न, प्रतिनिध बन्न या आफैँ चुनावमा उमेदवार हुन नेपाल नै आउनु पर्नेछ। यद्दपी, राजनीतिक आकाङ्क्षा भएका शुभेच्छुक, सद्भाव समूहका सदस्य वा नेतृत्वकर्ताहरूले नेपाल आएर अन्य पार्टीमा झैँ नेतृत्वमा माथि पुग्न दसौँ वर्ष पर्खिनु पर्दैन किनभने विवेकशील साझा पार्टीको विधानले नै नेतृत्व क्षमता भएका व्यक्तिहरूलाई छिटो उपल्लो तहमा पुग्ने बाटोलाई सुनिश्चित गरेको छ। विदेशमा रहँदाको उनीहरूको योगदानलाई पार्टीले उचित मूल्याङ्कन गर्नेछ।

२। पार्टीको महाधिवेशनका बेला सद्भाव समूहका राष्ट्रिय संयोजक या सम्बन्धित समूहले तोकेका व्यक्ति ‘पर्यवेक्षक’का रूपमा महाधिवेशनमा भाग लिन नेपाल आउन चाहेको खण्डमा पार्टीको निर्वाचन आयोगले सो समयमा ती देशका सद्भाव समूहका सदस्यहरूको सङ्ख्याको आधारमा सन्सारभरिबाट कतिजना ‘पर्यवेक्षक’ हरू आमन्त्रण गर्ने भनी किटान गर्न सक्नेछ।

(च) सद्भाव समूह डेस्क

विदेशमा रहेका सद्भाव समूहहरूसँग समन्वय गर्न विवेकशील साझा पार्टीको मुख्यालयमा एउटा डेस्क बनाइएको छ जसमा केन्द्रीय सदस्यद्वय अर्जुनसिँह ठकुरी र मानवी पौडेल रहेका छन्। उनीहरूलाई क्रमशः: ९८४१२९७९४६ र ९८५१०४३०४० मा सम्पर्क गर्न सक्नुहुनेछ।

(छ) सदस्यता शुल्क:

आफू बसिरहेको देशको आधारमा सदस्यता शुल्क अर्धवार्षिक (जुन ३० र डिसेम्बर ३१ सम्म) वा वार्षिकरुपमा डिसेम्बर ३१ सम्ममा बुझाइ सक्नुपर्छ। विभिन्न राष्ट्रमा बस्दै आउनु भएका विवेकशील साझा पार्टीका सदस्यहरूबाट प्राप्त सुझाव अनुरूप हाललाई निम्न बमोजिम सदस्यता शुल्क कायम गरिएको छ।

 

देश शुल्क
युरोलाई राष्ट्रिय मुद्रा मान्ने युरोपेली देशहरु प्रति वर्ष ६० युरो
संयुक्त अधिराज्य प्रति वर्ष ५० पाउन्ड
अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड तथा सिंगापुरा (संबन्धित देशको मुद्रामा) प्रति वर्ष ६० डलर
जापान, दक्षिण कोरीया, ब्रुनई प्रति वर्ष नेरु ६,०००
कतार, युएई, साउदी अरबिया लगायतका खाडी राष्ट्रहरू प्रति वर्ष नेरु १,०००
मलेसिया प्रति वर्ष नेरु १,०००
भारत लगायतका दक्षिण एशियाली राष्ट्रहरू प्रति वर्ष नेरु ५००
अन्य देशहरु मुख्यालयसँगको छलफलको आधारमा

 

सदस्यहरूले सदस्यता शुल्क बाहेको आर्थिक सहयोग पनि गर्न सक्नेछन् भने सदस्यता लिन नचाहने या नमिल्ने शुभेच्छुकहरूले आर्थिक सहयोग मात्र पनि गर्न सक्नेछन्। यदि कुनै देशमा अहिलेसम्म अन्य कुनै तरिकाले सदस्यता शुल्क तोकिएको तथा उठाइएको भए, ती प्रावधानहरू यो अन्तर्राष्ट्रिय निर्देशिका जारी भए लगत्तै स्वतः: खारेज हुनेछन् र अहिलेका तथा नयाँ सदस्यहरू यसै निर्देशिका अनुरूप सदस्यता शुल्क तिरेर सदस्य बन्नेछन्।

यो निर्देशिका कार्यानवयनका क्रममा आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने छ। यो निर्देशिकामा उल्लेख नगरिएका तर पार्टीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू आएको खण्डमा त्यसबारे निर्णय लिनुअगाडि कुनै पनि सद्भाव समूहले पार्टी मुख्यालयसँग आवश्यक परामर्श गरी अनुमति लिनु पर्नेछ।

नेपालको जय होस्!