विवेकशील साझा संक्षेपमा

हाम्रो नाम: विवेकशील साझा पार्टी

हाम्रो झण्डाको रङ्ग, चुनाव चिह्न र झण्डामा अङ्कित लोगो: नीलो पृष्ठभूमिमा सेतोमा अङ्कित तराजु (सन्तुलन र न्यायको प्रतीक)

हाम्रो दर्शन: कल्याणकारी लोकतन्त्र (Welfare Democracy)*

हाम्रो लक्ष्य: सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि (Cultured Politics, Equitable Prosperity)

हाम्रो मार्गदर्शक सिद्धान्त: सहभागितामूलक लोकतन्त्र (Participatory Democracy)*, समन्वयात्मक बजार अर्थतन्त्र (Coordinated Market Economy)*,  कल्याणकारी राज्य (Welfare State)*, सामाजिक न्याय (Social Justice)

हाम्रो मूल्य–मान्यता: पद्धति (System), पारदर्शिता (Transparency), इमानदारी (Integrity), उत्कृष्टता (Meritocracy), विनम्रता (Humility), समानुभूति (Empathy) र साहस (Courage)

हाम्रो विश्वास: जिम्मेवार नागरिक, उद्यमशील समाज, सेवक सरकार, कल्याणकारी राज्य र स्वाभिमानी देश

हामी किन अस्तित्वमा आयौँ? विश्वमा हामीभन्दा अति नै प्रतिकूल अवस्थामा भएका देशले द्रुत गतिमा प्रगति गर्दा र नेपाल चाहिँ स्रोत-साधनले सम्पन्न देश हुँदा हुँदै पनि हामी अत्यन्तै विपन्न रहिरह्यौँ। सरकार सधैं अस्थिर र भ्रष्ट रह्यो। दशकौँसम्म राजनीति गरेका दल र तिनका सबै भनेजसो नेताले स्थिर, सुसंस्कृत र विकासमुखी राजनीतिको भरपर्दो कुनै संकेत देखाएनन्। हामी सुसंस्कृत राजनीतिको बलियो जगसहित उत्पादनमुखी समाज र दिगो विकासका लागि उपलब्ध सबै अवसरको पूर्ण सदुपयोग गरी एकै पुस्तामा नेपाललाई रूपान्तरण गर्ने दृढ विश्वास बोकेर अस्तित्वमा आएको हौँ।

हामी अरूभन्दा कसरी फरक छौँ? विवेकशील साझा पार्टी नेपालमा जन्मेर, नेपालमै हुर्केर, नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी नेपालीको बोली बोल्ने पार्टी हो। हामीले परम्परागत ‘वाद’प्रतिको जडसूत्रीय लगावभन्दा समकालीन समाजका आकांक्षा प्रतिबिम्बित हुने मार्गदर्शक सिद्धान्त अवलम्बन गरेका छौँ। विधिको शासन हाम्रो मन्त्र हो। अहिंसात्मक राजनीति, भ्रष्टाचारमुक्त, समावेशी र समतामूलक समाज हाम्रो प्रतिबद्धता हो। हामी लोकतान्त्रिक संविधानको सर्वोच्चतामा मन, वचन र कर्मले विश्वास गर्छौँ। हामी राजनीति पेसा होइन, सेवा हो भन्नेमा दृढ विश्वास राख्दछौँ। पार्टी र सत्ताको नेतृत्वमा उत्कृष्ट र क्षमतावानहरूको सहभागितालाई हामी उच्च प्राथमिकताका साथ प्रवर्द्धन गर्छौँ। चुनिएका प्रतिनिधिलाई (दुई-तिहाइ बहुमतले) फिर्ता बोलाउन पाउने (राइट टु रिकल) तथा कोही पनि उम्मेदवार उपयुक्त छैनन् (राइट टु रिजेक्ट) भने जस्ता अधिकारहरू हामी सुनिश्चित गर्छौं। आन्तरिक लोकतन्त्रको अभ्यासमा हामी तलबाट-माथि (बटम-अप) को अवधारणालाई उचित महत्त्व दिनेछौँ।

हामी के गर्दैनौँ? हामी बन्द-हडताल, विध्वंसात्मक तथा हिंसात्मक आन्दोलन जस्ता विकृत राजनीतिक गतिविधि गर्दैनौँ। कर्मचारी, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, पत्रकार जस्ता पेशाकर्मी तथा विद्यार्थीहरूको भगिनी संगठन खोल्दैनौँ। राजनीतिलाई कुनै पनि आवरणमा राज्य स्रोतको दोहन गर्ने माध्यम बनाउँदैनौँ। सामाजिक जनजीवनलाई अनावश्यकरूपमा राजनीतिकरण गर्दैनौँ।

 

