
स्वास्थ्यकर्मीलाई छरछिमेकबाट दुर्व्यवहार हुनु आपराधिक
काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै स्थानीयले गरेको प्रदर्शनलाई साझा पार्टीले विरोध गरेको छ। आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझा पार्टीको ठहर छ।
‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो।’आइतबार सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ। त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो।’
पाठकले विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन्। उनले सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुने उल्लेख गरेका छन्।
स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ।