Skip links

‘जनता जगाएर विवेकशील साझालाई जुरुक्कै उठाउँछौँ’

काठमाडौं : वैकल्पिक राजनीतिको नयाँ मूलधारको रुपमा पुनः उदाएको विवेकशील साझा पार्टीमा नयाँ नेतृत्व आएको छ।

 

 

विभिन्न उतार चढाव पार गर्दै पार्टीले प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न गरेर एकपटक फेरि आशाको राजनीति जगाएको छ। विवेकशील साझाले चयन गरेको नयाँ कार्यसमिति सामयिक, समावेशी र सन्देशमूलक रहेको भन्दै सबै तिरबाट प्रशंसा बटुलिरहेको छ।

पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा, उपाध्यक्षमा प्रकाशचन्द्र परियार र मिलन पाण्डे तथा महासचिवमा रञ्जु दर्शना चयन भए। पार्टीको महत्वपूर्ण पदमा महिला आएसँगै सकारात्मक सन्देश गएको छ, वैकल्पिक राजनीतिको अब्बल अभ्यास भन्दै।

वैकल्पिक शक्ति

विवकेशील साझा पार्टीले आफूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गरिरहेको छ। २०७४ सालमा स्थापना हुनुभन्दा अगाडि दुईवटा दल थिए– विवेकशील अभियान र साझा पार्टी। विवेकशील अभियानको नेतृत्व उज्जवल थापाले गरेका थिए भने  साझा पार्टीको नेतृत्व रवीन्द्र मिश्रले गरेका थिए।

‘विवेकशील अभियान’ स्थानीय तहको निर्वाचनमा केही चर्चित अनुहारलाई उठाएर जनताको माझसम्म पुग्यो। विवेकशीलले रञ्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको मेयरमा उठायो भने साझा पार्टीले किशोर थापालाई मेयरको उम्मेदवार बनायो।

दुवै पार्टीका उम्मेदवारले जनताको सकारात्मक साथ पाएपनि जित हासिल गर्ने मत भने पाउन सकेनन्। दुवै दल एक हुने प्रक्रियाअनुसार ०७४ साउन ११ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भयो। दुवै पार्टी मिलेर विवेकशील साझा पार्टी बन्यो।

विकास, संवृदि, सुशासन, सामाजिक न्याय, स्वाभिमान र समावेशीतालाई हामीले केन्द्रमा राखेर राजनीति गरेका हौँ, हाम्रो निरन्तर खबरदारी र निरन्तर जनता जगाउने अभियान, आन्दोलन कार्यक्रमहरु जरुर अझ सशक्त भएर अघि बढ्छ। हामी सक्छौँ। हामी प्रभावकारी विकल्प हौँ। 

बीबीसी नेपाली सेवाको जागिरे जीपवन त्यागेर राजनीतिमा होमिएका मिश्र र वैकल्पिक शक्तिको रुपमा उदाउँदै गरेका थापाप्रति युवाको आकर्षण व्याप्त थियो।

उक्त पार्टीमा मुमाराम खनाल, सूर्यराज आचार्यसहितका प्रभावशाली नेताहरु पनि थिए। तर, पार्टी एकता दिगो हुन सकेन। ०७५ पुस २७ गते पार्टी विभाजन भयो। कोरोना संक्रमणका कारण उज्जवल थापाको निधनपछि ०७७ मंसिर २४ गते पुनः पार्टी एक भयो।

मिश्रको अपरिपक्कवताबाट वाक्क भएका खनाल र आचार्यले पार्टी नै छाडेर हिँडे। लगातारको टुटफुटबाट जनताको आकर्षण घटेपछि मिश्रले पनि आफ्नो एजेण्डा छोड्न थाले।

उनी वैकल्पिक शक्तिको एजेण्डाबाट ब्याक भएर संघीयता विरोधी र राजासहितको हिन्दु राष्ट्रको पक्षमा खुलेर लाग्न थाले। यसले पार्टीभित्र थप अन्तरविरोधहरू देखा परे।

मिश्रको अपरिपक्कता र पाण्डेको पार्टीप्रति संघर्षभन्दा बाहिर विषाक्त विरोध र समानान्तर गतिविधि हुन थालेपछि वैकल्पिक शक्ति ‘लड्खडायो’ अर्थात् मियो बिनाको दाइजस्तो भयो।

वैकल्पिक राजनीतिको बिउ उम्रिन नपाउँदै ‘निमोठेर’ मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लागे। तर, समीक्षा बाँस्कोटा र प्रकाशचन्द्र परियार जस्ता नेताहरुले पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लगि छाड्ने अठोटका साथ अगाडि बढाए। अहिले पार्टीले पहिलोपटक महाधिवेशन गरेर लड्खडाएको वैकल्पिक शक्तिलाई ‘जुरुक्कै’ उठाउने अभियानका साथ नेतृत्व लागिरहेको छ।

वैचारिक मतभिन्नता र सैद्धान्तिक मतमतान्तरका कारण पार्टी तहसनहस बन्यो। तर, पार्टीमा भएका गल्तीलाई आत्मआलोचना गर्दै नयाँ शीराबाट पार्टीलाई अगाडि बढाउने अठोट नयाँ नेतृत्वले लिएको छ।

वैकल्पिक राजनीतिको स्पेश बढी नै भएकाले मानिसहरुमा ऊर्जा र उत्साह छ। तर, मन दुखाउने काम र डेलिभरीमा भनेजस्तो भएन भने नेपाली जनताले फेरि दण्डित नै गर्नेसम्मको हैसियत भएकाले दूर दृष्टिका साथ राष्ट्रिय राजमार्गको नीति बनाउनुपर्ने चुनौती विवेकशील साझा पार्टीलाई छ।

‘विवेकशील साझा पार्टी नेपालको वैकल्पिक राजनीतिको नयाँ मूलधार हो। यसले जसरी सुसंस्कृत राजनीति सम्भव छ भनेर अभ्यास गर्दै मत परिवर्तनको अगुवाई गर्यो, मत क्रान्तिको पहिलो चरणसम्म उकाल्यो। मत क्रान्तिको पहिलो घेरा तोडेर संसदसम्म पुगे। तर, त्यो पहिलो चरण मात्रै हो,’ कार्यभार बाँकी नै छ, उपाध्यक्ष परियार भन्छन्।

आफूहरू कहिल्यै पनि हत्या हिंसाको राजनीतिबाट नआएकाले शान्तिपूर्ण अभियान र रचनात्मक आन्दोलनको जगबाट आएकाले जनताको मूल समस्या राजनीतिक रुपमा एजेण्डा बनाएर जाने विवेकशील साझाको योजना छ।

‘हामी जनताको पक्षमा काम गर्ने, सुशासन र भ्रष्टाचार विरुद्ध काम गर्ने अभियानमा छौं। सन्देशमूलक नेतृत्व चयन भएको छ। केही समय शिथिल थियौ होला अहिले त्यो चरण पार भएको छ, हामी जुरुक्कै उठ्यौं, अब हाँक्ने हो कुद्ने हो,’ उनी भन्छन्।  यसै विषयमा विवेकशील साझाका उपाध्यक्ष परियारलाई सोधिएका ६ प्रश्न :
तपाईंहरूको स्टण्ट कि लोकरिझ्याइँ?

देशमा अहिले अलिकति केही लोकरिझ्याइँ, स्टण्ट, नाटक, हल्लाखल्ला, कोही नायक आएर गरिदिन्छ भन्ने बिमार लागेको छ। त्यसलाई निरुपण गर्दै दल भनेको  हो। त्यहाँ सार्वजनिक संस्था हो, सामूहिक प्रयास हुन्छ, सामूहिक नेतृत्व हुन्छ।

नेतृत्व आफ्नो नीति, सिद्धान्त, मूल्य मान्यताको जगमा सांगठनिक रुपमा अगाडि बढ्छ। कार्यक्रम, आन्दोलन, अभियानका साथ अगाडि बढ्छ र जनतासँग जान्छ। हामी सोहीअनुसार अगाडि बढ्छौँ।

महिला नेतृत्व कि सक्षम नेतृत्व? 

विवेकशील साझा पार्टीले अध्यक्ष र महासचिवमा महिला नेतृत्व चयन गरेको छ। अध्यक्षमा बाँस्कोटा र महासचिवमा दर्शना आएका छन्। उनीहरुलाई पार्टीको संगठन र दायरा विस्तार गर्नुपर्ने चुनौती छ।

नेतृत्व मेरिटवेशको आएको छ। त्यसले सुनमा सुगन्ध दिएको छ। महिला, समावेशीता र क्षमतावान तिनै संगमको मालाको रुपमा नेतृत्व आएको छ। वैकल्पिक राजनीतिको मर्म र जग भएका दलहरु जो संग सहकार्य गर्न, ध्रुविकरण र एकीकरण सम्म जान सक्ने भएकाले त्यसलाई पनि सँगसँगै लान्छौँ।

वैकल्पिक शक्तिको रूपमा उदाउँदै गर्दा तपार्ईंहरूमा जुन ‘चार्म’ थियो। अहिले त ‘मरिच चाउरिए जस्तो चाउरिनु’ भयो नि!

हामीले निराश, निष्क्रिय भएका साथीहरुलाई राष्ट्रिय महाधिवेशनमा जोडेर संयुक्त रुपमा लगिसकेका छौँ। सिकाई कस्तो भयो भने हिजो हामीले नै त्रुटि गर्यौं। हामी नै आत्मआलोचित भयौं। यसको जगमा गजव सिकाइ भयो।

त्यसैको जगमा टेकेर शिक्षा मान्दै जनताका एजेण्डाका साथ अगाडि बढ्न, राष्ट्रिय रुपमा जनतामा सकारात्मक तरंग ल्याउन, एकाकार गर्न बाटो खोल्यौं। हामीलाई राष्ट्रिय राजनीति  र परम्परागत दलहरुको सिन्डीकेटको समस्या छ । हामीलाई काम गर्न सहज छैन्।

तर सात वर्षको अवधिमा जुन अनुभव, सिकाई र परिपक्वता तर्फ लम्किएका छौ त्यो सम्पति हो। त्यो अनुभवको जगमा राष्ट्रिय पहिचानको पार्टी वन्यो। सत्य यो हो कि वैकल्पिक राजनीतिको स्पेश धेरै छ।

च्याउ जसरी पार्टीहरू उम्रिरहेका छन्। वैकल्पिक शक्ति नै किन आवश्यकता पर्‍यो? 

परम्परागत दलहरुले लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउनुभएको छ। अफ्ठ्यारो समयमा काम गर्नुभयो। योगदान दिनुभयो। उहाँलाई सम्मान गर्दै  परम्परागत दलहरुको ढरा, शोच र शैलीबाट जनताको जीवनस्तर उठ्ने, समृद्धि, सुशासनको यात्रा अगाडि बढ्ने, सामाजिक न्याय, समानता र आत्मसम्मानको आन्दोलन अगाडि बढ्ने ठाउँ देखिएन।

राजकाज शासन, प्रशासनमा  हाली मुहाली गर्ने, राज्य दोहनमा अचाक्ली अगाडि भ्रष्टाचारमा सबैभन्दा अगाडि र जनताको जीवनमा विकास, समृद्धि र सुशासन देख्ने चाहनामा पटकपटक कुठाराघात गरेकाले त्यही पुस्ता र शैलीबाट नेपाली राजनीतिको रुपान्तरण सम्भव छैन।

त्यसका लागि युवा सोच, इमानदार र क्षमतावान नेताहरु भएको, देशको पाँचौं पुस्ताको पार्टी आवश्यक छ। त्यो पार्टी हामीले एक दशक अगाडिदेखि देख्यौं। र गएको पाँच सात वर्षमा अभ्यास गर्यौं। त्यस अवधिमा वैकल्पिक राजनीतिको स्पेश बढाउँदै लग्यौँ।

हामीलाई जनताले माया पनि गरे। ग्रिन सिग्नल दिए। यसको जगमा वैकल्पिक शक्तिहरू पनि उदाइरहेका छन्। यो शक्ति अझै बढेर जानेछन्। जनताले मत परिवर्तन गरिसके। मतक्रान्तिको पहिलो चरण पार गरिसके। परम्परागत दलहरुलाई प्रभावकारी खबरदारी गरेर चावुक हान्ने चरण सुरु भएको छ।

तर, तपाईंहरूलाई जनताले एकपटक विश्वास गरेर मत दिएका हुन्। तपाईंहरूले नै जनतालाई धोका दिएको होइन?

हामीले राष्ट्रिय रूपमा घात गरेका छौँ? भ्रष्टाचारी, बलात्कारी, अदालतमा सेटिङ, विद्यार्थीसंग शिक्षकलाई कालोमोसो दलेर राजनीति गर्नुपर्छ भनेका छौं? छैनौँ। हामीले जनताको करमा चल्ने निजामती कर्मचारीहरुको दलै पिच्छेको ट्रेड युनियन खोलेजस्तै हामीले पनि खोलेका छौँ र? तीनलाई रोक्नुपर्छ भनेका छौँ।

यसले दलाली बढेको छ। उद्यमशील समाज बनेन। मिडिया, नागरिक समाज र आम जनताले वैकल्पिक राजनीतिको जग खन्ने, फास्ट ट्र्याक खोल्ने विवेकशील साझा पार्टी हो भनेर सम्मान गरिरहेका छन। केही समय आन्तरिक र वैचारिक विमतिले पार्टीमा विभाजन आयो।

त्यसमा आत्मआलोचना गर्दै यही पार्टी नै मौलिक र अर्गानिक पार्टी हो भनेर जनताले हामीलाई नै अगाडि बढाउनुहुन्छ। किनकी हामीले घात, अपराध गरेका छैनौँ। हामीले सपना देखायौं, रचनात्मक खबरदारी गर्यौ। खाडीमा रहेका युवाहरुको रगत र पसिनासँग खेल्ने दलहरुविरुद्ध आवाज उठायौँ।

परम्परागत दलहरुप्रति धेरै प्रश्न गरिएको छ। तर, प्रश्नको जवाफ दिने हैसियतामा ती दलहरु छैनन्। त्यसैले वैकल्पिक राजनीतिको भाष्यलाई अझै अगाडि बढाएर विवेकशील साझा अगाडि बढ्न सक्छ। हामी राजकाज, शासन प्रशासन कसरी सञ्चालन गर्नुपर्छ त्यो उदाहरणीय बनेर देखाउँछौँ, जनताको जीवनस्तर बदल्दै।

उज्ज्वल थापाले हुर्काउँदै गरेको वैकल्पिक राजनीति विरुवा रवीन्द्र मिश्रले चुँडेर जानुभयो। त्यसलाई पुनः हुर्काउन सम्भव छ?

नीतिहरुको सर्वश्रेष्ठ नीति राजनीति हो। राजनीतिमा अति राजनीति र अति दलीयकरण, न्यायालय, संसद, विश्वविद्यालय, सरकारमा सेटिङ, विचौलियाहरुले दल, राजनीति कब्जा गरेका बेलामा इमान, जमान क्षमता भएकाहरुको सतप्रयास, नेपाल आमालाई केन्द्र मान्ने, नेपालवादलाई गौरव मान्ने, सुसंस्कृत राजनीति, समतामूलक समृद्धिलाई आत्मसात गर्ने, कल्याणकारी गणतन्त्रलाई सिद्धान्त मान्ने, विधि पद्धतिमा चलेर स्वेदशमा रोजगार, कलकारखाना स्थापना गरेर स्वावलम्बी बन्ने देशको रुपान्तरण गर्न युवाहरुलाई वातावरण दिनुपर्छ भन्ने जगको पार्टी हो।

भ्रष्टाचारलाई निवारण गरेर उक्त रकम उद्योग कलकारखानामा लगानी गरेर नेपालीको जीवनस्तर उकास्न र आर्थिक विकासको नेतृत्व पाँचौँ पुस्ताले गर्न सक्छ। त्यो पाँचौँ पुस्ताको नेतृत्व विवेकशील साझाले गर्छ। त्यो सन्देश दिन पनि हामीले कार्यक्रम, अभियान, आन्दोलन गर्नुपर्छ, जनतालाई आशा र विश्वास दिलाउनुपर्छ।

हामीहरू वैचारिक रूपले टुटफुटमा केही समय रुमल्लिए पनि देशको घात गर्नेहरुको चंगुलमा वसेर कदापी राजनीति गर्दैनौ भन्ने विश्वास दिलाउछौँ। भूराजनीति बुझेका छाैं, गरिबी र विभेदको दुष्चक्र बुझेका छौँ, समाधान गर्न ल्याकत राख्छौँ।

सुनमा सुगन्ध हुने महिला, समावेशीता र क्षमतावान नेतृत्व छ। वैचारिक रुपमा स्खलित हुँदै रवीन्द्रजीले पार्टी नै बुझाउने सम्मको दुष्प्रयास गरे पनि हामीले पार्टी बचाएर, बाहिरिएका साथीहरुलाई फर्काएर राष्ट्रिय महाधिवेशन गरेका छौं। हामीले मुल्य मान्यताको राजनीति गरेका हौ, युवामुखी, सम्भावनामुखी, समाधानमुखी, भविष्यमुखी राजनीति गरेका हौँ।

समावेशितको प्रवर्द्धन, उत्कृष्टताको संवर्द्धन गदै पब्लिक सर्भिस डेलिभरी केन्द्रीत राजनीति गरेका हौँ। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारलाई राज्यको दायित्व हुनुपर्छ भनेर राजनीति गरेका हौँ।

विकास, संवृद्धि, सुशासन, सामाजिक न्याय, स्वाभिमान र समावेशीतालाई हामीले केन्द्रमा राखेर राजनीति गरेका हौँ, हाम्रो निरन्तर खबरदारी र निरन्तर जनता जगाउने अभियान, आन्दोलन कार्यक्रमहरु जरुर अझ सशक्त भएर अघि बढ्छ। हामी सक्छौँ। हामी प्रभावकारी विकल्प हौँ।

Source: Thahakhabar

Leave a comment

This website uses cookies to improve your web experience.