दर्शन र मार्गदर्शक सिद्धान्तमा प्रयुक्त केही शब्दावलीको संक्षिप्त व्याख्या

सहभागितामूलक लोकतन्त्र

जनताको भूमिका प्रतिनिधि निर्वाचन गर्नेमा मात्र सीमित नभएर पार्टी वा राज्य सञ्चालनमा अधिकतम सुनिश्चितिताका लागि हामीले सहभागितामूलक लोकतन्त्रलाई मार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गरेका हौँ। सहभागितामूलक लोकतन्त्रको मूल मान्यता नै नागरिक सार्वभौम र सर्वशक्तिमान हुन् र तिनको संख्यात्मक, गुणात्मक र समावेशी सहभागिताले मात्र राज्यले नागरिक हितको साझा लक्ष्य हासिल गर्छ भन्ने हो। उम्मेदवार चयनमा अवलम्बन गरिने प्राथमिक निर्वाचन (प्राइमरी), फिर्ता बोलाउन पाउने (राइट टु रिकल), कोही पनि उम्मेदवार उपयुक्त छैनन् (राइट टु रिजेक्ट) जस्ता पद्धतिले लोकतन्त्रलाई यथार्थमा नै नागरिक हितका लागि मार्गप्रशस्त गर्नेछ। विविधतायुक्त नेपालको परिप्रेक्षमा लोकतन्त्रको सहभागितामूलक मोडेल सबैभन्दा उपयुक्त मोडेल हो भन्ने हाम्रो बुझाइ हो। विवेकशील साझा पार्टीले महाधिवेशनपश्चात् पार्टीका सबै अङ्ग-प्रत्यङ्गहरू निर्माण भइसकेपछि सहभागितामूलक लोकतन्त्रको सक्दो अभ्यास गर्नेछ। तर हाल पार्टी निर्माणको चरणमा भएकोले यसका सीमितताहरूलाई पार्टीले मनन गरेको छ।

समन्वयात्मक बजार अर्थतन्त्र

समन्वयात्मक बजार अर्थतन्त्रले खुला बजार प्रणालीको सिर्जनशीलता र समाजका चासोबीच समन्वय कायम गरी अर्थतन्त्रलाई प्रभावकारी बनाउने कार्यलाई आत्मसात गरेको हुन्छ। यो सिद्धान्तले उद्यमशिलता र उत्पादनशीलताका लागि खुला बजार प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै वैज्ञानिक नियमन पद्धतिमार्फत खुला बजार प्रणालीका कमीकमजोरीलाई निराकरण गर्दछ। आर्थिक गतिविधि तथा त्यसका नतिजालाई छिटो, छरितो, प्रभावकारी, उत्पादनमुखी र व्यापक बनाउनका लागि राज्यको समन्वयकारी भूमिकामा विशेष जोड दिँदा अर्थतन्त्र बढी चलायमान हुन्छ र त्यसले ‘सिण्डिकेट’, ‘कार्टेलिङ्ग’ तथा अन्य दोहनकारी चरित्रलाई अन्त्य गर्न सघाउ पुर्याउँछ। समन्वयात्मक बजार अर्थतन्त्र विवेकशील साझा पार्टीले परिकल्पना गरेको ‘समतामूलक संवृद्धि’का लागि सहयोगी हुन्छ भन्ने हाम्रो विश्वास हो। सामान्यतया जर्मनी, जपान, नर्वे, स्विडेन, फिनलण्ड, नेदरलण्डस्, अस्ट्रिया तथा स्विट्जरलण्ड जस्ता देशहरूलाई समन्वयात्मक बजार अर्थतन्त्रको उदाहरणका रूपमा लिने गरिन्छ।

कल्याणकारी राज्य

शिक्षा, स्वास्थ, सार्वजनिक यातायात र सामाजिक सुरक्षामा राज्यको प्रत्यक्ष भूमिका र दायित्व हुनुपर्ने आमसहमति कै विषय हो। हाम्रो विगतको राज्य व्यवस्थाको संरचना र सञ्चालन पद्धतिमा सबै नेपाली नागरिकले समान र न्यायपूर्ण अवसर नपाएको सन्दर्भमा कल्याणकारी राज्यले समाजिक न्यायका हकमा अहम् महत्त्व राख्दछ। राज्यका नीति र कार्यक्रममा सामाजिक न्यायका आधारभूत मान्यता प्रतिबिम्बित हुन सकेनन् भने समग्र राज्य संयन्त्र अभिजात वर्गको पृष्ठपोषकको रूपमा स्थापित हुन्छ र समाजमा आर्थिक-सामाजिक असमानता बढ्दै जन्छ। तसर्थ, अवसरको अन्तिम बिन्दुमा आलङ्कारिक समावेशीता खोज्नुभन्दा पनि आधारभूत अवसर नै समतामूलकरूपमा वितरण गरी पिछडिएका वर्ग, लिङ्ग र जातिको दिगो, द्रुत र सम्मानजनक उत्थानमा विवेकशील साझा पार्टी प्रतिबद्ध छ। अवसरको वितरणमा पिछडिएका जात र समुदायमा पनि तल्लो आर्थिक वर्ग र समूहलाई समवेशीताको पहिलो प्राथमिकतामा राखिने छ।

कल्याणकारी लोकतन्त्र

विवेकशील साझा पार्टीले आत्मसात गरेको मार्गदर्शक सिद्धान्त (सहभागितामुलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र,  कल्याणकारी राज्य र सामाजिक न्याय) लाई हामीले समष्टिगत रूपमा हाम्रो दर्शन अर्थात् ‘कल्याणकारी लोकतन्त्र’ भनेका छौँ। लोकतन्त्रमा कल्याणकारी लेप लगाउन सक्दा मात्र त्यसले समाजलाई सुखी, खुशी, समतामूलक र संवृद्ध बनाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ।