
स्वास्थ्यकर्मीलाई छरछिमेकबाट दुर्व्यवहार हुनु आपराधिक व्यवहार हो : साझा पार्टी
काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै स्थानीयले गरेको प्रदर्शनलाई साझा पार्टीले विरोध गरेको छ। आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझा पार्टीको ठहर छ।
‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो।’आइतबार सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ। त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो।’
पाठकले विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन्। उनले सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुने उल्लेख गरेका छन्।
स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील गर्दछ।’
शनिबार मिनभवनस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी बस्ने बानेश्वर, मिलनचोकका होस्टल सञ्चालमाथि दुर्व्यवहार गर्दै स्थानीयले त्यहाँ चिकित्सक र नर्स नराख्न चेतावनीसमेत दिएका थिए। केही समय यता सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रोहित रानाले संचालन गरेको लर्ड बुद्ध बोइज एण्ड गर्ल्स होस्टलका बस्दै आएका छन्।
यो संकटको समयमा ‘फ्रन्ट लाइन’मा खट्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु आम सर्वसाधारणको कर्तव्य हो। तर, काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै स्थानीयले छुद्र व्यवहार प्रदर्शन गरेका छन्।
स्वास्थ्यकर्मीको मेहनतका कारण नेपालमा कोरोना संक्रमण र मृत्युदर अन्य मुलुकको तुलनामा न्यून देखिएको छ। अन्य मुलुकमा स्वास्थ्यकर्मीको सम्मान भइरहँदा नेपालमा भने शृंखलाबद्ध रूपमा दुर्व्यवहारका घटना देखिन थालेको छ।